16 Baishak, 2074 | 29 April, 2017 Saturday
 सरला रेग्मी 
पाँचथरदेखि धरान सम्मको यात्रा थियो । बाटोको दुरी पाँच घण्टा बिर्तामोडदेखि उता ३ घण्टा प्राइभेट गाडिमा जाने हो भने त त्यत्रो नलाग्ला सात घण्टामा पुगिन्छ तर सार्बजनिक यातायातमा प्राइभेट जस्तो कहाँ हुन्छ र ? आजभोलि फिदिमबाट लाग्ने गाडि जतिबेलै पनि पाउँछ । बिहानै उठेर हिड्न त मन थियो तर केही रेडियोको जरुरी काम सक्नु थियो तसर्थ १० बजे खाना खाएर बिर्तामोडको गाडि चढेँ । १० बजे हिड्ने भनेको गाडि हिडिदियो यात्रु बटुल्दै ११ बजे, पुषको महिना जाडो निकै थियो ।
घरबाट भोलि जाउ भन्दै हुनुहुन्थ्यो । महिलालाई माइती भनेपछि हुरुक्कै हुने मनमा एक किसिमको हतार त्यहाँ पुग्न चै अवश्य थियो मन, आनन्द हुन्छ माइतीघर भन्नासाथ, हतार, आनन्द दुबै थियो, जसरी बेलुका पुगिहालिन्छ नि भन्ने सोचेर हिँडे । गाडिमा कोचाकोच मान्छे खाँदिएको थियो । गाडिको अगाडिको सिटमा बसेको थिएँ । दुईजनाको सिटमा तीनजना कोचाकोच, किचरा ड्राइभर र मेरो छेउमा बसेका दाईको बीचमा एउटी बहिनीलाई राखेका थिए, छेउमा बस्ने दाइलाई अनुरोध गरेँ । दाई उता बसेर त्यो बहिनीलाई यता बस्न दिनुहोस् न, नदिन खोजेको पनि होइन तर अप्ठेरो हुन्छ रे अलि ठूलो मान्छेलाई बिचमा हाल्दा, अलि सानो मान्छे सजिलो अरे वास्तवमा त्यस्तो हो की नियत त्यो चाहिँ उहि जानोस् । बाटोको घुम्तीहरुमा त्यो ड्राइभरको हातलाई त्यो बहिनीले जोगाएको देख्दा माया नै लाग्यो, बिचरीको, दमकमा तालिम भ्याउन पुग्नु पर्ने बाध्यता रहेछ, त्यो ड्राइभर फोनमा मस्केको देख्दा गाडिमा सवार म मात्र होइन सबै रिसले चुर थिए ।
मम्मीले भनेको कुरा याद आयो, ड्राइभरको ब्यहोरा नी हुन्न । भित्रभित्रै रिस पनि उठ्यो, बल्लबल्ल ४ः३० मा बिर्तामोड उत्रिएँ । म छेउमा बसेकी केटी र मसँग सँगै गाडिबाट निस्कौं, दमकसम्म जाने थि ऊ, मसँगै जाउँ भन्ने उसको प्रस्तावलाई हुन्छ भने तर एउटा पार्सल बिर्तामोडमा आफन्तको दिनु थियो, चढ्यौं सिटी रिक्सा । सिटी रिक्साको ड्राइभर ऐनाबाट हामीलाई हेर्दै मस्किरहेको थियो । लाग्छ पहिलो पटक कोही महिला देख्दैछ, कपाल मिलाउदै र सर्टको गोजीमा राखेको चश्मा पुस्दै, किन त्यासो गर्‍यो थाहा छैन् हामीलाई प्रभावित पार्न या अरु केही उही जानोस् ।
 

बसपार्कबाट उत्रिदा, आफ्नो लगेज निकाल्दा र सिटी रिक्सामा चढेर भद्रपुर रोड पुग्दा ५ बजिसकेको थियो । घरबाट बारम्बार फोन आएर किर्तामोड मै बस भन्ने आदेश नआएको त होइन तर माइती पुग्ने हतारले झुट बोल्न बाध्य भए की धरानको साथी भेंटे उतै जान्छु । आफन्तकोमा पार्सल दिएर फर्कियौं, गाडि प्रतिक्षा गर्दै थियौं पुषको महिना कतिछिटो अँधेरो ५ः३० त्यहि भै हाल्यो गाडि पातला अनि भिंड पनि एकैछिन पर्खौ न त भनेर पर्खदै गर्दा एउटा भेन आएर रोकियो हाम्रो अगाडि, बहिनी कहाँ जाने हो ? एकजना महिला पनि थिइन् त्यहाँ । गाडि भित्र यसो हेर्‍्यौं । हामीले के गर्ने के नगर्ने दोधारमा परियौं । धरान पुग्नु थियो । कहाँ जान्छ दाई यो गाडि मैले सोधें, धरान जान्छ, जाने हो ? दोधारमा भए म सँगैको साथी दमकसम्म मात्र, मैले भने जान त धरान नै जाने हो तर ...... जाने हो भने चढ्नुस् ट्राफिकले रोक्न दिँदैन यहाँ, जाउँ दिदी खाली नै छ बहिनीले भनिन् । फेरी गाडि पनि धरान नै जाने रहेछ ।
चढ्यौ गाडि हामी, ६ बजी नै सकेको थियो, माइती घर र यता घरबाट फोन नबिसाई आइरहेको थियो । हामी छेउमा एउटा दिदी हुनुहुन्थ्यो । गाडि भद्रपुर एयरपोर्टबाट आएको रहेछ, दिदी कहाँ जाने तपाई मैले सोधें र प्रार्थना गरिरहेको थिएँ हे भगवान यी दिदी धरान नत्र इटहरीसम्म मात्रै भए नी जाने हुन्, दिदीले उत्तर दिइन् उर्लावारी, गाडि अगाडि बढ्यो । मेरी साथी उत्रिन् दमकमा, दिदी राम्रोसँग जानु है भन्दै, हवस् भनी बिदा भयौं, गाडि अगाडि बढ्यो र रोक्यो उर्लावारी अलि वरतिर मंगलबारे छेउ उत्रीन् दिदि अब गाडिमा म अनि ड्राइभर, मुटु कति स्केलमा दौड्दै छ थाहा थिएन ब्यागलाई दह्रो समाएको थिएँ, दुई हात जोडेर प्रार्थना गर्दै थिएँ फेरी सम्झिएँ, ड्राइभरको भर हुँदैन मुटु त्यो भ्यान भन्दा कयौं छिटो दौड्दै थियो र गाडि अगाडि बढ्यो म पछाडिको सिटमा थिएँ, धरानमा कहाँ जाने बैनी ?
मैले उस्को प्रश्नको जवाफ दिए बरगाछी, को छ त्यहाँ फेरी प्रश्न सोध्यो माइतीघर हो जवाफ दिएँ, ए.. चेली पो हुनुहँदो रहेछ थोरै मुटुको बेग घट्यो तर थोरै मात्र ...... मुटुको बेग घटेको मात्र के थियो पथरीको जङ्गलमा घ्याच्चै रोकियो मुटु होइन गाडि, अन्य गाडिहरु पातला भएका थिए ७ः३० भै सकेको थियो मोबाइल पुरै बन्द, पुषको महिना बाहिर अँधेरो त्यो घटेको मुटुको धड्कन फेरी दौडिन थाल्यो एकैछिन है बहिनी म बाहिर गएर आउँछु झन् डर लाग्यो।
‘काम दिने भयो' हत्तनपत्त ब्यागबाट झिकेर हातमा राखे केही मुटुलाई सान्त्वना दिंदै थियो त्यो चक्कूले, ड्राइभर आयो मुटु ढुकढुक भै रहेको थियो अनि भन्यो चेली अगाडि बस्ने हो की ? होइन दाई पछाडि नै ठिक छ, भेनको अगाडि पट्टी राखेको बक्सबाट बिस्कुट समाउन चै समाए तर खाइन कतै वेहोस पार्ने दवाई त हालेको छैन नी भनेर म एकदमै डराएको थिएँ किनकी मपनि यहि समाजमा हुर्किएकी एउटी केटी थिए अनि हाम्रो समाजमा एउटा उखान छ कि ‘छोरी मान्छेको इज्जत सियोको टुप्पामा हुन्छ' यसै कुराले डर अझै बढ्दै थियो । गाडि अगाडि बढ्यो त्यो भन्दा छिटो मेरो मुटु दौडियो । मोबाइल बन्द, हातमा चक्कू मन भित्र कत्ति धेरै डर । ड्राइभर बोल्दै थियो म उसको जवाफ दिदै थिए । गाडि इटहरी पुग्यो थोरै मुटु दौडन कम हुँदै गयो तरहरा हँुदै फेरी जङ्गल सुरु भयो ।
सेउती पुल हँुदै तीनकुनेमा पुलिसको चेकिङ्ग थियो । गाडि रोकियो कहाँबाट आउनु भएको ड्राइभरले जवाफ दियो । भद्रपुर एयरपोर्टबाट आएको सर, वहाँ चै को हो ? मेरो चेली,घर आइपुग्न लागेको थियो मेरी चेली भन्ने जवाफले मन खुसी पनि भएको थियो । बरगाछी आइपुगे दाई मलाई यहि रोकिदिनु मैले भने घर कता हो बैनी घरमै पुर्‍्याइ दिन्छु राती भइसक्यो फेरी तपाइको सामान पनि छ । मैले बाटो देखाए उसले घरमै पुर्‍्याई दियो सामान पनि बोकेर भित्रै पुर्‍्याइ दियो अनि मेरो मम्मीलाई हेर्दै भन्यो आमा बहिनी ल्याइदिएको छु । चिया त खाएर जानु दाईलाई अनुरोध गरें, गाडि भाडा झिकेर दिए तर लिन मानिन । भाडामा गाडि चाहिए सम्पर्क गर्नु भन्दै उनले कार्ड दिदै गए जति शब्दले भन्यो धन्यवाद त्यो भन्दा धेरै मनले साँच्चै आफ्नै दाई भेटे झैं लाग्यो ।
अनि सोच्न बाध्य बनायो के सबै ड्राइभर त फटाहा नहुँदा रहेछन् नी ! यदि उसले फटाई गर्नु नै थियो भने मैले हातमा राखेको चक्कूले मलाई बचाउँथ्यो होला त ? हाम्रो समाजमा धेरै पेशाहरु छन् ड्राइभर, डक्टर, इन्जिनियर, प्रहरी, अफिसमा काम गर्ने कर्मचारी, विभिन्न क्षेत्रमा आवद्ध विभिन्न पेशाका मान्छेहरु तर पनि विशेष गरी ड्राइभर र प्रहरी पेशालाई अलि नराम्रो दृष्टिकोणले हेरिन्छ अरु कुरा त थाहा छैन, केटीसँगको सस्म्बन्ध र अनैतिक सम्बन्धका विषयमा जोडेर हेर्ने गरेको पाइन्छ अनि त्यहि समाजमा हुर्किएका हामी ड्राइभर र प्रहरी पेशालाई मात्र हामी अनैतिक सम्बन्धमा हुने पेशाको रुपमा हेर्ने गर्छौ के ब्यक्ति र पेशा फरक कुरा हाईन र ? एउटा ब्यक्तिको चरित्र उसको पेशामा नै गएर जोडिएको हुन्छ त ? के सबै मानिस पेशाले गर्दा नै खराब हुन्छन् त ?
के हामीले सबै मानिसलाई उसको ब्यवहारले भन्दापनि उसको पेशाले मूल्याङ्कन गर्ने हो त ? ड्रभिङ्ग पेशा र प्रहरी पेशा बाहेक अन्य पेशाका मानिस खराब या अनैतिक सम्बन्ध राख्ने हुदैनन् त ? के यो दुनियामा दुइटी श्रीमती ल्याउने र अनैतिक सम्बन्ध राख्ने ड्राइभर र प्रहरी मात्र हुन् त ? एउटा ब्यक्ति खराब हुँदा नै सबै संस्था र संगठन नै खराब हुन्छ त ? के प्रहरी र ड्राइभर देखि बाहेक अरुले अनैतिक सम्बन्ध राख्दैनन् होला त ? केही महिना अघि ब्यापारीलाई विर्तामोडको विभिन्न होटलमा पक्राउ गरियो भन्ने समाचार पनि सुनियो के ति पनि ड्राइभर या प्रहरी थिए त ? राजनैतिक दलका विभिन्न सभासदलाई पनि विभिन्न परिस्थितिमा भेटियो भनेको समाचार पनि सुन्छौ के ति पनि ड्राइभर र प्रहरी मात्र हुन् त ? रेडियोमा कार्यक्रम प्रस्तुत गर्ने जोडी बाटोमा गाडि भित्र नै पक्राउ परेको समाचार पनि त सुनेको, हिजो अस्ति भर्खरै धरानको पञ्चकन्या स्कूलका शिक्षकले १४ वर्षे बालिकालाई अश्लिल म्यासेज पठाएको खबर पनि भर्खरै बाहिर आएको थियो के ति पनि ड्राइभर र प्रहरी हुन् त ?
औषधि गर्न गएकी बुहारी डाक्टरसँग राती होटलमा भेटियो भन्ने समाचारले त झनै सामाजिक सञ्जालल नै भरिएको थियो के ति पनि ड्राइभर या प्रहरी नै हुन् त ? पेशा वा कुनै पनि संगठन आफैमा खराब हुँदैन त्यहाँ जसले त्यो पेशामा संगठनमा हुन्छन् उसको चरित्रले कहिकाहीँ त्यो पेशालाई खराब देखाउँछ । खराब त्यतिबेला देखाउँछ जब एउटा प्रहरी वर्दीमा केटी जिस्काउँछ, अनैतिक सम्बन्ध राख्छ, शिक्षकले पढाउदा केटीलाई हातले सुम्सुम्याउदै अनैतिक कार्य देखाउछ हो त्यतिबेला पेशा नै खराब देखिन्छ ।
केही ब्यक्तिको ब्यक्तिगत गुणका कारण पुरै पेशा र संगठन खराब भन्न मिल्छ र ? हास्य कलाकार दिपकराज गिरीसँगको मैले एउटा अन्तरवार्तामा मैले सोधेंकी थिएँ, फिस्स हाँसेर जवाफ दिएका थिए ‘कुनैपनि काम गर्दा मनबाट गर्नुपर्छ सफल भइन्छ र श्रद्धा र भावकासाथ गर्नुपर्छ' वहाँले भन्नु भएको थियो काम आफैमा सानो र नराम्रो हुदैन यदि खलासी काम नै किन नगरियोस् तर ड्राइभरले सधैं त्यही खलासीलाई खोजोस् जसले जुन काम गर्छ मनै देखि गरोस् एकदम राम्रो लागेको थियो कुनै ब्यक्तिको ब्यक्तिगत ब्यवहारले पुरै पेशालाई खराब देखाउछ, शिक्षक, प्रहरी, कर्मचारी, ड्रइभर, ब्यापारी, पत्रकारीता यी त वस पेशा हुन् यी कहिल्यै खराब हुनसक्दैन खराब त ति हुन् जो यसमा सवार हुन्छन् ।
पेशालार्ई मर्यादित बनाउने जिम्मा त्यहि ब्यक्तिको हो जो त्यो पेशामा सम्लग्न छ । आफ्नो कामलाई राम्रो बनाउने हो या नराम्रो बनाउने हो जिम्मेवारी पनि त्यहि ब्यक्तिको हो त्यसैले आफ्नो कामलाई मर्यादित बनाउ अरुले सम्मान गरेन भनेर विभिन्न टिकाटिप्पणी गर्नु गर्नु भन्दा आफ्नो कामलाई आफैले मर्यादित बनायँदा कसो होला ? त्यसैले आफ्नो कामलाई सम्मान पनि गरौं ।