4 Magh, 2074 | 18 January, 2018 Thursday

तीतोपाटी डट कम - विवाहको बहानामा भारत लैजान लागिएकी एक युवतीलाई प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट उद्धार गरेको छ । प्रहरीले ति युवतीलाई भारत लैजान लागेकी विचौलियालाई पनि प्रक्राउ गरेको छ ।

मानव बेचबिखन तथा लैगिंक हिंसा अन्त्यका लागी क्रियाशिल रुपमा लागेको संस्था केआई नेपालको सहयोगमा नेपाल प्रहरी कृष्णनगरले म्याग्दीकी ति युवतीको उद्धार गरेको हो । उनलाई भारतमा रहेको आफ्नो धर्म दाईसँग विवाह गरिदिने भन्दै भारत लैजान खोज्ने बाणगंगा-२ बनगाई बस्ने पार्बती भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

भट्टराईले केहि महिना अगाडी मात्र चिनजान गरेकी सामान्य लेखपढ भएकी ति युवतीलाई महेन्द्रनगर घर भएका हाल पञ्जाब बस्दै आएका एक धर्मको दाईसँग विवाह गराईदिने भनि प्रलोभनमा पारी सिमा कटाउन लागेको बताइएको छ । सिपा पार गर्न लागेको अवस्थामा उनीहरुलाई सोधपुछ गर्दा दाई भारतमा रहेको र भाउजुलाई भेट गराउन लान लागेको बताएका थिए । भारतबाट धर्म दाई भन्नेले पटक पटक फोन गरि कहाँ आईपुग्यौ भनि रहनु र पिडित चेलीको परिवारलाई कुनै पनि जानकारि नभएपछि उनीहरुलाई शंकाको घेरामा राखि अनुसन्धान गरिएको ईलाका प्रहरी कार्यलयका प्रमुख शुभास गैरेले जानकारी दिए ।

गैरेका अनुसार धर्मको दाई भन्ने दाईको नाम नै खुलाउन नचाहने र लैजाने प्रकृया गलत र विभिन्न बहाना बनाएको कारण उनीहरुलाई पक्राउ गरिएको हो । यस घटनामा अरु पनि संलग्न हुन सक्ने भन्दै त्यसको खोजी कार्य जारी राख्ने गैरेले बताए ।

अभिभावकलाई जानकारी दिए पश्चात आफूहरुलाई कुनै जानकारी नभएको बताउँदै उनलाई रोकिदिन आग्रह गरेकोले युवतीलाई केआई नेपालको संरक्षणमा राखिएको बताइएको छ । अभिभावकको स्वीकृती भए आत्मा निर्भर गराउने उद्देश्यले सुरक्षित आवास गृह चितवन पठाउने केआई नेपाल कपिलबस्तुका जिल्ला संयोजक केशर बिश्वकर्माले जानकारी दिए ।
शाभार दैनिक नेपाल