9 Ashwin, 2074 | 25 September, 2017 Monday
मदन- यशोदाको प्रेम र व्यथा
2017-06-23 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - अहिलेजस्तो जताततै एफएम र टेलिभिजनको हावाहुरी थिएन। रेडियो नेपालबाट थोरै आवाज बज्थे। तिनको वजन गह्रुँगो हुन्थ्यो

४८ वर्षअघिको कुरा हो। यशोदा सुवेदी कुपण्डोलस्थित घरकै रेडियोमा एउटा गीत सुन्दै थिइन्–

‘म तिम्रो जन्मदिनमा हावा बनी याद बनी 
शुभकामना लिई आउनेछु 
केही छैन प्रिय के लिई आउँ 
खुसी भई लिनु है म जेसुकै ल्याउँ 
मलाई मायाको डोरीले बेरिदिनु 
एकपल्ट मलाई हेरिदिनु’

कुपण्डोलकै रैथाने, कट्टर ब्राह्मण अनि न्यायाधीश बाबुराम उपाध्याय सुवेदीको परिवारमा त्यो केवल रेडियोमा बजेको एउटा गीत थियो। जबकि, छोरी यशोदाको मनमा त्यही गीतले भुइँचालो ल्याइरहेको कसैलाईसुइँको थिएन।

‘मेरो जन्मदिनमा उहाँले लेख्नुभएको गीत थियो,’ यशोदा भन्छिन्, ‘अफिसमै सुनाउनुभएको लाइन रेडियोमा उहाँकै आवाजमा बजिरहेको थियो।’

यसो भन्नेबित्तिकै सोफामा सँगै बसेका ‘उहाँ’ अर्थात् मदनकृष्ण श्रेष्ठ मुसुक्क हाँसे।

मदनकृष्ण र यशोदाको भेट २०२६ सालमा भएको थियो। मदनकृष्णले सञ्चय कोषको जागिर सुरु गरेको तीन वर्ष भइसकेको थियो। उही कोठामा सँगै काम गर्ने गरी एक युवती आइन्। एक वर्ष अन्तरका उनीहरूकोधेरै कुरो मिल्थ्यो। महेन्द्ररत्न क्याम्पसमा आइकम पढ्थे मदनकृष्ण र रत्नराज्यमा आइए गरिरहेकी थिइन् यशोदा।

‘सञ्चय कोषमा दुई हात लामो ब्यालेन्स बुक हुन्थे,’ यशोदा सम्झन्छिन्, ‘हाम्रो काम दिनभरि गन्ती गर्ने र एकले अर्काको काम चेक गर्ने।’

छेउमा काम गर्ने मानिस रोचक भइदिए जस्तै कामले पनि दिक्क बनाउँदैन। यी दुईलाई त्यस्तै भयो।

‘फेरि उहाँको बानी कस्तो भने हिसाब गर्दा पनि बीच–बीचमा उट्पट्याङ कुरा निकालेर हँसाइरहने,’ उनले थपिन्, ‘मेरो मात्र के कुरा? अफिसका सबै उहाँ भनेपछि रमाउँथे।’

मदनकृष्ण पनि कम थिएनन्।

‘जीवनमा पहिलोपटक कुनै युवती मन परिरहेको थियो,’ उनी भन्छन्, ‘यिनलाई कसरी खुसी पार्ने होला भनेर म पनि अनेक उपाय निकालिरहन्थेँ।’
काम गर्न थालेको केही दिनमै यशोदालाई पत्रिकाहरू पढ्ने इच्छा छ भन्ने भेउ मिल्यो। ‘अब त के चाहियो?’ मदनकृष्ण भन्छन्, ‘म बजारबाट धर्मयुगदेखि फिल्मफेयरसम्म बोकेर लगिदिन्थेँ।’

कुरा यसरी अगाडि बढ्दै गयो, कुनै दिन एक जना आएको छैन भने अर्कोलाई छटपटी हुन्थ्यो। न्याश्रो लाग्थ्यो। एकअर्काको अनुहार सामुन्ने आएपछि बल्ल मनको छटपटीले विश्राम पाउँथ्यो।

उनीहरू परिस्थिति मिलाएर सँगसँगै बाहिर पनि निस्कन थाले।

‘जे कुरामा पनि हँसाइदिने मान्छे,’ यशोदा भन्छिन्, ‘कस्तो रमाइलो मान्छे रहेछ भन्दाभन्दै के के भयो के के...’

कोठामा हाँसो फैलिएकै क्षण मदनकृष्णले झनै घिउ थपे।

‘त्यही त भन्या,’ श्रीमतीतर्फ टाउको घुमाएपछि कपाल कन्याउँदै बोले, ‘हँसीठट्टा गर्दागर्दै फँसीठट्टा भयो बाबा...’

अघिको हाँसो झन् विष्फोटमा परिणत भयो।

त्यो हँसीठट्टा र फँसीठट्टाको बीचमा चार वर्षको अन्तर थियो। अर्थात् २०२६ सालदेखि सुरु भएको रोमान्स २०३० सालमा सुटुक्क सूर्यविनायक मन्दिरमा पुगेर बिहेमा परिणत भयो।
घर छाडेर हिँडेका उनलेसाथीभाइसँग मागेको सुटमै बिहे त गरे, तर जाने कहाँ?

उनीहरू न्यूरोडमा डेरा गरी बस्न थाले।

‘त्यो बेला जातपात र अन्तर्जातीय बिहे कस्तो जटिल कुरा थियो भन्ने अहिलेका पुस्ताले सायद पत्याउँदैनन्,’ यशोदाले थपिन्, ‘सोझै भन्नुपर्दा समाजका नजरमा हामीले ठूलै अपराध गरेका थियौं।’

त्यो बेलाको कुपण्डोल बेग्लै थियो। एक घरले अर्को घरलाई नचिनेको भन्ने हुन्थेन। दाउरा बाल्न मकल लिएर पल्लो घरदेखि आगो ल्याउनुपर्थ्यो। ‘यसरी जोडिएको टोलमा मेरो बुवा आफन्त, नातागोता रछरछिमेकबाट समेत अपहेलित बन्नुभयो,’ यशोदा भन्छिन्, ‘मेरो बिहे भएको छ महिनामै बुवाको मृत्यु भयो।’

५२ वर्षकै उमेरमा पिताको मृत्यु हुनुका पछाडि आफू एक मात्र कारण रहेको ठानेर यशोदालाई अहिले पनि नरमाइलो लाग्छ।

बुवा बिरामी परेको खबर बहिनीहरूले ल्याउँथे, यशोदाले केही पनि गर्न सक्दिन थिइन्। माइतीमा आउजाउ नै थिएन।

‘अन्तिम समयमा पुगेर बुवाले मलाई सम्झनुभएको जानकारी पाएँ,’ यशोदा भावुक भइन्, ‘कुदाकुद पशुपति पुग्दा त बुवाको प्राण गइसकेको रहेछ।’

त्यसपछि त उनी आफन्त, नातेदार, टोलछिमेक सबैका नजरमा दोषी भइन्। सबैले यशोदालाई नै औंल्याउँदै ‘उसैले गर्दा बाउ मर्यो’ भन्न थाले। ‘मैले एकसाथ धेरै चोट खप्नुपरेको थियो,’ उनी भन्छिन्, ‘उहाँको मायालेगर्दा हिम्मत भने हारिनँ।’

मदनकृष्णका अनुसार त्योताक मध्यरातमा उठेर पनि यशोदा बेलाबेला माइती सम्झँदै कहालिन्थिन्। उनलाई थुम्थुम्याएर सुताउनुपर्थ्यो।

बिहे भएको एक वर्षपछि आमाले ‘समाजले जे भने पनि भनोस्, आइज’ भनेपछि उनी आमालाई भेट्न पुगेकी थिइन्। ‘जति भने पनि आमाको माया बेग्लै हुन्छ,’ उनले थपिन्, ‘दाइ–भाउजूको घरमा चाहिँ बिहे भएको१४ वर्षपछि मात्र पाइला टेकेको थिएँ।’ यशोदाका दाइ, एक दिदी, दुई भाइ र दुई बहिनी छन्। दाइ प्रथम श्रेणीका सरकारी जागिरे थिए।

उता जन्मघरमा जस्तोसुकै परिस्थिति भए पनि यशोदाको कर्मघर न्यानो थियो। मदनकृष्णको परिवारकाले बिहे भएको दुई सातामै उनीहरुलाई घर डाकेका थिए।
‘बिहे भएको १४ दिनपछि न्यूरोडको डेरामा मेरो माइली फुपूको छोरा आउनुभयो,’ मदनकृष्ण भन्छन्, ‘बुवाले असाध्यै पीर गर्नुभएको सुनाउँदै भेट्न जाने कर गर्नुभयो।’

सुरुमा मदनकृष्णले अप्ठेरो माने। दाइले पनि प्रयास छाडेनन्, ‘तिमीले यसरी बिहे गरेको मलाई चाहिँ खुसी लागेको छ। आफूलाई मनपरेको सँगै बिहे गर्नुपर्छ। मैले मामालाई सम्झाइसकेको छु। तिमीलाई लिएरआउँछु भनेको छु। जाउँ हिँड...’

दाइले कर गरेपछि मदनमा अलिकता साहस पलायो। अहिल्यै गइएन भने पछि झन् एक्लै कसरी जाने भन्ने डर पनि थियो।

उनी दाइको पछि लागे।

बिहे गरेर बेपत्ता छोरालाई देखेर बाबु एकछिन त स्तब्ध भए। मदनकृष्णका पिता रामकृष्ण जीतपुरफेदी गाउँमा प्रधानपञ्च थिए। गाउँलेका घरायसी झैझगडा मिलाउने उनकै छोरा घर छाडेर हिँडेका थिए।

त्यसमाथि छोरो मदनकृष्ण उनका यस्ता सन्तान थिए, जसलाई जन्मेको छ महिनामै आमाले छाडेर परलोक गएकी थिइन्। त्यसपछि उनले अर्को बिहे गरे, जसबाट एक छोरा र दुई छोरी भयो।

सायद यी सबै सम्झिएर मदनकृष्णका पिता अचानक भावुक भए।

‘त्यसपछि त उता बाबुछोराको रुवावासी नै चल्यो,’ मदनकृष्ण सम्झन्छन्, ‘यता न्यूरोड डेरामा चाहिँ मलाई अपहरण गरेर थुने होलान् भन्दै उनी पीर मानिरहेकी रहिछन्।’

त्यो परिस्थिति धेरै लम्बिएन।

आफूलाई सम्हालेपछि मदनकृष्णका पिताले हकी स्वर निकाल्दै भनेछन्, ‘लौ, जे हुनु थियो भइगयो। छाडौं। मेरो जेठो छोराको बिहे म कहाँ त्यसरी हुन दिन्छु? मेरी बुहारीलाई पूरा परम्परा र विधिविधानअनुसारैभित्र्याउँछु।’

यसो भनिसकेपछि पिताले काठमाडौंको झोछेँमै आफन्त, नातागोता र सम्पूर्ण समाजलाई निम्त्याएर स्वयंवरदेखि भोजसम्म आयोजना गरे।

‘यसरी मेरो दुईपटक बिहे भएको थियो,’ पुलुक्क हेरेपछि मदनकृष्ण मुस्काउन थाले, ‘एकपटक सूर्यविनायकमा, एकपटक समाजको अघिल्तिर।’

उता यशोदाको माइती खलकमा भने यो 'दोस्रो' बिहे पनि उल्टो अफवाह बनेर पुगेछ। ‘दोस्रो बिहे भन्ने सुनेपछि त झनै आगो चर्कियो,’ यशोदा भन्छिन्, ‘एक त नेवार, त्यसमाथि सौतामाथि गइछ भनेर पो बुझेछन्।’

माइतीको तुलनामा त्यतिबेला उदारता देखाउने ससुराली सम्झँदा यशोदा आनन्द मान्छिन्। ससुराकै कतिपय कदम भने उनलाई अनौठो लाग्छ। जस्तो, कार्डमा छापिएको उनको नाम।

‘हिजोआज बिहेको कार्डमा फलानो श्रेष्ठ र फलानी उपाध्यायको बिहे हुँदैछ भनेर बकाइदा नाम लेखेको देख्दा अचम्म लाग्छ,’ उनले भनिन्, ‘जबकि मेरो बिहेमा त्यत्रो उदारता देखाउँदा देखाउँदै पनि ससुराले मेरोपरिचय छोपिदिनुभएको थियो।’

त्यतिबेला छापिएको कार्डमा बेहुला मदनकृष्ण श्रेष्ठको सम्पूर्ण विवरण उल्लेख गरिएको थियो भने बेहुलीको नाम 'यशोदा मैयाँ' लेखिएको थियो।

उनले हाँस्दै भनिन्, ‘सोच्नुस् त कस्तो भयो होला मलाई!’

बिहे गरिसकेपछि नेवारी संस्कृतिमा भिज्न फेरि उत्तिकै गाह्रो भयो। चाड तिनै थिए, तर बाहुन र नेवार परिवारले मनाउने तरिका केही पनि मिल्दैन थियो।

‘मलाई यताको भोजभतेर, खानपिन सबै अनौठो लाग्ने,’ उनले थपिन्, ‘ससुराले परिस्थिति बुझेर त्यस्ता सबै कामको जिम्मेवारी सासूलाई सुम्पनुहुन्थ्यो।’

ससुरा कतिसम्म उदार र सहयोगी थिए भने, राँगाको मासु चलाउने बेला बुहारीलाई अलग्गै व्यवस्था गर्न लगाउँथे।

विस्तारै विस्तारै यशोदालाई यताको बानी पर्दै गयो।

घर भित्रिएपछि उनी अफिसबाट दुई महिनाको विदा लिएर गाउँ बस्न गइन्। ‘त्यतिबेला मलाई काठमाडौंदेखि ससुराले नै बाटो देखाउँदै लैजानुभएको थियो,’ उनले थपिन्, ‘सहरमा हुर्केबढेकी बुहारीलाई न्याश्रोलाग्ला कि भनेर असाध्यै हेरविचार गर्नुभयो।’

यशोदालाई चाहिँ त्योबेला जीतपुर फेदी गएर बस्दा त्यस्तो अनकन्टारमा कहाँ आइपुगेँ जस्तो भएको रहेछ। ‘माइतीबाट अलग भइसकेपछि अब मेरो संसार यही हो भनेर रमाउनुको विकल्प थिएन,’ यशोदा भन्छिन्, ‘मैले त्यो दुई महिना आफूलाई ग्रामीण नेवार बुहारीका रूपमा सक्दो ढाल्ने कोशिस गरेँ।’

यसरी जटिल परिस्थितिबाट अघि बढेको दाम्पत्य जीवन सम्हाल्न अरूलाई भए मुश्किल हुन्थ्यो होला। तर, यहाँ त मदनकृष्ण पो थिए। मदन पनि र कृष्ण पनि।

उनी श्रीमतीलाई माया मात्र गर्दैन थिए, उनलाई नै उल्लेख गरेर गीत लेख्थे, पढेर सुनाउँथे र रेडियोमा गएर रेकर्ड गरिदिन्थे।

‘अरबौं मानिसहरूमा तिमी एक मन मिल्ने मान्छे 
म मन मिल्ने मान्छेको एउटा संसार नै खोज्ने मान्छे’

मदनकृष्णको एउटा अर्को लोकप्रिय गीत पनि उनले श्रीमतीलाई नै सम्झेर लेखेका रहेछन्।

‘खोलावारि खोलापारि पिपलु र वर 
हावा चल्यो पात हल्ल्यो माया वर वर’

‘नेपाली गीत त थोरै र ठीकठीकै छन्,’ यशोदा भन्छिन्, ‘मलाई असाध्यै मनपर्ने त उहाँका नेवारी गीतहरू हुन्।’

झन्डै सयवटाभन्दा बढी गीत रेकर्ड गराइसकेका मदनकृष्णका थुप्रै प्रेमगीत भए पनि यशोदालाई सबैभन्दा मनपर्ने गीत अर्कै छ। उनले श्रीमानतिरै हेरेर मुस्काएपछि मदनकृष्णले गाउने कोशिस गरे–

‘पसलबाट बिकिसकेको म मान्छे 
आँखाबाट सबको झरेको म मान्छे

गाउँदा गाउँदै मदनकृष्णको स्वर काम्न थाल्यो। उनी थामिए।

‘ख्वै आजकल स्वर पनि राम्ररी निस्कनै छाडेको छ,’ उनले भने, ‘प्रयास गर्नुपर्छ।’

२०२३ सालमै रेडियो नेपालको आवाज परीक्षा पास गरेपछि ज्ञानबहादुर श्रेष्ठको संगीतमा मदनकृष्णले रेकर्ड गरेको यो पहिलो नेपाली गीत रहेछ। आवाज परीक्षा दिनुअघि पनि मदनकृष्णले रेडियो नेपालमा गएरनेवारी गीत गाएका थिए। त्यो २०२२ सालको कुरा थियो। रेडियोमा त्यतिबेला ‘जीवन दगुः’ नामको नेवारी कार्यक्रम चल्ने गर्थ्यो। उनकै पिताले गाउँमा सामाजिक विसंगतिलाई लिएर लेखेको गीत मदनकृष्णले त्यहाँसुनाएका थिए।

शास्त्रीय संगीतमा पकड बनाएका मदनकृष्णलाई गम्भीर गायकका रूपमा पनि लिइन्छ। हार्मोनियममा औंला फिट्दै आवाज निकाल्ने उनले संगीत चाहिँ कसरी सिके?

जवाफमा मदनकृष्ण आफ्नो बाल्यकालतिर फर्के।

बालाजुभन्दा एक घन्टा परको उनको गाउँ जीतपुर फेदी कुनै समय त्रिशूली हुँदै माथि केरुङ अनि गोरखा, पोखरा लगायत सिंगो पश्चिम नेपाललाई काठमाडौंसँग जोड्ने प्रमुख व्यापारिक नाका थियो। त्यही गाउँकाकहलिएका व्यापारी थिए, मदनकृष्णका जिजु हजुरबुवा।

बाल्यकालमा त्यो गाउँको चहलपहल सम्झँदा उनलाई अहिले पनि रमाइलो लाग्छ। गाउँमा सदैव ओहोरदोहोर गर्ने मान्छेको घुइँचो हुन्थ्यो। अनेकथरी जडिबुटी बेच्न ल्याउनेहरु देखिन्थे। ती जडिबुटी किन्न आउनेहरूपैसाका मुठा बोकेर आउँथे। घरका छिँडीछिँडीमा बास बस्थे।

त्यस्तो सम्पन्न गाउँमा एकदिन अचानक ज्योतिषीहरूको हवाला दिँदै नराम्रो हल्ला फैलियो। हल्लाले भन्थ्यो– फेरि विशाल भुइँचालो आउँदैछ। यो २०१८ सालको कुरा हो। यस्तो हल्लाले गाउँमा उत्पात मच्चियो।९० सालको भुइँचालो भोगेका पाका मानिस ठूलै धार्मिक अनुष्ठान लगाउने निधोमा पुगे। तीन सय ६५ दिनसम्म अखण्ड कीर्तन गर्ने निर्णय भयो। त्यस निम्ति छाप्रो बनाउने काम मदनकृष्णको घरछेउमै भयो। त्यहाँ चौबिसै घन्टा भजन सुरु भयो। तबला र हार्मोनियम बजाएर गाउनेहरूको तलबै तोकिएको थियो।

वर्ष दिनसम्म एक सेकेन्ड रोकिन नहुने त्यो अखण्ड कीर्तनमा ११ वर्षीय मदनकृष्ण पनि गएर बसिरहन्थे। उनले थाक्दै गएका कलाकारसँग कुराकानी गरे। आफूलाई पनि गाउन र बजाउन सिकाइदिए उनीहरूलेबेलाबेला पालो पाउने लोभ देखाए। ती कलाकारले मदनकृष्णलाई हार्मोनियम र तबलामा औंला नचाउन सिकाइदिए। विस्तारै मदनकृष्णले निकालेको स्वर र हार्मोनियमको ताल मिल्दै जान थाल्यो।

त्यसपछि त उनी भजनमा मात्र किन थामिन्थे?

यसरी गीत–संगीतमा लागेका मदनकृष्ण आइकम पढ्ने बेलासम्म काठमाडौंमा ‘स्टार’ भइसकेका थिए। यहाँका डबली र टोलटोलमा हुने सांगीतिक कार्यक्रम भ्याउन कहिलेकाहीँ त दिनमै दुई–तीन ठाउँ पुग्नुपर्थ्यो।नेवारी स्वादमा हाँस्य रस थपेर बनाइएकाले उनका गीत बढी मन पराइन्थे। उनका प्रस्तुतिले सामाजिक विसंगतिमाथि चोटिलो प्रहार गरिरहेको हुन्थ्यो।

पछि मदनकृष्ण आफैं सचिव रहेर अर्को एउटा संस्था ‘मुना सः’ (आवाजको जमघट) सुरु भयो। त्यसमा उनी प्रहसन र गीत प्रस्तुत गर्थे। एकचोटि कार्यक्रम निम्ति नगेन्द्र हाडालाई बोलाउन मदनकृष्ण भक्तपुर पुगे।नगेन्द्र आफू त आएनन्, तर एउटा गीत दिएर पठाए। त्यो गीतमा गायकले पहिला केही लाइन बोलेर आफूलाई दुःखी देखाउनुपर्थ्यो। श्रोताहरू गम्भीर बनेपछि गायकले नेवारीमा गाउने पहिलो लाइनले भन्थ्यो–

‘मरु गणेशको मन्दिरमा गजुर छैन’

गायकले मुख अँध्यारो पारेर यति भनुन्जेल श्रोताहरु स्तब्ध हुँदै ‘अब यसले के भन्ला?’ भनेर कुर्थे।

त्यसपछिको लाइन यस्तो थियो-

‘ए हजुर म एक जनाको अहिलेसम्म एउटा स्वास्नी छैन’

यति भनुन्जेल दर्शक थामिनसक्ने गरी मरी मरी हाँस्न थाल्थे।

‘मलाई संगीतबाट हाँस्यव्यंग्यमा मोड्ने गीतै त्यही भइदियो,’ मदनकृष्ण भन्छन्, ‘२०२८ सालमा यो गीत राष्ट्रिय सभागृहमा गाएपछि त काठमाडौंमा जता गए पनि यो गीत सुनाउने अनुरोध आउन थाले।’

लगत्तै २०३२ सालदेखि प्रज्ञा प्रतिष्ठानमा गाईजात्रा कार्यक्रम सुरु भयो। मदनकृष्ण त्यसमा जोडिन पुगे। त्यसै वर्ष उनी सञ्चय कोष छाडेर कृषिमा जागिर खान गए। ६० रुपैयाँ कम तलब पाए पनि कृषिबाट रेडियोमा कार्यक्रम चलाउन पाइन्थ्यो। त्यहाँ जानेबित्तिकै उनले बिबिसीको रेडियो तालिम लिए। बिबिसीले नै उनीहरूलाई एउटा हाँस्यव्यंग्य कार्यक्रम चलाउन तयार पारिदियो। त्यो थियो कुनै बेलाको लोकप्रिय रेडियोकार्यक्रम ‘रसरंग’।

मदनकृष्णको व्यावसायिक जीवनमा यो अर्को महत्वपूर्ण खुड्किलो बन्न पुग्यो।

यसै क्रममा २०३८ सालमा गायक रुबी जोशीले आफू कार्यरत राष्ट्र बैंकको रजत महोत्सवका निम्ति एउटा कार्यक्रमको प्रस्ताव लिएर आए। मदनकृष्ण तयार भए। त्यसै कार्यक्रममा अर्का प्रस्तोता थिए, हरिवंश आचार्य।
उनीहरू दुवैले बेग्लाबेग्लै कार्यक्रम देखाउनुपर्ने थियो। तर, राजा वीरेन्द्र प्रमुख अतिथि रहने त्यस कार्यक्रमको समयावधि एकदमै घटाइयो। दुई जना बेग्लाबेग्लै प्रस्तोताको एउटै संयुक्त कार्यक्रम गर्नुपर्ने स्थिति आइलाग्यो। मदनकृष्ण र हरिवंश दुवैले केही समय विचार गरे र अन्तिममा ‘हुन्छ’ भने।

त्यो थियो यो जोडीकै पहिलो प्रहसन ‘बैंकेश्वर’।

प्रहसन गजबसँग जम्यो। त्यसबेलादेखि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एकअर्काका परिपूरक बन्न पुगे। र, हुँदाहुँदा ‘मह’ मा परिणत भए। नेपालको रंगमञ्च इतिहासमा यति प्रभावकारी जोडी सायदै फेरि तयार हुने गरी उनीहरू अहिले पनि उत्तिकै सक्रिय छन्।

सबैका निम्ति मह बन्दै आएको यो जोडीका आफ्नै व्यथा भने कमै खोजी हुन्छ।

मानिसहरू उनीहरूबाट हाँसो खोज्छन्। उनीहरूले पनि बदलामा हाँसो दिँदै आएका छन्। तर, त्यहाँभित्र अनन्त पीडा लुकेर नबसेका होइनन्।

‘हरिवंशको श्रीमती बितेको दिन मलाई जीवनमै सबैभन्दा बिथोलिएको महशुस हुने क्षण हो,’ मदनकृष्ण भन्छन्, ‘त्यो ठूलो क्षति थियो।’

महले त्यसपछि पनि क्षति बेहोर्न जारी राखेको छ।

करिब सात वर्षअघि उनीहरू एउटा फिल्म गरिरहेका थिए- ‘हाँसिदेउ एकफेर’। त्यसमा लड्ने दृश्य थियो। मदनकृष्ण लडे। अचानक उनको कम्मरमा कुटुक्क आवाज आयो।

‘अरूबेला यसरी लड्दा पाँच–दस मिनेटमै निको भइसक्थ्यो,’ मदनकृष्ण भन्छन्, ‘त्यतिबेला चाहिँ अलिदिनसम्मै दुखिरह्यो।’

त्यसको केही दिनमै गाह्रो हुने गरी हात दुख्न थाल्यो। त्यही हात टाउकोमाथि पुर्याएर उठाउँदा दुख्दैन थियो। तल राख्दा सहनै नसकिने। सुत्ने बेला पनि सिरकबाहिर हात ठाडो पारेर राख्नुपर्ने हुन थाल्यो।

हेर्दाहेर्दै विस्तारै खुट्टा पनि घिसारिने हुन थाल्यो। खाना खान खोज्दा चम्चा अर्कैतिर फर्किदिन्थ्यो।

उनी चिकित्सकलाई देखाउन गए। कारण खोज्दै जाँदा त उनलाई ‘पार्किन्सन’ पो भएको रहेछ। यो अब बाँचुन्जेललाई बोक्नुपर्ने रोग थियो, जसले दिन–प्रतिदिन उनका हिँडडुललाई क्षीण बनाउँदै लैजान्थ्यो।पार्किन्सनको पूर्ण उपचार छैन। यसलाई औषधिले रोकथाम मात्र गर्ने हो।

दिमागमा रहेका ‘न्यूरोन’ भनिने महत्वपूर्ण नशाका कोषहरूको खराबी वा तिनको मृत्युले मानिसलाई यस्तो अवस्थामा लगिदिँदो रहेछ। ती न्यूरोनले डोपमाइन नामको रसायन उत्पादन गर्छन्। ती रसायनको कामअंगहरूलाई परिचालित हुन दिमागलाई सन्देश दिनु हो। यस्तोमा जब पार्किन्सनको विकास हुँदै जान्छ, त्यसले क्रमशः डोपमाइन उत्पादन घटाउँदै लैजान्छ। र, बिरामीको शरीरका चालहरू क्रमशः असामान्य बन्दैजान्छन्।

बिरामीका हात, पाखुरा, खुट्टा, बंगारा र अनुहारै पनि काम्न थाल्छन्। पार्किन्सनले गाँज्दै लगेपछि मुटु, फोक्सो, मिर्गौलाजस्ता शरीरका भित्री अंगहरू नै थर्थराउन थाल्छन्। शरीरको चाल ढिला हुँदै जान्छ। मध्यभागकठोर हुदै जान्छ। र, बेलाबेला सन्तुलनै बिग्रेर मानिस लड्न खोज्छ।

यस्तो अवस्थामा औषधिको मात्रा बढाइदिने हो भने रोग केही नियन्त्रण भएजस्तो त देखिन्छ, तर त्यो झनै घातक भइदिन्छ।

त्यसैले एकै जना चिकित्सक र उनैले असाध्यै कम डोजबाट सुरु गरेको औषधिका भरमा मदनकृष्ण सात वर्षदेखि शरीरमा क्रमशः विकास भइरहेको यो रोगसँग लडिरहेका छन्। तीन वर्षअघि जापानकी प्रसिद्धचिकित्सक ताकोमी ताहिरा आएका बेला उनले अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया पनि गराएका थिए।

‘यो रोगका बारेमा यहाँ धेरैलाई थाहै छैन,’ मदनकृष्णले रोगका कुरा गर्दा पनि हँसाउन छाडेनन्, ‘अस्ति जनचेतना जगाउन वाकाथनको निम्ति ट्राफिकमा सम्पर्क गरेको, ‘ए शनिबारको दिन कार्यक्रम गरे भइहाल्छ नि, मारामार पार्किङ भेटिन्छ’ भनेर पो सुनाए।’

पार्किन्सन रोग लागेपछि कतिपय समयमा शरीरका अंगहरू तत्काल चल्न नसक्ने हुँदा मदनकृष्णले हिजोआज गाडी चलाउन छाडेका छन्। उनको हिँडडुल र आवतजावत चालकले सम्हालिदिनुपर्छ।

र, यी सबै कमजोरीलाई सबैभन्दा बढी ढाकिदिएका छन् उनकै जोडी हरिवंश आचार्यले।

‘मेरो शरीरबाट सामान्य संकेत पाउनेबित्तिकै के हुन लागेको हो भनेर उसले थाहा पाइहाल्छ,’ मदनकृष्ण भन्छन्, ‘चाहे स्टेजमा होस् वा बाहिर, उसले तुरुन्ताको तुरुन्तै परिस्थिति सम्हालिदिन्छ।’

तर, दिनप्रतिदिन बढ्दै गइरहेको कमजोरी त थामिनेवाला छैन।

‘विस्तारै स्वर पनि बस्दै जान थालेको छ,’ उनी भन्छन्, ‘आवाज झिनो र नबुझिने हुँदै जाँदो रहेछ।’

उनलाई यो रोगले कहिलेकाहीँ अनौठो परिस्थितिमा पनि लगिदिने गरेको छ।

‘पार्टीमा गएको बेला अरूहरू टन्न जाँड खाइरहेका हुन्छन्,’ उनले दुःखको कुरा सुनाउँदा सुनाउँदै पनि हँसाए, ‘मेरो भने खुट्टा र जिब्रो लर्बराएर मातिएको मान्छेजस्तो अवस्था भइरहेको हुन्छ।’

भीडभाडको स्थितिमा फोटो खिच्न आउनेहरू पनि उत्तिकै हुन्छन्। यता मदनको शरीर अचानक काम्न थाल्छ। त्यसको संकेत देख्नेबित्तिकै हरिवंशले उनलाई सम्हालिहाल्छन्।

‘त्यसैले हिजोआज सक्दो पार्टी र भीडभाडका कार्यक्रममा कम जाने कोशिस गर्छु,’ मदनकृष्ण भन्छन्, ‘तर, सक्रिय भइरहने चाहनाले थामिएर घरमा बस्न पनि मन लाग्दैन।’

उनले स्टेज र कार्यक्रम पनि छाडेका छैनन्। स्टेजले नै उनलाई असामान्यबाट सामान्य अवस्थामा फर्काउँछ।

‘एउटा असाध्यै महत्वपूर्ण कुरा तपाईंसँग सेयर गर्न चाहन्छु,' मदनकृष्णले आँखा चम्काए र अलिक उज्यालो भएर बोले, 'अरूबेला जस्तोसुकै लर्बराएको वा लड्खडाएको भए पनि स्टेजमा पुगेपछि चाहिँ ख्वै के हुन्छहुन्छ। अचम्मैसँग भित्री बल आउँछ र शरीरले स्वतः सामान्य व्यवहार गरिदिन्छ।’

उनका अनुसार अरूबेला चिकित्सकले फिजियोथेरापी भन्दै बल लगाएर परिचालित गराउन खोज्ने उनको शरीरका अंगहरू स्टेजमा स्वतः चल्न थाल्छन्।

‘स्टेजमा त उल्टो फिजियोथेरापी भइरहेको छ भन्या...’ उनी भन्छन्, ‘ख्वै त्यहाँ चाहिँ जहिले पनि कताबाट के चमत्कार भइदिन्छ।’

तै पनि आफ्नो शरीरलाई हरिवंशले नियालिरहेको र प्रत्येक परिस्थितिका लागि उनी तयार रहने गरेकाले मञ्चमा अझै पनि लामो समय सक्रिय रहने उनको आत्मविश्वास छ।

मदनकृष्णको आत्मविश्वासलाई उनीभित्रैको पार्किन्सनले भन्दा बढी अरू नै कुनै कुराले हल्लाइरहेको छ।

त्यो हो, श्रीमती यशोदाको अवस्था।

उनको यो आत्मविश्वास हल्लिन थालेको पाँच वर्ष भइसक्यो।

हाल काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठ धुलिखेल अस्पतालका संस्थापक पनि हुन्। त्यो अस्पतालको असाध्यै वर्णन सुनेपछि मदनकृष्ण एकपटक घुम्न गएका थिए।

‘हामीले पनि कुनै समय मोडल अस्पताल खोल्ने बेला त्यस्तै सस्तो र सर्वसुलभ स्वास्थ्य केन्द्रको सपना देखेका थियौं,’ उनी भन्छन्, ‘त्यहाँ डा. रामकण्ठको व्यवस्थापन देखेपछि कतै न कतै आफ्नो सपना साकारभइरहेजस्तो सन्तुष्टि मिलेको थियो।’

उक्त भेटघाटपछि डा. रामकण्ठले मदनकृष्ण दम्पतीकै एकपटक ‘होलबडी चेकअप’ गर्ने प्रस्ताव राखेछन्।

‘तपाईंहरू जस्तो मान्छे स्वस्थ रहनु असाध्यै जरुरी छ,’ डा. रामकण्ठले भनेछन्, ‘एकपटक राम्रोसँग जाँचेर ढुक्क हुने मन छ।’

त्यो अनुरोध फेरि फेरि पनि दोहोरिएपछि एकदिन मौका मिलाएर श्रीमान–श्रीमती धुलिखेल पुगे।

‘अरू सबै परीक्षणको सामान्य रिपोर्ट आयो,’ मदनकृष्णले श्रीमतीतर्फ हेर्दै भने, ‘उनको कोलोनोस्कोपी गर्दा चाहिँ झसंग पार्ने जानकारी आयो।’

यशोदालाई केही समययता दिसाबाट रगत बग्न सुरु भएको थियो। ‘म असाध्यै पिरो खाने मान्छे,’ उनी भन्छिन्, ‘त्यो पिरोकै कारण केही सामान्य गडबडी भएको होला भन्ने लागेको थियो।’

जाँच गरिसकेपछि धुलिखेल अस्पतालका रेडियोलोजिस्ट डा. राम गुरुङले भने, ‘भाउजूले त ठूलै रोग पो पालेर बस्नुभएको रहेछ।’

तै बेहोस पारिएकी यशोदा अचेतै थिइन्।

यो सुन्नेबित्तिकै मदनकृष्णको दिमागमा ‘कतै क्यान्सर त होइन?’ भन्ने प्रश्न उठिहाल्यो। डाक्टरले सहमतिको इसारा गरे। उनलाई रेक्टल (मलाशय) क्यान्सर भएको रहेछ। त्यो कत्तिको फैलिएको छ भनेर फेरिएकपटक जचाउन अस्पताल आउनुपर्ने गरी उनीहरू विदा भए।

‘हामी दुई जना एकदम चुपचाप काठमाडौं फर्कँदै थियौं,’ मदनकृष्ण भन्छन्, ‘उनले पुलुक्क हेर्दा मुस्काउन पनि मलाई अप्ठेरो परिरहेको थियो।’

घर आएपछि पनि उनी चुप लागेर बसेछन्। श्रीमतीको मनमा भने चिसो पसेको थियो।

‘म जुरुक्क उठेँ, माथि कोठामा गएँ र ढोकाको चुक्कुल लगाएँ,’ पार्किन्सनले त्यसै कामिरहेका मदनकृष्ण अब झनै काम्दै थिए, ‘त्यसपछि एकछिनसम्म एक्लै बसेर रोइरहेँ।’

सेतोपाटीसँग कुरा गर्दागर्दै मदनकृष्णका आँखा रसाए। आँखाको आँसु त पुछेर पनि जान्थ्यो। तर, काम्दै गरेको ओँठलाई कसरी नियन्त्रण गर्ने? उनले भएभरको बल लगाएर ओँठ टम्म पार्न खोजे। परिस्थिति असहज बन्यो।

‘मलाई त ठूलो रोग लागेको छ भनेर मात्र भनिएको थियो,’ मदनकृष्ण भावुक भइरहेका बेला श्रीमती बोल्न थालिन्, ‘के हो? के हो? म त पायल्स वा अल्सर होला भन्ठानेकी थिएँ।’

मदनकृष्ण यतिन्जेल अलिक नियन्त्रित भइसकेका थिए।

‘उहिल्यै एकपटक ‘हाँसिदेउ एकफेर’ फिल्ममा मेरी श्रीमती बनेकी मिथिला शर्मालाई क्यान्सर लागेको खबर पाउने दृश्य थियो,’ उनले भने, ‘त्यतिबेला अभिनयको निम्ति रुनुपर्ने मान्छे, म साँच्चिकै रोएको थिएँ।’

मदनकृष्णका अनुसार वास्तविक जीवनमै यशोदालाई क्यान्सर लागेको जानकारी पाउँदा भने आँसु मात्र निस्किरहेको थिएन, मुटु भित्रैदेखि दुखिरहेको पनि थियो।

उनीहरू फेरि अर्कोपटक धुलिखेल अस्पताल पुगे।

‘यति जाबो त केही पनि होइन,’ डा. रामकण्ठले आश्वस्त पार्दै भनेछन्, ‘मै अपरेसन गरेर फालिदिन्छु।’

उनले क्यान्सरको अवस्था कस्तो छ भनेर बुझ्न एकपटक सिटीस्क्यान गर्न लगाए। रिपोर्ट आएपछि झनै भयानक शून्यता छायो। त्यो क्यान्सर त लिभरमा समेत फैलिएको संकेत देखियो।

मदनकृष्णका अनुसार यसरी एकठाउँमा लागेको क्यान्सर अर्को ठाउँमा पनि सरेको देखिनुलाई 'चौथो स्टेज' भनिन्छ।

थुप्रै आत्तिएका बिरामीलाई सम्हाल्दै आएका रामकण्ठ पनि अलिक हच्किए।

‘तर, उहाँ गजबकै डाक्टर हो,’ मदनकृष्णले सम्झिए, ‘कोठामा लगेपछि आफैंले चिया बनाएर हामीलाई सर्भ गर्दै नआत्तिन ढाडस दिइरहनुभएको थियो।’

लिभरको वास्तविक अवस्था के हो भनेर थाहा पाउन विस्तारमा परीक्षण गर्नुपर्थ्यो, जुन सुविधा नेपालमा थिएन। उनले बैंकक जाने सल्लाह दिए। अब चाहिँ यो कुरा श्रीमती यशोदालाई पनि खुलाउनु जरुरी छ भनेरडा. रामकण्ठले नै सुनाइसकेका थिए।

‘क्यान्सर भएको थाहा पाउनेबित्तिकै ऊ आत्तिएर कम बोल्न थाली,’ मदनकृष्णले भने, ‘मबाट पनि परपर हुन थाली।’

त्यसको केही दिनमै मदनकृष्ण र यशोदा दम्पती बैंकक जाने तयारीमा लागे। साथमा हरिवंश पनि जाँदै थिए।

‘उसलाई बैंककबाट फर्केर आउँछु भन्ने लागेको थिएन,’ मदनकृष्ण भन्छन्, ‘घरखर्चबाट बचाएर राखेको पैसा सबै विदा गर्न आएका आफन्तहरूलाई बाँडिदिई।’

उनीहरू बैंकक पुगे। क्यान्सर फैलिएको पुष्टि भयो र उपचार पनि सुरु भयो।

‘रेडिएसन लिँदा जुन भागमा गर्यो त्यो भागै हाँडीजस्तो कालै हुँदो रहेछ,’ मदनकृष्ण भनिरहेका थिए, ‘फेरि त्यो ठाउँ बेस्सरी चिलाउने। कन्याउन खोज्दा छाला नै पट्पटी फुट्ने।’

‘उसिनेको आलु ताछेजस्तै,’ श्रीमतीले थपिन्, ‘कन्याउनेबित्तिकै छालै सलल्ल सोहोरिएर आउने।’

मान्छेलाई जब संकट पर्छ, चौतर्फी घेरिएर आउँछ।

एक त मलाशयमा घाउ छ, त्यसमाथि त्यतिबेलै पखाला चल्न थाल्यो। पखाला चलेपछि घाउमा फोका उठ्न थाले। त्यो फोका उठेपछि फेरि न बस्न मिल्ने न उठ्न मिल्ने।

बैंककमा जतिसुकै हैरानी भए पनि त्यहाँ यशोदाले चित्त बुझाउने एउटा महत्वपूर्ण दृश्य थियो।

उनीहरूका जम्मा दुई सन्तान– एउटा छोरा र एउटी छोरी। वर्षौंदेखि अमेरिकामा बस्दै आएका उनीहरू आमाको उपचारका लागि बैंकक आइपुगेका थिए। विश्व बैंककी जागिरे छोरी एक महिनाको विदा सकेपछि फेरिअमेरिका गइन् र दुई सातामै विदा लिएर फेरि बैंकक आइन्। छोरा उपचार अवधिभर बसे।

यशोदाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो। अपरेसन थिएटरबाट निस्केका बेला मदनकृष्णले विस्तारै उनको शरीरलाई छोएछन्।

‘तपाईंले मलाई बचाउनु भयो हगी,’ त्यतिबेला यशोदाले बोलेको वाक्य मदनकृष्णले सम्झिए।
बैंककबाट फर्केपछि पनि उपचार लामो समय चल्नेवाला थियो।

सन्तान विदेशिएपछि लामो समय एक्लै बिताउँदै आएको मदनकृष्ण दम्पतीका सामुन्ने एउटा सुखद संयोग जोडिन पुग्यो। उनीहरूका एक्ला छोरा यमन बैंककबाट अमेरिका पुगे र भएभरका सबै बेचबिखन गरेरसधैंका निम्ति सपरिवार नेपाल फर्किएर आए। तेह्र वर्ष उतै बसेर एमबिए पढेका उनी कुनै होटलमा म्यानेजर थिए। फर्केर आउँदा उतै जन्मेकी सानी छोरी पनि थिइन्, जसलाई नेपाली बोल्न आउँदैन थियो।

‘सुरुसुरुमा त परपर हुन्थी,’ यशोदा भनिरहेकी थिइन्, ‘हिजोआज नजिक हुने मात्र होइन, मैले नजानेका नेपाली शब्दसमेत प्रयोग गरेर बोल्न थालेकी छे।’

यसैको सुख छ आजभोलि, मदनकृष्ण दम्पतीलाई।

यता क्यान्सर दिनप्रतिदिन फैलँदो छ। लिभरको क्यान्सर अपरेसन गरेपछि फेरि फोक्सोमा सरेको देखियो। फोक्सोको हिस्सा पनि काटेर फालेपछि अब त्यो क्यान्सर मेरुदण्डमा सरेको छ। त्यसलाई त काट्न पनिमिल्दैन। हरेक १५ दिनको अन्तरमा एकपटक किमोथेरापी गर्नुपर्छ। त्यसबाहेक विदेशको महँगो औषधि छँदैछ।

‘थेरापी गरेको केही दिनसम्म त नराम्ररी गल्छिन्,’ मदनकृष्ण भन्छन्, ‘अन्तिम अन्तिममा पुगेर अलिक सुधार देखिन्छ अनि फेरि किमो गर्ने बेला आइपुगिसक्छ।’

यसरी किमो दिएको पनि ८४ पटक भइसकेको छ। दिनप्रतिदिन श्रीमतीका अंगहरू डढेर कालो हुँदै गएका छन्।

‘राम्री भनेर बिहे गरेको,’ मदनकृष्णले यस्तो बेला पनि हँसाउन छाडेनन्, ‘तिमी त चाम्री पो रहिछौ।’

यशोदा मुसुक्क हाँसिन्।

हिजोआज यसरी हाँस्ने अर्को कारण त्यही छोरा, बुहारी र नातिनी भएका छन्।

यतिबेला आफ्नो जीवनी लेखिरहेका मदनकृष्णलाई बेलाबेला नातिनी बिथोल्न आइरहन्छिन्। ‘बा, तिम्रो किताबमा मेरो नाम लेखेको छ कि छैन?’ १३ वर्षीया नातिनीले सोध्दिरहिछन्।

‘तैंले के गरेको छ र तेरो नाम लेख्ने?’ मदनकृष्ण पनि आफ्नै पारामा सोधिहाल्छन्।

‘अमेरिका छोडेर आएको छु नि...’ नातिनीले तुरुन्तै जवाफ दिएपछि सबैलाई हँसाउने मदनकृष्ण आफैं पनि नहाँसी बस्न सक्दैनन्।

उतै जन्मेकी नातिनी अहिले पनि भिसा लिएर नेपाल बसिरहेकी छन्। ‘नागरिकता बनाउने उमेर पुगेपछि उसले अमेरिकी हुने वा नेपाली हुने जे निर्णय लेओस्,’ मदनकृष्ण भन्छन्, ‘अहिले नाबालक अवस्थामा हाम्रोइच्छा लाद्न खोजेका छैनौं।’

जागिर र घर पनि सम्हालेर जीवनभर आफूलाई एकोहोरो कलाकारितामा लाग्न सघाएकी श्रीमतीको सेवा गर्दा मदनकृष्ण सन्तोष मान्छन्।

‘अझ अहिले त के हो र?’ उनले भने, ‘अलिक पहिले त शरीर छेउको पोकामा जम्मा हुने उनको दिसा दिनको तीन–चारपटक सफा गर्नुपर्थ्यो।’

श्रीमतीको सेवामा मदनकृष्णलाई छोरा र बुहारीको राम्रो साथ छ। बुहारी रिंकुले यशोदाका टुटेका पुराना सम्बन्धहरू पनि जोडिदिन थालेकी छन्।
पाँच वर्षअघि बैंककबाट उपचार गरेर आउनेबित्तिकै बुहारीले एउटा भव्य पार्टी आयोजना गरेकी थिइन्। त्यो यो दम्पतीकै बिहेको ३९ औं वार्षिकोत्सव थियो।

‘त्योबेला मेरी बुहारीले पत्ता लगाई लगाइकन मेरा माइतीका सबैजसो चिनेजानेका मानिस बोलाइदिएकी थिइन्,’ यशोदाले भनिन्, ‘तीमध्ये धेरैलाई त मैले बिहे भएको यत्रो वर्षपछि देखेकी थिएँ।’

त्यतिबेला माइतीका मानिसले मदनकृष्णको प्रशंसा गर्दै भनेका एक–एक शब्द यशोदालाई याद छ।

‘हाम्री छोरीलाई त्यस्तो अवस्थाबाट बचाएर ल्याउनुभयो। यस्तो माया दिएर राख्नुभएको रहेछ। ओहो, ज्वाइँ त गजब हुनुहुँदो रहेछ...’

यस्ता कुरा सुनाउँदा–सुनाउँदै अब आँखा रसाउने पालो यशोदाको थियो।

‘यत्रो लामो परीक्षाबाट गुज्रियो हाम्रो प्रेमविवाह,’ उनले भनिन्, ‘बिहे भएको छ महिनामै बुवा बित्नुभयो, मेरै कारणले। अन्तिम समयमा पनि मैले उहाँलाई भेट्न पाइनँ। सबैले मैलाई दोष दिए। कयौं रात छट्पटीमै काटेँ मैले। एक वर्षसम्म त आमाको मुख पनि हेर्न पाइनँ। माइतीका धेरै नातागोतालाई बिहे भएको यतिका वर्षसम्म कहिल्यै भेटिनँ। आज जिन्दगीको यो घडीमा आएर सबैको मुखबाट उहाँको तारिफ सुन्दैछु। बल्ल मलाई लाग्दैछ, हाम्रो प्रेमले लामो परीक्षा पास गर्यो।’

‘बिहे गरेको ३९ वर्षपछि बल्ल मेरो माइतीले उहाँलाई चिन्यो।’

-सेतोपाटी