10 Ashad, 2074 | 24 June, 2017 Saturday
उमाकान्त पाण्डे दुबई, वैशाख ४ – युएईमा कामका लागि आएका ४० जना नेपाली समस्यामा परेका छन् । 
म्यानपावर कम्पनीले भने जस्तो सेवा सुविधा यहाँको कम्पनीले नदिए पछि उनीहरुले आन्दोलन गरेका थिए । ललितपुरको कुपोण्डोलस्थित गल्फ इनोभेसन प्रालि मार्फत दुवईमा रहेको क्लिन्को क्लिनिङ सर्भिसेस तथा विल्डिङ मेन्टिनेन्स कम्पनीमा आएका नेपाली समस्यामा परेका हुन । 
समस्यामा पर्नेमा १५ महिला र २५ जना पुरुष छन् । समस्यामा परेका ४० जना र उनीहरुको उक्साहटमा लागेका तथा कम्पनीमा काम गर्न नचाहने अन्य कामदारलाई समेत कम्पनीले नेपाल पठाउन लागेको छ । 
कम्पनीले २३ जनालाई नेपाल पठाइ सकेको छ । तत्कालै ११ जना कामदार नेपाल पठाउन लागेको र बाँकी १३ जनाको भिसा रद्द गर्ने प्रक्रियामा रहेको छ । 
आन्दोलन गर्ने, युनियन बनाउने र काम गर्न नखोज्ने सबै कामदारलाई पालैपालो नेपाल पठाउने बताइएको छ । कम्पनीका विभिन्न शाखामा झण्डै एक हजार जना नेपाली कार्यरत छन् । 
कम्पनीले विभिन्न क्षेत्रमा कामदार सप्लाई गर्दै आएको छ । कामदारहरुले कम्पनीका म्यानेजरलाई हातपात गरेको कम्पनीको आरोप छ । तर कामदारले भने त्यसो नगरेको बताएका छन् । 
समस्यामा परेका पुरुष कामदारहरु सोनापुरमा र महिला कामदार अलकुजमा रहेको क्याम्पमा बस्दै आएका छन् । उनीहरुलाई खानाको समेत समस्या भएकोले अवस्था जटिल बन्दै गएको छ । 
‘कम्पनीले सम्झौता अनुसार काम र तलब नदिएकाले हामीले कुरा राख्यौं । तर सुनुवाई नभएपछि कामै छोडेर बस्यौं’ पीडितहरुले उज्यालोसँग भने । 
उनीहरु दुई महिना देखी काम नपाएर बसिरहेका छन । कामदारले सुरुमै काम छोडेर बसेकोले महत्वपूर्ण र ठूला प्रोजेक्ट गुमेको भन्दै अब काममा लगाउन नसक्ने कम्पनीले बताउँदै आएको छ । 
नेपालबाट म्यानपावरले खानबस्न सहित ८ घण्टा काम र ९ सय न्युनतम तलब भनेर पठाएको थियो । तर कम्पनीले १२ घण्टा काममा लगाएको र काम गरेको तलब पनि पूरै नपाएको पीडितहरुले गुनासो गर्दै आएका छन् । 
म्यानपावरले नेपालको कानुन अनुसार न्युनतम ९ सय दिनै पर्ने भएकाले श्रम स्वीकृतिका लागि त्यसो गरेको कम्पनीले बताउँदै आएको छ । तर युएई आएपछि कामदारसँग ९ सय तलब र १२ घण्टा काम भनेर कम्पनीले सम्झौता गराएको थियो । 
कतिपय कामदार भने नेपाल फर्किन भन्दा न्युनतम तलबमै भए पनि काम गर्ने मनसायमा पुगेका छन् । आन्दोलनका लागि अन्यलाई उकासेको भन्दै दुई जनालाई सुरुमै नेपाल पठाउने प्रयास कम्पनीले गरेको थियो । 
अन्य कामदारको समेत समस्या समाधान नगरेसम्म आफू नेपाल नफर्किने भने पनि आन्दोलनको अगुवाइ गरेका दिनेश राईलाई जर्बजस्ती नेपाल पठाएको थियो । 
राईलाई नेपालबाट म्यानपावर कम्पनीले आन्दोलनको अगुवाइ नछाडे नेपालमा एयरपोर्टमै झरेको दिन ज्यान मार्ने धम्की समेत दिएको थियो । त्यही कुरा राईले दूतावासका श्रम काउन्सिलर भेष बहादुर कार्की र श्रम सहचारी हिरा कुमारी यादवलाई सुनाएका थिए । 
दूतावासको पहलमा राईको समस्या समाधान भए पनि बाँकीको समाधान भएको छैन । यसबारे कामदारले दूतावासमा निवदेन समेत दिएका थिए । उनीहरु समस्या लिएर यहाँको श्रम अदालत समेत पुगेका थिए । 
दूतावासकै पहलमा कम्पनीका अधिकारीहरुसँग कुरा भएको थियो । कम्पनीमा छलफल र वार्ता हुन थालेपछि अदालतको मुद्दा कामदारले फिर्ता गरेका थिए । तर कम्पनीले भने अहिलेसम्म कुनै पहल नगरेको कामदारको भनाइ छ । 
‘कामका लागि आएका नेपालीहरुले नेपालमा जस्तो आन्दोलन गर्ने, हातपात गर्ने र काममै नगई समुह बनाउने, सबैलाई एकै ठाउँमा काममा लगाउन भन्दै दबाब दिएर आन्दोलन गरेकाले समस्या भएको हो’ श्रम सहचारी हिरा कुमारी यादवले भन्नुभयो ।  
समस्यामा परेका नेपाली कामदारले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहको टोलीलाई दुवईमा भेटेर समस्याबारे जानकारी गराएका थिए । पीडितहरुले अलकुज र सोनापुर क्याम्पमा बसेका कामदार भेट्न अनुरोध गरे पनि टोली कम्पनीको आबुधाबी शाखामा रहेको मजदुर क्याम्प पुगेर फर्केको थियो ।