10 Ashad, 2074 | 24 June, 2017 Saturday

वर्षमा तीन–चार पटकजति नेपाल फर्किरहने भएकाले खासै विदेशिएको अनुभव नभएपनि थाहै नपाई म विदेशमा बस्न थालेको १४ वर्षजति भइसकेछ । जापानबाट काठमाडौं सिधा विमानसेवा नभएपनि मैले दिल्लीको ट्रान्जिट भने प्रयोग गर्ने गरेको थिइनँ । त्यहाँ नेपालीलाई हुने भनी यदाकदा सुनिने झमेलाबाट टाढै रहन प्राय:जसो म भारतीय विमानस्थलको प्रयोग गरी उनीहरूकै विमानबाट नेपाल फर्कने गरेको थिइनँ । तर गत महिना लगातार दुईपटक नेपाल आउँदा भारतीय विमान प्रयोग गर्नुपर्ने स्थिति आयो । त्यो किनभने मित्र प्राध्यापक महेन्द्र पी. लामा आफ्ना विद्यार्थीका निम्ति जवाहरलाल नेहरू विश्वविद्यालयमा मेरो एउटा लेक्चर राख्न चाहन्थे, नेपाल जाने समयको मौका छोपेर । लामा नेपाल–भारतबीचका सन्धिहरूको पुनरावलोकनसम्बन्धी प्रबुद्ध समूहमा भारतीय पक्षको प्रतिनिधित्व गर्ने एक सदस्य हुन् ।
धेरैपछिको भारतीय विमानस्थलको प्रयोगले उनीहरूबारे जे सुनिन्थ्यो, ती एकादेशको कथा भएझैं महसुस भयो । विमानस्थल पनि नयाँ बनेपछि आफ्नो रूपै फेरेर निकै फराकिलो, आवश्यक सुविधासहित अपांगमैत्री तथा कर्मचारीहरूको व्यवहारमा पनि नम्रता स्पष्टै झल्किन्थ्यो । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलकै जस्तो थियो, मुम्बईको विमानस्थलको अवस्था पनि ।
जति–जति अरूका विकास र समृद्धिको सफलता देखिन्छ, त्यति नै आफ्नो मुलुकले प्रचुर सम्भावनाका बाबजुद अपेक्षित प्रगति गर्न नसक्दा मन अमिलो हुँदोरहेछ । भारतका दुई विमानस्थलको प्रयोगपछि ठिक त्यस्तै भयो, आफ्नो एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल विकसित मुलुकको सामान्य रेलवे स्टेसनजत्तिको पनि नभएको यथार्थबोध गर्नुपर्दा । हाम्रो विमानस्थलको कमजोर संरचना र सामान लिने ठाउँमा हुने भद्रगोलबाट खर्चिनुपर्ने डेढ घन्टाजतिको समयले यसलाई नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा चिनाउँदा नै देशको दुरावस्थाको अनुमान गर्न धेरैलाई गाह्रो पर्दैन । यस्ता व्यापक कमजोरीका बाबजुद यसपटक भारतीय विमानको प्रयोगले दु:खी बनाएको चाहिँ उनीहरूकै सुरक्षाकर्मीद्वारा हाम्रो विमानस्थलमा यात्रुहरूमाथि गरिने सुरक्षा जाँच प्रकरणले हो । नेपाली सुरक्षाकर्मीले यात्रुहरूको सामान र शरीर जाँचेर प्रस्थानको अनुमति दिएपनि भारतीय विमानको प्रवेशमार्गमा पुन: एकपटक दोहोर्‍याएर सुरक्षा जाँच गराइँदो रहेछ ।

सन् २००१ सेप्टेम्बर ११ को आतंककारी आक्रमणले विश्वब्यापी रूपमै विमानस्थलहरूमा सुरक्षा चासो बढाएको छ । मुलुकहरू सकेसम्म प्रविधिको प्रयोगमार्फत खतरा न्युनीकरणमा लागिपरेका छन् । तर सुरक्षा जाँचलाई चुस्त बनाउने नाममा कुनै पनि मुलुकका उडान भर्ने विमानहरूले विमानस्थलमा सबै सुरक्षा पार गरी आएका यात्रुलाई पुन: विमानको प्रवेशमार्गमा आफ्नै सुरक्षा संयन्त्र परिचालन गरी जाँच्ने गरेको कम्तीमा मलाईचाहिं अनुभव छैन । तर जे अनुभव थिएन, त्यही भोग्दै थिएँ म आफ्नै विमानस्थलभित्र । यसले भारतीयहरूले हाम्रो सुरक्षा व्यवस्थाप्रति गरेको अविश्वास स्पष्टैसँग बोध गर्न सकिन्छ । यस्तो सुरक्षा जाँचका सन्दर्भमा जिज्ञासा राख्दा उनीहरूले सन् १९९९ मा काठमाडौंबाट भएको भारतीय विमान अपहरणलाई सम्झन्छन्, जुन उनीहरूको बुझाइमा नेपालको कमजोर सुरक्षा जाँचकै कारण हुनगएको थियो ।

करिब १८ वर्ष पहिले इण्डियन एयरलाइन्सको उडान नम्बर आईसी–८१४ दिल्लीका लागि प्रस्थान गर्दै थियो । दिल्ली पुग्नु अगावै उक्त विमान अपहरणमा पर्‍यो, यात्रुको भेषमा उडानमा रहेका केही बन्दुकधारीद्वारा । त्यो अपहरणमा पाकिस्तानी आतंककारी संगठनको हात थियो । जेलमा रहेका इस्लामिक आतंककारीहरूलाई भारतले नछुटाएसम्म विमानलाई अपहरणमुक्त नगर्ने अडानले तत्कालीन समयमा तरङ्ग नै ल्याइदिएको थियो । दुबई हुँदै आतंककारीले विमानलाई अन्त्यमा तालिवाननियन्त्रित अफगानिस्तानको कान्दहारमा अवतरण गराई आफ्ना माग पूरा गराउने सर्तमा यात्रुलाई मुक्त गरेका थिए ।

यस घटनाले नेपाली विमानस्थल कति सुरक्षित र अन्तर्राष्ट्रिय स्तरको छ भन्ने बहस व्यापक बन्दै गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारलाई निकै ठूलो दबाब परेको थियो । फलस्वरूप भारत सरकारले यात्रुको सुरक्षा खातिर भन्दै आफ्नै सुरक्षा संयन्त्र तथा पदाधिकारीहरूमार्फत विमानको प्रवेशद्वारमा नेपालको सबै सुरक्षा जाँच पूरा गरी आएका यात्रुमाथि पुन: उस्तै सुरक्षा जाँच गर्नेगरी प्रस्ताव राख्यो । त्यसै त भारतसमक्ष आफूलाई मनोवैज्ञानिक र हरेक दृष्टिले कमजोर ठानी उनीहरूकै आशिर्वाद लिन लागिपर्ने हाम्रा राजनीतिक नेता तथा दलहरू, त्यसमा पनि त्यसपटक त उनीहरूको विमान नै नेपाली विमानस्थलबाट अपहरण भएको घटना । स्वाभाविक रूपले भारतबाट अघि सारिएको प्रस्तावलाई अस्वीकार गर्ने सामथ्र्य थिएन, नेपाल सरकारसँग । फलत: आज उक्त घटना भएको १८ वर्ष भइसक्दा समेत भारतीय विमानमार्फत उडान भर्ने यात्रु दोहोरो सुरक्षा जाँच गराउन बाध्य छन् । हेर्दा यो केवल थप एउटा सुरक्षा जाँचजस्तो लागेपनि वास्तवमा यसले नेपाली सुरक्षा संयन्त्रको सुरक्षा जाँच भरपर्दो नभएको अनि समग्रमा हाम्रो विमानस्थल मापदण्डअनुरूपको नभएको सन्देश अन्तर्राष्ट्रिय रूपमै प्रवाह गराउन भूमिका खेलेको छ ।

आफ्नो विमान अपहरणबाट पीडित भारत भएर हेर्ने हो भने उनीहरूको सुरक्षा सरोकार जति स्वाभाविक छ, त्यति नै अस्वाभाविक छ, उनीहरूद्वारा नै गराउने जाँचचाहिँ । यदि नेपाल सरकार जिम्मेवार हुन्थ्यो भने हाम्रो विमानस्थललाई सुरक्षित अनि भरपर्दो बनाउन सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउने र अध्यागमन विभागलाई अझ बढी चुस्त बनाउन तदारुकता देखाउनुपर्ने हो । यसो गर्नुको सट्टा सायद विदेशी सुरक्षा संयन्त्रलाई निम्तो दिनु सहज लागेको हुनुपर्छ, जसले निरन्तर १८ वर्षसम्म सार्वभौम अनि स्वाभिमानी नेपालीको शिर झुकिरहेको छ ।

कांग्रेस, एमाले, राप्रपा र उनीहरूबाट टुक्रिएर बनेका मधेसी तथा देशै बदल्छु भन्दै १० बर्षसम्म युद्धको नेतृत्व गरेका माओवादी केन्द्र र त्यसबाट टुक्रिएर बनेका अन्य कुनै पनि समूहले भारतीय सुरक्षाकर्मीले नेपालको विमानस्थलमा अड्डा जमाइआएको बिषयलाई आपत्तिजनक ठानेका छैनन् । पर्यटन मन्त्रालय सम्हालेका मन्त्रीहरू बेलाबखत विमानस्थलको छड्के जाँचमा निस्किए पनि भारतीय विमानमार्फत प्रस्थान गर्ने यात्रुले भोग्नुपरेको दोहोरो सुरक्षा जाँच र त्यसले उडाइरहेको नेपाली विमानस्थलको धज्जीमाथि उनीहरूका आँखा परेको देखिन्न । दिल्लीलाई ‘मक्का–मदिना’ ठान्दै धेरै नेता उतै प्रस्थान गर्छन्, तर विमानको प्रवेशमार्गमा पुन: गरिने सुरक्षा जाँचले उनीहरूलाई कहिल्यै चस्काउँदैन । किनभने क्षणिक स्वार्थका खातिर देशको शीर उच्च राख्ने विषय यिनीहरूको प्राथमिकतामा छैन, सायद । यसो भनेर हाम्रो विमानस्थलको सुरक्षा जाँच चुस्त र पर्याप्त छ भन्न खोजिएको होइन । त्यहाँको दुरावस्था छर्लङ्गै छ । विमानस्थलका कर्मचारी तथा प्रहरीको मिलेमतोमा सुन र लागुपदार्थ तस्करी हुन्छ । सुरक्षित विमान उडान र अवतरणको जिम्मा लिएका सरकारी ध्वजावाहककै कप्तान गैरकानुनी ढंगबाट विदेशी मुद्रा ओसार्न विमानस्थलको दुरूपयोग गर्छन् । झुक्किएर त्यस्ता व्यक्तिहरू पक्राउ परिहाले पनि दलका नेतृत्वहरू नै उनीहरूलाई छुटाउने ‘सेटिङ’ मिलाउन कसरत गर्छन् ।

एकातिर भारतीय सुरक्षाकर्मीहरू यो या त्यो बहानामा नेपाली उड्डयन प्राधिकरण अनि राजनीतिक नेतृत्वको नालायकीपनको फाइदा उठाई विमानस्थलको अति संवेदनशील क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदैछन् भने अर्कोतिर नेपालका सबै विमानमाथि यथेष्ट सुरक्षा सावधानी अपनाउन नसकेको भन्दै झन्डै चार वर्षदेखि युरोपेली आयोगको उडान सुरक्षासम्बद्ध निकायले पनि आफ्ना २८ वटा मुलुकमा प्रतिबन्ध लगाएको छ । नेपाली विमानलाई असुरक्षितको बिल्ला लगाई गरिएको प्रतिबन्धलाई केही वृत्तबाट हल्का ढंगले लिइएपनि त्यसले नेपालको छविमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने लक्षण देखापर्न थालिसकेका छन् । वर्तमान सुरक्षा अवस्थाले आफूहरूलाई प्रतिबन्ध बाहेक अन्य विकल्प नरहेको बताइरहँदा त्यसमा सुधार गर्नुको सट्टा हाम्रा मन्त्री तथा सम्बद्ध निकायचाहिँ बच्चाले बाबुआमालाई अनुनय गरेझैं नेपाली विमानलाई उक्त सूचीबाट हटाउन युरोपेली आयोगसमक्ष बेलाबखत अनुरोध गर्छन् । यदि सरकार र त्यसमा पनि नागरिक उड्डयन प्राधिकरण जिम्मेवार, जवाफदेही अनि संवेदनशील हुन्थे भने यस्तो नियति हाम्रा विमानहरूले भोग्नुपर्ने थिएन । भोगिहाले पनि ५/५ वर्षसम्म निरन्तरता पाउने थिएन ।

अन्त्यमा, राष्ट्रवाद, स्वाधीनता, स्वाभिमान अनि सार्वभौमिकताको चर्चा गरेर कहिल्यै नथाक्ने हाम्रा नेताहरूलाई आफ्नो विमानस्थलमा अन्तिम सुरक्षा जाँच भारतीयहरूले गर्दा कस्तो लाग्दो हो ? नेपाली सार्वभौमिकतालाई त्यस्तो सुरक्षा जाँचले गिज्याइरहेको भान हुन्छ कि हुँदैन होला ? एउटा सार्वभौम मुलुकको अन्तर्राष्ट्रिय विमानस्थलमा अपनाइएको सुरक्षा व्यवस्थाप्रति नै अर्को मुलुकले विश्वास गर्दैन र आफ्नै संयन्त्र परिचालन गर्छ भने त्यसले नेपालको शीर निहुरिएको ठान्न मिल्ने कि नमिल्ने ? यसलाई भारतीय हस्तक्षेप भनी विरोध गर्न त सजिलो होला, तर आफ्नो सुरक्षा संयन्त्रलाई चुस्त र भरपर्दो अनि प्रभावकारी नबनाएसम्म अरूमाथि मात्रै दोष थुपारेर आफूलाई चोखो बनाउन सकिने स्थिति छैन । अत: हामीले प्रभावकारी सुरक्षा व्यवस्था गर्नुको बाबजुद भारतले नेपालमाथि अविश्वास गरी उनीहरूकै सुरक्षा संयन्त्र परिचालन गर्न खोजिराख्यो भने त्यसलाई अस्वीकार गर्ने या कठोरतापूर्वक उनीहरूको विमानमाथि नै रोक लगाउन सक्नेगरी आफ्नो सेवालाई विश्वसनीय, सुदृढ अनि गुणस्तरीय बनाउन सक्नुपर्छ ।
-कान्तिपुरबाट