9 Ashwin, 2074 | 25 September, 2017 Monday
तोयानाथ उपेक्षित, कम्युनिष्टको नामका पछि लागेका नेपाली मतदाताको संख्या र समर्थनको उर्वरतालाई हेर्ने हो भने नेपाल दशकौ पहिले नै कम्युनिष्ट सत्ता भएको देश भईसक्ने थियो । आज जसरी संसदिय सत्ता भित्र समाजबाद वा साम्यवादको नचाहिदो विन बजाएर जनता झुक्याईरहनु पर्ने थिएन । फेरी पनि कम्युनिष्ट नाम र हसिया हतौडा यस्तो ट्रेडमार्क भएको छ, जनताले पछ्याईरहेका छन । उनीहरुले आफ्नो आस्था र विश्वास त्यो नाम र लोगोमा जताईरहेका छन । तर नेपालमा कोही कम्युनिष्ट होलान त ? त्यो एउटा बेग्लै बहसको विषय हुन सकिरहेको छैन ।

पार्टीको टिकट काटेपछि , झण्डा वा डण्डा बोकेपछि वा चन्दा दिएपछि यहाँ सहजै कम्युनिष्ट बन्न सकिने भोटको राजनीतिले यसका मूल्य मान्यता र आदर्श स्वाहा भईसकेका छन । नेपाली कम्युनिष्ट पार्टी स्वर्गिय नेता पुष्पलालको नेतृत्वमा १५ सेप्टेम्बर १९४९ मा कलकत्तामा जम्मिएर राणा विरोधी आन्दोलनसँग उदभव र विकास भए पनि पछिल्लो समयमा यसको आकार बढदै जादा एकत्रित रुपमा एक दशक पनि एकढिक्का बन्न सकेन । 

मनमोहन अधिकारीहरु र मदन भण्डारीहरु जोडिए पनि बामदेव र सिपीहरुले त्यसलाई एउटा उचाईमा पुग्नै लाग्दा फुटाई दिए । मोहनविक्रम र मोहनबैध पनि सगै बस्न सकेनन । अलिक पछि शक्ति र चर्चामा आएका प्रचण्ड र निर्मल लामा पनि फुटे । उपत्यकामा रहेका नारायणमानले पार्टीको नाम कम्युनिष्ट नै राखेनन, पश्चिमतिर राजमो लगायतले सानो झुण्डमा राजनिती गरिनै रहेका छन । तीनै साना साना कम्युनिष्ट शक्तिहरु पनि चिरा नै चिरा परेर राजनीति गर्ने गरेका छन । 

जनयुद्ध वा जनविद्रोह को नाममा प्रचण्ड र बाबुरामको नेतृत्वले अर्को पटक उचाई लियो । शान्ति प्रक्रियाको एउटा कोर्स सिद्धिनै लाग्दा त्यहाँ पनि विखण्डन शुरु भयो । प्रचण्डसँग छुटिटएका बैधले विप्लब माओवादी पैदा गरे । प्रचण्डसँग ३० बर्ष काम गरेका डा बाबुराम भट्टराईले नयाँशक्ति जन्माए । एमालेले एउटा देशैभरी तयार गरेको सांगठानिक ढाचा र कार्यकर्ताहरुको मजबुद संजाल एकातिर अर्कोतिर परम्परागत शक्तिको रुपमा लामो ईतिहास बोकेको कांग्रेस पार्टीको उपस्थिती तोड्न चिरैचिरा परेको माओवादीले सकेनन । टुटफुटको रोगले ग्रस्त माओवादीहरुको मुलधार नै अन्ततः तेश्रो शक्ति भयो । अरु कम्युनिष्ट पार्टी र कम्युनिष्ट पार्टीबाट चोईटिएर गएका नेता र नेतृत्व मुल शक्ति वा मुलधारका कम्युनिष्ट पार्टीलाई क्षयीकरण गर्ने करौती शक्तिका रुपमा मात्र अस्तित्वमा देखा परे । जसको कारण फेरी पनि यो मुलुकमा बामपन्थीहरु मुख्य शक्ति बनेर संघिय राज्यमा र केन्द्रीय शासनमा आउन गाहे छ । 

एमाले र माओवादी बीच सहकार्य पनि हुदैन, सहमति पनि हुदैन, बरु उनीहरु कसैले कांग्रेस कसैले राप्रपालाई सगोत्री मान्छन । एकले अर्कोलाई दक्षिणपन्थि वा यथास्थितीवादी वा अतिवादी भन्छन । जमेको शक्ति फुटेर माओवादी छिन्नभिन्न हुदा निराश र वितृष्ण बोकेका कार्यकर्ता कहिले कहि एकताको कुरा गरेर आत्मारती गर्ने गर्दछन । भविश्य विगारेर खाडीमा मजदुरी गर्न परेको समेत भुलेर उही धंगधंगीमा पाखुरा खैचिन्छन र सामाजिक संजालमा तत र मम गर्ने गर्दछन । आखिर फरक एमाले र माओवादी मा केही छैन । छ त उनीहरुको ईतिहास फरक छ । दुवैले संसदिय प्रणाली अंगिकार गरिसकेका छन । यी दुवैको राजनीति सत्ता शिवाय केही छैन । नेता र नेतृत्व सवै पार्टीमा खराब र असल हुन्छ त्यो एमाले वा माओवादी मा पनि छ । समग्रमा मिल्नै परे यीनले मिले हुने हो । अरु जति मिले पनि फेरी फुट्छन । पद र प्रतिष्ठामा राजनीति सिमित हुदै गएकाले फाईदा अरुले लिईरहेको छ । 

तर हुदैन कहिल्यै पनि कम्युनिष्टहरुको एकता । शव्दमा रोड्ई हुन्छ, साना तिना कुरा लाई विचार बनाईन्छ, दर्शनलाई मागि खाने भाडो बनाईन्छ । सिद्धान्तलाई गहुतको रुपमा प्रयोग गरिन्छ अनि कसरी हुन्छ एकता ? सुरा सुन्दरी र त्रिपुरा परलोकका कथा र व्यथामा सवै लिप्त र तृप्त छन । द्धण्दात्मक भौतिकबाद कहाँ गयो ? बर्गिय असमानताको लडाई कता हरायो ? साम्राज्यवाद र सामान्तवाद कसको नजरमा को हो ? अब केही छैन । मात्र सत्ता शिवाय । नेपालका कम्युनिष्टहरु स्वार्थ र भागबण्डाको राजनितीमा डुविसके यीनीहरु जुट्नेवाला छैनन । विभिन्न कालखण्डमा अरुको गोटी बन्ने काम सवैले गरेका छन, गर्दैछन र गरिरहन्छन अनि किन हुन्छ एकता ? कहिले र कसरी हुन्छ एकता ?