16 Baishak, 2074 | 29 April, 2017 Saturday
कवितामा रमायो लमजुङ
2017-04-19 | तीतोपाटी

लमजुङ जिल्लाको भोटेओडारमा रहेको भोटेओडार सार्वजनिक पुस्तकालयले २०७४ बैशाख १ गते राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रम सुन्दरबजार नगरपालीकामा रहेको भक्तिनमुना मा.विको स्वर्ण महोत्सव तथा नयाँ वर्षको अवसरमा आयोजना गरिएको थियो । 
उक्त प्रतियोगितामा देशभरबाट सयौँको सङ्ख्यामा कविताहरू आएका थिए । आयोजकले छनौटमा परेका पचासवटा कवितालाई वाचनसहितको प्रतियोगितामा समावेश गराएको थियो । जहाँ सत्तरी वर्षदेखि भर्खरका युवा कविहरूले प्रतियोगितामा भाग लिएका थिए । 
सत्तरी बर्षका कवि होतृराज ढकाल देखि विश्वबन्धु अधिकारी, श्रीप्रसाद ढकाल , तिर्थराज अधिकारी, खुसिराम डौलिया, भिष्मकान्त अधिकारी, नवराज ढकाल, रेशम थापा, बन्दना अधिकारी, लक्ष्मी चौलागाइ, दुर्गामान तामाङ ,स्थिर घिमिरे, अस्मिता थापा आदिले प्रतियोगितामा भाग लिएका थिए ।
वृद्ध कविहरूले युवा कविलाई हौसला र जोश भरिदिएको कवि सुधा भट्टराईले बताइन् । उक्त प्रतियोगितामा सङ्गीता खत्री, सन्जु पंगेनी, पूर्णदेवी न्यौपाने, विष्णु बहादुर गुरुङ्ग र केशव थापा मगरले क्रमश ः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरे । विजेताहरूले क्रमश ः प्रमाणपत्रसहित दश हजार, सात हजार, पाँच हजार, दुई जना सान्त्वनाले पन्ध्र सय राशीको पुरस्कार प्राप्त गरेका थिए । 
स्थानिय समाजसेवी एवं पूर्व शिक्षक कृष्णकान्त खनाल “भोटेओडार सार्वजनिक पुस्तकालय बिशेषत सबै बिधार्थी ,अभिभावक र शिक्षक र पढाइमा रुचि हुनेहरुको लागि खोलिएको र कुनैं दात्र्रीसंस्थाहरुबाट पुस्तक वा अन्य आवश्यक भौतिक सामाग्री र आफ्नैं भवनकोलागि पहल भैराखेको र  सहयोग प्राप्त भएमा अझै धेरै बौद्धिक कार्यक्रमहरु संचालन गर्न सकिने कुरा बताउँछन् । ”
सहभागि कविहरूले राष्ट्र, राष्ट्रियता, देशप्रेम, प्रकृति, सामाजिक विसङ्गति, नारीका समस्या र विभेदका कुरालाई कवितामा उठाएका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै कवि तुलसी भट्टराईले लमजुङमा कविताको राम्रो सम्भावना रहेको बताएका थिए । वृद्धदेखि युवा कविहरूको सक्रिय सहभागिताले कवितामा लमजुङ भविष्य उज्जवल रहेको उनको भनाइ थियो । 
बालबालिका, युवा, वृद्ध, शिक्षक, कर्मचारी, व्यवसायीहरूको बाक्लो उपस्थितिले कविहरूलाई थप ऊर्जा प्रदान गरेको थियो । लमजुङबासीले पाँच, छ घन्टा ज्यादै उत्सुक भएर कवि र कवितालाई साथ दिएका थिए । 
साहित्यकार तथा समाजसेवी अन्जना पौडेल भावुक हुँदै भन्छिन् “लमजुङको माटोमा यस्तो उर्वरा शक्ति छ , हावामा मोहकता छ ,जहाँ सृजनाहरु उमारिरहन साहित्यको आकासमा उडिरहन र भावनाको नदिमा पौडिरहन प्रेरित गरिरहन्छ ।”

कविहरूले कविता वाचन गर्दै गर्दा कति लठ्ठी टेकेर आएका वृद्ध, वद्धाहरूका आँखाबाट बलिन्द्र आँशु वर्षिएको थियो । कति कविताका प्रत्येक हरफमा तालीको फोहोरा छुट्थ्यो । सहभागिहरूको यस किसिमको उत्साहले लमजुङबासीमा कविता प्रतिको गहिरो लगाव र प्रेम रहेको समालोचक तर्कना शर्माले बताइन् । कार्यक्रममा अतिथि कविका रूपमा बम बहादुर थापा जिताली, गोविन्द बहादुर कुँबर, हरि गौतम, अनिता यात्री, रञ्जु दाहाल, लक्ष्मी मुडभरी, छवि अनित्य, अन्जना पौडेल, सुदेश सत्याल लगायतका बीस जना कविहरूले आफ्ना कविता वाचन गरेका थिए । श्रोताबाट तर्कना शर्मा, छवि अनित्य, सुदेश सत्याल, र सङ्गीता खत्रीका कवितालाई पुन वाचनका लागिसमेत आग्रह गरिएको थियो । 
कार्यक्रममा लमजुङ स्थित भोटेओडार सामुदायिक रेडियो, भोटेओडार सेवा समाज, भोटेवडार सार्वजनिक पुस्तकालय, नेपाल सामुदायिक पुस्तकालय, भक्ति नमुना माध्यमिक विद्यालय, साहित्यिक संस्थाहरू,मुक्तक मन्च लमजुङ,  हिमालचुली कला साहित्य प्रष्ठिान, लमजुङ टेलिभिजन , भोटेओडार सेवा समाजका अध्यक्ष शेषकान्त खनाल, भक्तिआदर्श बहुमुखी क्याम्पसका अध्यक्ष धु्रव .ब. कुँवर, भक्ति नमूना मा.वि. बिधालय व्यवस्थापन समितिका अध्यक्ष किर्तिनमथ सापकोटा , नरहरि अधिकारी, द्धारिका मिश्र, नेत्र बहादुर कुँवर, रामजी कँडेल, रघुनाथ मिश्र  भक्ति नमूना बिधालय स्थित अपाङमैत्री बिशेष शिक्षा कार्यक्रमकी संयोजक सुश्री मिरा खनाल, भक्ति नमूना मा.वि. बिधालयका प्र. अ , समाजसेवी र शिक्षिका श्रीमती मन्जु वाग्ले (खनाल),कमला श्रेष्ठ ,सुन्दर बजार भोटेओडार नगर बिकास समितिका अध्यक्ष नारायण बहादुर कुँवरको आदिको बाक्लो उपस्थिति रहेको थियो । 
भक्ति नमूना मा. विका भूपू प्र.अ श्री गोविन्द बहादुर कुँबरले“ यस किसिमको प्रतियोगिताले कविहरुमा थप उर्जा थपिएको बताउनु भयो ।” 
सभापतिको आसनबाट बोल्दै  वसन्तराज खनालले यस किसिमका प्रतियोगिताले विद्यार्थीमा थप हौसला थप्ने बताए । यसले लमजुङको शैक्षिक, प्राज्ञिक तथा पर्यटकीय उन्नयनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । उक्त कार्यक्रम गजल तथा गीतकार थकित यात्रीको सञ्चालनमा मिठा गजलकासाथ कार्यक्रम सम्पन्न भएको थियो ।