9 Baishak, 2075 | 22 April, 2018 Sunday

तीताेपाटी डट कम – मधुवन पौडेल गाडीबाट ढोकासम्म छिर्दा पनि गर्मीले जीउ धपक्कै बलेको अनुभव भइरहेको थियो । कोठा पस्नुअघि बाहिर वेटिङ लाउन्जमा दुईतिर फर्केर बसेको एउटी बच्चीसहितको जोडी मलाई कुरिरहेको देख्छु । “के काम छ भाइ ? पासपोर्ट र केही कागजपत्र प्रमाणीकरण गर्ने हो ? कृपया रिसेप्सनतिर जानूस् ।”

हरेक दिन दुई–चार जना जानेर/नजानेर वा चिसो ठाउँमा पल्टने नियतले मेरो कोठाबाहिर राखेको सोफामा आएर बसेका हुन्छन् । मेरो सेक्रेटरी निकै लापरवाह छ, मैले नभनुन्जेल ऊ त्यहाँबाट कसैलाई ‘रिसेप्सनको काउन्टरमा जाऊ’ पनि भन्ने गर्दैन । वास्तवमा अफिस डिजाइन गर्दा मैले त्यो लाउन्ज भिसा लिन आउने विदेशी र मलाई भेट्ने गरी आउने आगन्तुकको निमित्त मात्र भनेर नै बनाएको थिएँ ।

तर, दुई–चार महिनामा नै त्यो ठाउँमा जोसुकै आएर बस्ने गरेकाले मैले आफ्नो प्राइभेसी खलबलिएको अनुभव गरिरहेको छु । “सर ! हामी सरलाई नै भेट्न कुरेको ?” मैले पुलुक्क हेरेँ, त्यहाँ कुरिरहेकी महिला मेरो प्रश्नको जवाफ दिँदै थिई । “किन ? मलाई भेट्नुपर्ने के काम पर्‍यो ?” मलाई आजै सरकारी कार्यालयमा एक उच्च अधिकारीलाई भेट्न जानुपर्ने थियो । त्यहाँ छलफल गर्नुपर्ने कुराको टिपोर्ट अनि चिट्ठी तयार गर्ने र त्यसलाई अनुवाद गराउनुपर्ने हुँदा म नियमित समयभन्दा केही चाँडो अफिस पुगेको थिएँ । मलाई दिक्क पनि लाग्छ– धेरैजसो यस्ता मानिस मलाई हतार परेको दिनमा नै किन टप्किन्छन् ? तर, एकछिनपछि फेरि सोच्न थाल्छु– विचरा/विचरी कहाँ जाऊन् त ?”

“लौ, भित्र आउनूस् त ।” उनीहरू भित्र पसेर बसुन्जेल मैले कोट फुकालेर झुन्ड्याउँछु र कम्प्युटर खोलिसकेको छु । “भन्नूस्, के भो ?” “सर हामी सम्बन्धविच्छेद गर्न भनेर आ’को ? के गर्नुपर्ने हो थाहा छैन, बाहिर काउन्टरमा बस्ने दाइले यता पठाएकाले आको ।” यसपल्ट लोग्ने मानिस बोल्दै थियो । म झसंग भएर उनीहरू दुवैलाई हेर्छु । अनि, अन्दाजी दुई वर्षकी काखकी बच्चीलाई नियाल्छु । दुवै जना मलाई क्वार क्वार्ती हेरिरहेका थिए । “पहिले भन्नूस् ल ! के के भो त्यसै हुन्छ सम्बन्धविच्छेद ? केटाकेटी खेलेको हो र ?” मलाई रिसले पैताला तातेको जस्तो अनुभव भइरहेको थियो ।

लोग्ने मानिसले भन्दै गयो, “सर ! मेरो नाम दीपक हो । यहाँ आएको पाँच वर्ष भयो । एउटा ठूलो तारे होटलमा कुकको काम गर्छु । आएको दुई वर्षपछि दुई महिनाको छुट्टीमा जाँदा उसलाई बिहे गरेर यतै काम खोजी ल्याएको थिएँ । आएको एक वर्षपछि जन्मेकी छोरी त्यही हो– दुई वर्ष पुग्न लागी । तर, काखकी छोरी भएर पनि ऊ मसँग बस्दिन भन्छे । सबै साथीभाइ भन्छन्, ऊ अर्कै एउटा अरबीसँग सल्केकी छे रे ! ऊ आफैँ पनि मसँग बस्न चाहन्न । त्यसैले हामी सल्लाह गरेरै आएका ।”

म लोग्ने मानिस अर्थात् दीपकको कुरा सुनिसकेपछि महिलातिर हेर्छु । केही भड्किलो पहिरन, गहुँगोरी, अरबी अत्तरको सुवास निकै कडा भएको त मैले पहिले नै अनुभव गरिसकेको थिएँ । लुगाबाहिर स्थानीय स्वास्नी मानिसले झैँ कालो पहिरनले सर्वाङ्ग ढाकेर हिँड्ने भएकाले मैले उसको वास्तविक पहिरनलाई त्यत्ति भड्किलो ठान्नुपर्ने त थिएन । तैपनि, स्थानीय परिवेश सम्झँदा एक छोरीकी आमा र त्यो पनि काखमै राखेर बस्दा पनि निकै छोटो लाग्ने स्कर्ट लगाएकीले मेरो मनमा कताकता झगडाको बीउ ऊ नै हो भन्ने लाग्यो ।

“सर ! मेरो कुरा पनि सुन्नूस् † नेपालमा म दिदीको घरमा बसेर पढ्दै थिएँ । मलाई बिहे गर्ने विचार पनि थिएन । तैपनि, दीपकका तडकभडक, मीठा कुरा र अरब जाने लालसाले बिहे गर्न राजी भएकी थिएँ ।

गाउँमा लामो समय बस्न सक्ने स्थिति पनि थिएन, धेरै साथीहरू राजनीति गर्ने सुरले जंगल पसिसकेकाले म सदरमुकाम आएकी थिएँ । तर, अहिले पछुताउँदै छु– यहाँ आएदेखि नै यो मान्छेले मसँग झगडाबाहेक केही गरेको छैन । सुत्ने बेलामा लोलोपोतो र ऊ निदाएपछिको सुनसान रातबाहेक जुनबेला पनि यत्तिकै छ । मेरो रिसले कहिले बालख छोरी पिट्छ, कहिले दुवै जनालाई मार्छु र आफू पनि मर्छु भन्छ । यस्तो भएपछि कसरी सँगै बस्ने ? उसलाई सधैँ मेरो नोकरीकै डाहा छ ?”

‘तँ राम्री भएकीले तँलाई अरबीले धेरै पैसा दिएको त हो नि ! दिनको कतिपल्ट सुत्छेस् ऊसँग ?’ भनेर घर पस्नासाथ रडाको सुरु गर्छ । अनि, निस्केर कताकता क्याम्प पुगेर सस्तो रक्सी धोकेर आउँछ । अमेरिका पुगेका एकाध जोडीका मात्र यस्ता कुरा सुनेको थिएँ मैले, आज पहिलोपल्ट खाडीको संकीर्ण समाजमा पनि देख्दै र सुन्दै थिएँ !

एकछिन आरोप र प्रत्यारोप अनि भलाकुसारीपछि मात्र थाहा भयो, उनीहरूको प्रमेविवाह नै भएको रहेछ । “सर ! हामी छुट्टियौँ भने मात्र यिनलाई चेत आउँछ, नत्र त सधैँ यस्तै हो । त्यसैले पनि म छुट्टिन लागेकी हुँ !” “होइन ब्यारे ! आफ्नो मनपरी गर्न यसलाई पारपाचुके चाहिएको ! तेल्ले के भनेर हेर्छ सधैँ, खोक्रो पारेर गलहत्याइदिएपछि मात्र थाहा पाउँछे यसले !” लोग्ने च्याँठ्ठिदै थियो । “अहिले पनि तिम्ले गलहत्याएजस्तै छु नि म !”

दीपक र कविताको बाझाबाझले भरिएको चर्को संवाद रोक्न मैले कानुनी रूपमा सत्य कुरा स्पष्ट पार्नैपर्ने हुन्छ । “दूतावासले विवाह दर्ता, पारपाचुकेजस्ता काम गर्न सक्दैन भन्ने थाहा छैन ? गर्नैपर्ने भए नेपाल जाओ, नत्र मिलेर बस । मलाई जरुरी काममा लाग्नुपर्ने छ, आज गए हुन्छ तिमेरु !”

मलाई काममा साँच्चै हतार भइसकेको थियो । मैले फाइलका चाङ निकालिसक्दा उनीहरू मेरो ढोकाबाहिर निस्किरहेको देखेँ । यस्तो अप्ठ्यारो काम लिएर दुई–चार जना आएर नकराएको, वादविवाद नगरेको र मेरो गोरुको बाहै्र टक्का भन्दै बाझ्ने भाषामा हल्ला गर्नेको जमात नआएको दिन नै हुन्न । त्यसपछि म दीपक र कविताका कुरा बिर्संदै आफ्नो दैनिकी हेर्दै कामतिर लाग्छु । यत्तिकैमा मेरा एकाग्रतालाई मिश्री सेक्रेटरीले भंग गरिदिन्छ ।

“१२ बजे पुगिसक्नुपर्छ ! त्यहाँ अंग्रेजी जान्ने छैनन् रे ! म पनि साथमा जानुपर्ने हुन्छ ।” म उसलाई एकपल्ट हेर्छु र मुन्टो हल्लाउँदै पुन: आफ्नै काममा लाग्छु । मलाई सबैकुरा ऊसँग बाँड्न मन लाग्दैन, न त स्वेच्छाले उसलाई कतै भेटघाटमा लैजानै चाहन्छु । तर, भाषाको कारण लग्नुपर्ने बाध्यता पनि छ । भाषा सिक्न जान पनि मन लाग्दैन ! सिकेर पनि गर्ने के ? फर्केर गएपछि मतलब हुन्न !

त्यसमा पनि यता बसुन्जेल यस्तै दीपक र कविता, अनि भागेर, छलिएर भगाइएर, पिटाइ खाएर छिर्ने देशवासीकै सेवा गर्ने हो, किन अरबी सिक्नुपर्‍यो ? भन्दै गर्ने आफूजस्तै दक्षिण एसियाली साथीको गुनासो सम्झन्छु । म निस्कन्छु । सहरबाहिर कार्यालय भएकाले सहरभित्र भएका सरकारी पदाधिकारीहरू भेट्न जाँदा–आउँदा ट्राफिक जामले आधा दिन यसै जान्छ ! आज सडक अलि बढ्तै व्यस्त थियो ।

‘ट्राफिक जाम नहुने बाटो लग न !’ चालकलाई सेक्रेटरी भन्दै थियो । तर, मेरो दिमागबाट दीपक र कविताको झल्झली अझै हटिसकेको थिएन । कवितालाई अर्कै संसारको मोह थियो भने दीपक ईष्र्या र हीन भावनाले ग्रस्त थियो । उनीहरूबीच एकअर्काप्रति माया त थियो तर यताको रुमानी संसारलाई उनीहरूले आफ्नो परिवेश अनुसार आत्मसात् गर्न सकेका थिएनन् ।

राम्रो जागिर भए पनि बस्नुपर्दाको पीडा सहनुपर्ने र अन्तै बहकिन सक्ने डरले उसले कवितालाई फकाइपुल्याई बिहे गरेको थियो तर आफ्नो संसार र यताको रंगीचंगी वातावरणबीच सामञ्जस्य ल्याएर बाँच्न जानेन उसले, न त आफू कुन संसारबाट आएकी र कस्तो जीवन पद्धतिमा हुर्केकी भन्ने कुरा मनमा राखेर आफ्नै वैवाहिक सम्बन्धलाई मधुर बनाउने कला सिक्न सकी कविताले ! त्यसैले छुट्टिनुबाहेक अर्को कुनै विकल्प देखेनन् उनीहरूले !

‘हामी पुग्नै आँट्यौँ ।’ सेक्रेटरी कराउँदै थियो मेरो ध्यान ऊतिर लैजान ! हुन पनि सहरको मध्यभागमा रहेका गगनचुम्बी भवनहरूको माझमा पुगिसकेको पत्तै भएनछ ! भेटघाटमा सामान्य शिष्टाचारको आदान–प्रदानसमेत केही वास्तविक, केही बनावटी, केही सत्य र तथ्य अनि केही अतिरञ्जित कुरा भन्दै र सुन्दै फेरि फर्किएँ म सदाझैँ, अर्को कुनै भेट वा केही कार्यक्रम थिएन सहरतिर !

उता आफ्नै भीड थियो, आफ्नै मान्छे थिए, पीडित, पीडक अनि विश्लेषक तर सबै आफूलाई समाजसेवी र बुद्धिजीवी भनाउन चाहने पनि थुप्रै हुन्थे । धेरै त मीठो सपना लिएर आएका विचरा–विचरीहरू नै हुने गर्थे † भित्र छिर्ने बेलामा रिसेप्सनमा उही विवाद, ‘म यता छु त उताको सरकारी कागज कहाँबाट ल्याऊँ ?’, ‘मेरो घरमा कोही छैन, कसले पठाउँछ,’ ‘तपाईंहरू खोचे थाप्न बसेको कि मद्दत गर्न ?’

टड्कारो सुनिन्थ्यो । त्यस्तो विवादको प्रत्युत्तरमा, ‘हाम्लाई झ्यालखाना हाल्ने ? केही आधार नभई कसरी कागज बनाउने ? हाम्लाई अख्तियारले बाँधेर लैजान्न ? कमसेकम उताको जवाफ त कुर्नूस्’ भन्दै कर्मचारी चिच्याइरहेका हुन्थे । कसैको पासपोर्ट नआइपुगेर भिसा नै रद्द हुने अवस्था त, कसैलाई कम्पनी फेर्नका लागि कम्पनीको मालिकलाई भनसुन गरिदिनुपर्ने अनि कसैलाई एजेन्टले ठगेको, बेग्लै काम लगाइदिएको आदि, इत्यादि । ‘आज… देशको राष्ट्रिय दिवस छ नि !’ मेरो पछाडि आइरहेको सेक्रेटरी सम्झाउँदै थियो ।

हामी फर्किसकेका थियौँ, सहकर्मीहरू पछिपछि थिए । ‘आज त फोन नगरी नहुने भो, उताबाट केही जवाफ आएन, नेपालीहरू कराएर उत्पात छ ! डेलिगेसन आउने रे, भेटघाट मिलाउनुपर्ने पनि छ !’

उनीहरूको आफ्नो रट थियो । दैनिकी ! उनीहरूलाई पनि जवाफ आउँदैन भन्ने थाहा नभएको होइन तर तुरुन्त निर्णय लिनुपर्ने भएपछि पुच्छर ननिमोठी पनि भएन नि ! लिफ्टबाट बाहिर के निस्केको थिएँ, बिहानै आएका दीपक र कविताका दम्पती बाहिरपट्टि आराम गरिरहेका थिए । “अझै यतै ? नेपाल एकपल्ट गएर आउनूस् न !” ‘हैन सर ! अर्को पनि उपाय छ ! मिलापत्र बनाएर उही गराएर राखे हुन्न दुवैलाई ?’ कुनै तेस्रो व्यक्तिको आवाज थियो । स्वनामधन्य समाजसेवी थिए उनी ! तर पनि दीपक र कविता जोडीको जस्तो समस्यामा अवाञ्छित परामर्श दिन उनी दूतावासमा झुल्किहाल्ने गर्थे । ‘ए ! तपाईं पनि ?’

अनि, एउटा कुटिल हाँसो ! तेस्रो व्यक्तिले नगरेको खराब काम केही थिएन, तैपनि यहाँसम्म आउने हिम्मत छ उसमा ! देशमा आएको परिवर्तनको एउटा उदाहरण हो ऊ ! उसलाई जवाफ दिनु आवश्यक थिएन, ऊ पनि जवाफ पर्खेर बस्ने मान्छे होइन !

केही त भन्नैपर्ने थियो । “दीपक ! कविता ! नेपाल जानुको अर्को विकल्प छैन, मेरो अन्तिम सल्लाह र निर्णय पनि ।” यति भनेर आफ्ना सहयोगीहरूसँगै म भित्र पस्छु ।वास्तवमा अर्को विकल्प थिएन पनि !