9 Baishak, 2075 | 22 April, 2018 Sunday
आलोपालो सुत्छन् कैदी
2018-03-15 | तीताेपाटी डट कम

तीताेपाटी डट कम — जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका नन्दलाल बराही मंगलबार राति कुरुवा थिए । उनी कुरुवा भएकाले सुत्न पाएनन् नै तर, उनीसँगै थप दुई दर्जन बढी कैदीबन्दीसमेत राति सुत्न पाएनन् ।

राति सुत्न नपाएका उनीहरूले बुधबार दिउँसोमात्र सुतेर निद्रा पुर्‍याए । उनीहरूमात्र होइन, क्षमताभन्दा बढी कैदीबन्दी भएपछि जिल्ला कारागारका कैदीबन्दीहरूले राति पालो मिलाएर सुत्नुपर्ने बाध्यता भएको छ । राति सुत्ने ठाउँ नपाएका कैदीबन्दीहरू टीभी हेर्दै जाग्राम बस्छन् र भोलिपल्ट दिउँसो सुत्ने गरेका छन् ।


कैदी डम्बर चलाउनेका अनुसार बन्दीको संख्या धेरै भएपछि दिउँसो र रातिको पालो मिलाएर सुत्न बाध्य भएको बताए । कैदीबन्दीहरूले रातिको १ बजेसम्म एउटा समूहको र त्यसपछि अर्को समूहको सुत्ने पालो लगाउने गरेका छन् । ४ पुरुष र २ महिला कोठा भएको जिल्ला कारागारमा कैदीबन्दीको क्षमता २५ जनाको हो । तर अहिले कारागारमा १ सय २ जना कैदीबन्दी छन् । त्यसमध्ये ८६ पुरुष र १४ महिला छन् ।


एउटा कोठामा ८/१० जनाले पालो कुर्ने गरेको कैदी राजु खत्रीले बताए । उनका अनुसार रातिको समयमा टीभी हेरेर बिताउने गरिएको छ । ‘दिउँसो सुत्न त पाइन्छ तर, राति सुते जस्तो हुँदैन । सकभर पालो कुर्न नपरोस् भनेर भुइँमा पनि सुत्ने गर्छौं,’ उनले भने, ‘भुइँमा सुत्नेको लाइन ढोकैसम्म हुन्छ । त्यसरी पनि सुत्ने ठाउँ नपुगे पालो कुर्ने हो ।’ कैदी विनय चलाउनेले राति राम्रोसँग निद्रा नपुग्ने भएकाले दिउँसो पनि सुत्नुपर्ने समस्या भएको बताए । कोठाको अभावमा ठेलमेल गरी ढोकैसम्म लाइन लागेर सुत्नुपर्दा विभिन्न समस्या हुने गरेको उनको भनाइ छ ।


बाग्चौर १० दुबेरीचौर घर भई सवारी ज्यान मुद्दामा सजाय भोग्दै आएका हरि अधिकारीले ६ जना अटाउने खाटमा कोचाकोच गरी ८ जनासम्म सुत्नुपरेको बताए । उनले कारागार व्यवस्थापनको कमजोरीका कारण अन्य समस्या भए पनि लामो समयदेखि हल नभएको बताए ।


‘जेलभित्र तीनवटा मात्र शौचालय भएकाले शौच गर्नसमेत समस्या छ,’ उनले भने । २० जनाको समूह बनाई राति एक बजेसम्म एउटा र १ देखि ५ बजेसम्म अर्को समूहलाई सुत्ने व्यवस्था मिलाइएको जेलर विक्रम केसीले बताए । २५ क्षमताको जेलको ६ कोठामध्ये भुइँ खाटमा १६ जनामात्र सुत्न मिल्ने अवस्था छ ।

- कान्तिपुर