9 Mangshir, 2074 | 25 November, 2017 Saturday
घाइतेको हेलिकप्टर मार्फत उद्धार, बीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार हुँदै
तीतोपाटी डट कम - रामेछापको लिखु गाउँपालिका ६ स्थित छत्याउने खोलामा आएको भीषण बाढी पहिरोमा परी २ जनाको मुत्यु भएको भएको छ । ४ जना वेपत्ता भएका छन् भने ९ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन् ।  

शनिवार मध्यरातिदेखि लगातार परेको अविरल वर्षाका कारण आइतबार विहान करिव २ बजेतिर आएको बाढी पहिरो बस्तीमा पस्दा ४५ वर्षीय बाशुदेव कार्की र ७५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिनुभयो । खत्रीको शव घटना स्थलबाट करिव ३ किलोमिटर तल तामाकोसी किनारा हलेदीमा भेटिएको हो भने कार्कीको शव घटनास्थल नजिकै भेटिएको हो ।

प्रजिअ खत्रीका अनुसार अझै तीन जना वेपत्ता छन् । उहाँले ४० बर्षीयका अशोक तामाङ, उनकी ११ वर्षीया छोरी मनिला तामाङ, र ५५ वर्षकी सुमनकुमारी खत्री बेपत्ता रहेको बताउनुभयो । वेपत्ता हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रजिअ खत्रीले भन्नुभयो, ‘रातको समय भएकाले कतिजना वेपत्ता भए भन्ने एकिन हुन सकेको छैन् । धेरै मान्छेहरु सम्पर्क बाहिर छन् । बाढीले क्षति पुर्याएकै स्थानमा सडक निर्माणका लागि ११ जनाभन्दा बढी मजदुरहरु खोला किनारामा टहरा बनाएर बसेका थिए । उनीहरुको अवस्थाबारे केही जानकारी नआएको स्थानीयले बताएका छन् ।'  

नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, प्रशासन, स्थानीयको सक्रियातमा उद्धार तथा वेपत्ताहरुको खोजी कार्य जारी छ । बााढीले बगाएका ९ जनाको भने जीवित्तै उद्धार गरिएको थियो । उद्धार गरिएकाहरु सबै घाइते छन् । घाईते हुनेमा सुन्तली खत्री, कुमार खत्री, भगवती खत्री, राधा खत्री, बालिका प्रमिशा खत्री लगायत घाइते भएका छन् । सुन्तली खत्रीको अवस्था गम्भीर रहेको परिवारले जनाएको छ । उनलाई जमिनमूनीबाट खनेर निकालिएको थियो ।

मृत्यु हुने, वेपत्ता हुने र घाइते हुने प्राय एकै घरका परिवारका रहेको स्थानीयले बताएका छन् । ‘गम्भीर घाइले शुन्तली खत्री लगायतलाई ९ जना घाइतेलाई नेपाली सेनाको हेलीकप्टर मार्फत उद्धार गरी थप उपचारका लागि काठमाण्डौं लगिएको छ । उनीहरुलाई दुई वटा नेपाली सेनाको हेलीकप्टेर मार्फत उद्धार गरिएको र अहिले वीर अस्पताल स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको प्रशासनले जनाएको छ ।

बाढीले ६ घर र दुई वटा टहरा बाढीले बगाएको छ । ति घर तथा टहराहरुमा कति मान्छे थिए भन्ने एकिन भएको छैन् । बाढीका कारण खिम्ती बजार स्थित खहरे पुलबाट बस्तितर्फ बाढी पस्दा पुरै बस्ती जोखिममा छ ।  
लगातारको भारी वर्षाका कारण शनिवार मध्यरातदेखि खिम्ती, छत्याउने, खानीखोलामा ठुलो बाढी आएको थियो । ‘बाढीले आइतबार करिव २/३ बजेतिर बस्ती बगाएपनि उद्धारमा कठिनाई हुँदा ठूलो क्षति व्यहोर्नुपरेको स्थानीयको भनाई छ । छत्याउनेमा आएको बाढीले मन्थली-खिम्ती-फर्पु सडकको पक्की पुल बगाएको छ । यस्तै खानीखोलामा आएको बाढीले कज्वे बगाउँदा मन्थली- दोलखा सडक पनि अवरुद्ध भएको छ,' प्रजिअ खत्रीले भन्नुभयो ।

पुलमा  क्षति भएपछि रामेछाप उत्तरका प्राय भेगहरुमा सडक अबरुद्ध भएका छन् । पुल र कज्वेमा क्षेतीपुगेपछि दोलखाको चरीकोट, जिरी तथा रामेछापको फर्पु नमाडी बेताली सोलुखुम्बु र ओखलढुङ्गा लगायतमा पहाडी क्षेत्रबाट मन्थली हुँदै सिन्धुलीको विपी राजमार्गबाट तराई र राजधानी आवत जावत गर्ने हजारौं सवारी साधनहरु अलपत्र परेका छन् ।  

लिखु गाउँपालिका ६ खिम्तीका वडाध्यक्ष शिव न्यौपानेका अनुसार खिम्ती बजार रामेछाप, ओखलढुङ्गा र दोलखाकोलागि महत्वपूर्ण बजार हो । यो पुरानो बजार भएका कारण प्राय व्यापार ब्यावसाय गरेर खोला किनारमा बस्ति बसालेर बस्दै आएका छन् । ‘तर, आज चार वर्ष अघिको खिम्ती खोलाको विनास बिर्षन नपाउँदै अर्को ठुलो क्षति भएको छ । स्थानीयले ठुलो विपत्ती बेहोर्नु परेको छ,'न्यौपानेले भन्नु भयो ।

चार वर्ष अघि खिम्ती नदीमा आएको बाढी पस्दा ८ जनाको ज्यान जानुका साथै दर्जनौै घरहरु बगाएको थियो ।
- अन्नपुर्णपोष्ट