8 Bhadra, 2074 | 24 August, 2017 Thursday
तीतोपाटी डट कम - असार २६ गते राष्ट्रिय समाचार समिति राससको बुलेटिनमा ७९ नम्वरको समाचारको शीर्षक थियो, ‘पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको हत्या ।’ राससले समाचार राती आठ बजेर ५७ मिनेट जादा पोस्ट गरेको थियो । 

त्यसको अर्कोदिन अर्थात आज विहान करिव १० बजेतिर राससले अर्को समाचार पोष्ट गर्यो र शीषर्क थिया–श्रीमानद्वारा श्रीमतीको गला रेटी हत्या । १२ घण्टाको अन्तरमा आएका यी दुई समाचारका शीर्षक हाम्रो सामाजिक सोच र चेतनास्तर मापनका लागि पक्कै पनि सहयोगी घटना हुन् । 


स्थानीय तहको चुनावमा महिला प्रतिनीधित्वको कुरा गरेका छौँ र भएका पनि छन् । दलित प्रतिनीधित्वको विषय उठाएका छौँ र यो चुनाव मार्फत उनीहरुको सहभागीता सुनिश्चत गरेका छौँ । तर, रुकुम र बाँकेमा भएका दुई घटनाले हाम्रा सोच कहाँ छन ? एक पटक बहस गर्नुपर्ने ठाउँमा पुर्राएको छ । 


दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एक वडा सदस्यको रुकुममा हत्या भयो । पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं ७ जाङकी दलित महिला सदस्य २७ वर्षीया बयानसरी कामीको आफ्नै घरमा हत्या भएको प्रहरीले जनाएको छ । 


हत्याको आरोपमा प्रहरीले उनकै श्रीमान् ३८ वर्षीय तेजबहादुरलाई पक्राउ गरेको छ । बयानसरी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएर सो वडाको दलित महिला सदस्यमा विजयी भएकी थिइन् । बयानसरीले उम्मेदवारी दर्ता गरेदेखि नै श्रीमान् श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयवासीले जानकारी दिएका छन् । 
श्रीमतीको हत्या आरोपमा पक्राउ परेका तेजबहादुरले आफूले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिएका छन् । अनुसन्धानका लागि तेजबहादुरलाई जिल्लामा ल्याइँदै छ भने बयानसरीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्लेमा पु¥याएको छ । 


संवैधानिक रुपमा हामीले स्थानीय तहमा महिला प्रतिनीधित्वको सुनिश्चता गर्र्यौ । तर, रुकुममा बयानसरी कामीको ज्यान गयो, त्यो पनि श्रीमानबाटै । देशभर फुलमालासहित विजयउत्सव मनाईरहेका महिलाहरुका लागि बयानसरी कामीको हत्या सामन्य हुनु हुँदैन । यो एउटा घटना हो र सवैभन्दा डरलाग्दो प्रश्न चाहीँ सोचको हो । सोच परिवर्तनका लागि गरिनुपर्ने प्रयत्नको खाँचो हो । 


अर्को घटना छ, बाँकेको, जहाँ श्रीमानद्वारा श्रीमतीको गला रेटी हत्या भयो । एक श्रीमानले आफ्नै श्रीमतीको गला रेटी बीभत्स हत्या गरेका छन् । कोहलपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षीय मोहमद अस्ताव बेडुवाले आफ्नै २७ वर्षीया श्रीमती मन्सुरको गला रेटी टाउको छुट्टाएर हत्या गरी प्रहरीमा आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय बाँकेले जनाएको छ । 


सोमवार राती करिब १२ बजे श्रीमतीको हत्या गरी अभियुक्त बेडुवा श्रीमतीको टाउकोसहित इलाका प्रहरीमा गएका थिए ।  घटनास्थल पुग्दा मृतकको शरीर र पाँच÷छ महिनाकी छोरी भेटिइन् । छोरीको प्रहरीले तत्कालै उद्धार गर्यो । 


श्रीमतीको हत्या गर्ने अभियुक्तका दुईवटा श्रीमती रहेको प्रहरीले जनाएको छ । निजकी कान्छी श्रीमतीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 


मृतक जेठी श्रीमती रहेकी र उनका तीनवटा छोराछोरीसमेत रहेका छन् । श्रीमतीको हत्या गर्नेउपर कडा कारबाहीको माग गर्दै बेलपुरका स्थानीयबासीले गएराति इप्रका कोहलपुर घेराउ गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


यी दुई घटनाले फेरि प्रश्न उठाएको हो, हामीकहाँ महिला सुरक्षाको अबस्था के छ ? 
-रातोपाटी