9 Mangshir, 2074 | 25 November, 2017 Saturday
तीतोपाटी डट कम - तीन सातादेखि हराइरहेकी इलाम नगरपालिका–१२ साङरुम्बाकी एक महिलाको कङ्काल बिहीबार फेला परेको छ ।

चुनावी प्रचारका लागि घरबाट गत असार ७ गते हिँडेकी ३९ वर्षीया देवीमाया फागोको कङ्काल फेला परेको हो । इलाम नगरपालिका–१२ दोकान टोलका धनबहादुर बोहराको अम्लिसो बारीमा रूखमा झुन्डिएको अवस्थामा उनको कङ्काल फेला परेको प्रहरीले जनाएको छ । मृतकको खोजीका लागि बाबु लाखबहादुर फागोले असार १० गते जिल्ला प्रहरी कार्यालय इलाममा निवेदन दिएका थिए ।

घाँस काट्न जानेले कङ्काल भेटेपछि इलाका प्रहरी कार्यालय मङ्गलबारेमा खबर गरेको प्रहरी निरीक्षक अम्बरबहादुर निरौलाले बताउनुभयो । मृतकले लगाएको कपडा र चप्पलबाट उनको पहिचान भएको समेत प्रनि निरौलाले बताउनुभयो ।

उनको हत्या भएको हो या आत्महत्या भएको हो भन्ने बिषयमा छानबिन भइरहेको प्रहरी निरीक्षक निरौलाले बताउनुभयो । कङ्काललाई डिएनए परीक्षणका लागि जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइएको छ । रासस