16 Baishak, 2074 | 29 April, 2017 Saturday

तोयानाथ उपेक्षित, बैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई कुन स्तरको विवेकशिल मानव भन्ने भनेर सोच्नु पर्ने देखिएको छ । कर्मचारीतन्त्रले आफूप्रतिकुल राजनैतिक निर्णय भयो भने कसरी जनताका विरुद्ध खेल्छन र राजनैतिक कर्मीलाई जनविरोधी काम गरेको भन्ने आरोप लगाउन पर्ने अवस्था बनाई दिन्छन भन्ने कुरा हालैका गतिविधीहरुले देखाएको छ ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सम्बन्धित मुलुकले घरेलु कामदारसँग सम्बन्धित ठोस् कानुन नबनाउँदासम्म र नेपालसँग द्धिपक्षीय श्रम सम्झौता नगर्दासम्म खाडीमुलुकमा नेपाली घरेलु कामदार पठाउने कार्य पूर्णत बन्द गर्न मन्त्रिपरिषद्लाई निर्देशन दिए पछि विमानस्थलको सेटिंगमा समस्या भएर धेरैको दक्षिणा थाप्ने लोटा खाली भयो । सयौं महिला घरेलु कामदार दैनिक रुपमा सेटिंगबाट खाडीमा जाने क्रम बन्द हुँदा श्रम विभाग र अध्यागमन विभागको उच्च तहको कर्मचारी तन्त्रले तिल्मिलाएर विवेक गुमाएको देखियो । यसले सेटिंग संयन्त्रको स्पाईडर च्यानल कस्तो थियो भन्ने बुझ्न गाहो छैन ।


संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितीले छुटटीमा घर आउँदा दुतावासको पत्र लिएर आउनेलाई पनि रोक्नु भनेर निर्देशन दिएको कतै देखिंन्दैन । श्रम समितीको खाडी दौडाहाताका पनि छुट्टिीमा जाने महिलाहरुलाई आउन दिन हुन्न भन्ने कसैले सोच्नै नसक्ने कुरा भएकाले यहाँ स्थित विभिन्न छलफलहरुमा कतैबाट सवाल उठेनन । अवैधबाटो र सेटिंगका विरुद्धमा प्रवाशमा चर्को आवाज उठेकै हो । तर छुट्टीको विरोधमा होईन । त्यो छुट्टीमा जान्छ जो खुशी छ । जो आफ्नो कमाई र काममा रमाएको छ, तीनीहरुलाई आउन नदिनुको मकसद के हो ? के श्रम समितीले यीनलाई पनि रोक्नु भनेको छ ? निर्देशक पाण्डेको यति संर्किणता र दुराग्रही निर्णयको पछाडीको कारण जे भए पनि गरिब महिला कामदारहरुको रोजीरोटी खोस्ने अधिकार यो देशमा कसैलाई छैन । केही दिन नसक्नेले कसैको जीवन र जीविका खोस्ने नैतिक वा कानूनी अधिकार राख्दैन तर यो देशमा जसले जे गरे पनि हुन्छ जस्तो देखिएको छ । यस्तो बदमासीको कुनै उपचार छैन ? मानवअधिकार र कानूनीराजको विन बजाउनेहरुले विमानस्थलमा रुदै फर्कन बाध्य छुट्टीमा कटाएर कर्मथलो फर्कन हिडेका चेलीहरुको आँशु झरेको किन देख्दैनन ? विमानस्थलका बार्दलीमा कुदेको मुसा देख्ने पत्रकारका क्यामाराले यीनका आँशु बगेको फोटो किन खिच्दैनन ? यो देश हुकुमले चल्छ कि कानूनले प्रधानमन्त्री ज्यु ?


दुतावासले घर विदामा गएर फर्कन पाउ भनेर माग गर्न आउने महिला कामदारहरुको निवेदन लिन्छ । यसबापत कुवेतको हकमा उनीहरुका स्पोन्सरले १२ केडी अर्थात लगभग नेपाली ४ हजार तिर्छन । स्पोन्सरलाई बोलाएर उसको प्रमाण पत्र राखेर करारनामा बनाईन्छ र ती शर्तहरुमा हस्ताक्षर गरे पछि चिठ्ठी दिईन्छ । त्यतिमात्र होईन ती महिला कामदारको खुशी र ईच्छा सोधिन्छ अनि मात्र पुन सोहि भिषामा आउन दिनु भन्ने आशयको पत्र लेखिन्छ । के यो भन्दा पक्का ग्यारेन्टी अरु कुनै भिषामा हुन्छ । जसले व्यवहारत ती घरधनीसँग पारिवारिक नाता जाडिसकेकी हुन्छिन र आउने ईच्छा देखाउँछिन । यीनलाई रोक्ने नेपाल सरकार वा मन्त्रालयका सम्बन्धित हुकुम चलाउने निर्देशकहरुले अर्को जागिर दिन सक्छन ? कुनै कागजको सम्झौता भन्दा पनि आफ्नो काम, दाम र सुरक्षासँग अभ्यास गरिसकेकी महिलाको सुरक्षित रोजगारीलाई नविकरण गर्ने ईच्छा बुझेर नेपाली कुटनैतिक नियोगबाट गरिएको सिफारिस माथिको बुझाई के हो ? हुँदैन भनेर रोक्ने श्रम विभागका निर्देशकको तर्क के हो ? "आफ्नो थैलीको तुना दह्रो गरी बाध्नु अर्कालाई चोर नलगाउनु" भनेझैं उनले नक्कली सिफारिस पनि आए भनेको पढ्न पाईयो । आजको जमनामा अनलाईनबाट एकैछिनमा नक्कली र सक्कली छुट्टाउन सकिन्छ भन्ने कुरा दुनियालाई थाहा छैन झै गरेर आफै वेबकुफ बन्दैछन महोदयहरु । किन कु तर्कको सहारामा नांगिदाछन देश चलाउने हाकीमहरु ? बैदेशिक रोजगार विभागका निर्देशकका तर्कहरु सुन्दा नितीगत भ्रष्टचार वा अन्य कुनै गैर कानूनी आयका श्रोतहरु खुलाउने उपायको खोजीमा यहाँ तिनको विवेक यति दुष्ट र क्रुर हुँदो रहेछ जबकी कानून र नितिहरुलाई जसले जसरी पनि व्याख्या गर्ने छुट यो देशमा राख्छ । बर्षौसम्म कमाएर नेपाल पठाएको रेमिट्यान्स खाए पनि थप रेमिट्यान्स दिने तयारी ति महिला घरेलु कामदारहरुको योग्यता र म सुरक्षित छु भन्ने प्रमाणपत्रले कुनै अर्थ राख्दैन । विचरीहरुको खाईपाई आएको जागिर खोस्न मनमा कति पनि संकोच नराख्नेहरु अन्तत आफै कति योग्य छन भन्ने प्रश्नको घेरामा देखिन्छन । म र मेरो रोजगार सुरक्षित छ भन्ने प्रमाणमा शंका हो र ? श्रम समितीसँगको बदला लिने अरु पनि उपाय होलान, फेरी किन ति अबलाहरुको जीवनसँग खेलवाड गरिन्छ ? उनीहरुलाई विमानस्थलमा रोक्ने काम गर्ने श्रम विभागका निर्देशक र अध्यागमनका हाकिमहरु खान पाउँदा जे पनि गर्न सक्ने सहजकर्ता बनिदिन्छन तर नपाउदा रोर्बट जस्तो भएर काम गर्छन मानौ उनीहरु कानून भन्दा एक अक्षर दाँयाबायाँ जान्दैनन । वाह मेरो देश !!


अरु कुनै देशमा कर्मचारी शायदै होलान यस्ता । दिन धेरै बिते परकाष्टका तर यतिका दिनसम्म के ठिक के गलत ? नत परराष्ट, नत श्रम मन्त्रीहरु चुईक्क बोलेका छन ।
खाडीमा काम गर्ने घरेलु महिला कामदारको नेपाल यात्रा मंगल ग्रहको जस्तो वान वे हुँदै गएको छ । जान सकिने तर फर्कन नसकिने । खाडीमा भएका घरेलु महिला कामदारहरु यो खबरले रोईरहेका छन । घर जानु छ तर कसरी ? आउन सरकारले दिंदैन । घरमै बसौ त परिवार पाल्ने दायीत्व र जिम्मेवारी छ । उनीहरुको खाईपाई आएको जागिर जसरी खोसिन्दैछ तीनका आँशु विभागका हाकिम र मन्त्रीलाई लागोस ।


नराम्रो अवस्थामा परेकाहरुले दुतावास धाउदैनन । उनीहरु चार पर्खाल भित्र छन या त भागेर बाहिर ईलिगल बनेका होला या त जेलमा वा कसैको रखैल भएर बाँचेका होलान । दुतावासमा पत्र माग्न आउनेहरुको पछाडी सरकार हात धोएर लाग्नुको बदला ती खाडीमा विचल्लीमा परेकाहरुको खोजी गर्न लागोस् । विचल्लीमा पर्नेले वा नराम्रो घर बेहोरेर फर्कनेले घर फर्कदा चिठ्ठी बोक्दैनन । मालिकको करले उसको खुशीका लागि पत्र लिन गए पनि मन नपरेको घरमा नेपाल पुगेपछि फर्कर्दैनन । यति जावो सामान्य ज्ञानको कुरा बुझेर पनि बुझ पचाउने घुसिया विभागका हाकिमहरु मुर्दाबाद ! यतिका दिनसम्म हाकिमको बरबरता नदेख्ने अंन्धो मन्त्रीहरु मुर्दाबाद !! घुस्याहा विमानस्थलका कर्मचारी मुर्दावाद !!!