16 Baishak, 2074 | 29 April, 2017 Saturday

पाँच वर्षअघि आमाको काजकिरिया गर्न खोज्दा पुरोहित नमानेपछि उनले आमाको किरिया गर्न पाइनन् । आमाको काजकिरिया उनका बाबु एक्लैले गर्नुपर्‍यो । चैत ३१ गते बुबाको मृत्युपछि रमादेवीले बाबुको किरिया आफैं गर्ने भनेपछि पुरोहितले गराउन मानेनन् र आफन्त दाजुभाइले हेर्न हुँदैन भन्दै कोरा र ढिकुरोसम्म पनि आएनन् ।
छोरीले किरिया गरेको हेर्न हुन्न भन्दै पारिवारिक पुरोहित आउन नमानेपछि रमादेवीले अन्यत्रैबाट पुरोहित बोलाई बाबुको काजकिरिया सुरु गर्नुभयो । अविवाहित ५२ वर्षीया रमादेवीले व्रतबन्ध गरी जनै लगाउनुभएको थियो । उहाँ अहिले जनै फेरेर कपाल काटी कोरामा बस्नुभएको छ । ‘आमाको काजकिरिया गर्न पुरोहितले दिएनन्, मैले बुबाको अन्यत्रैबाट पुरोहित झिकाएर किरिया गरेकी हुँ', उहाँले भन्नुभयो, ‘छोरीले गर्ने काजकिरिया हेर्न हुन्न भन्दै दाजुभाइ कोही पनि आएनन् ।'
सभापोखरी गाउँपालिका-१ धुपुका हालै मात्र बित्नुभएका दाताराम भेटवालका पाँच बहिनी छोरीमध्ये रमादेवी पनि एउटी हुनुहुन्छ । कोरा बस्नुभएकी उहाँले १२ दिनमा ढिकुरो फुटाएर काजकिरिया सकी एक वर्ष जुठो बार्ने बताउनुभयो । गाउँका पुरोहितले साथ नदिएपछि सभापोखरी-२ बाट घनश्याम दाहाललाई काजकिरिया गर्न बोलाएर ल्याउनुभएको छ । ५ छोरीमध्ये ३ जना जीवित छन् ।
विवाहित विष्णुमाया दुलाल र मेनुका अधिकारी पनि उहाँसँगै झोक्रेर बस्नुभएको छ । आमाको काजकिरिया गर्दा ब्राह्मणले छुन र छोरीलाई गर्न नदिएपछि रमादेवी कोरामा मात्र बसेको बताउनुभयो ।
‘समाज शिक्षित र परिवर्तन भए पनि यो गाउँका अग्रजको मनस्थिति र सोच परिवर्तन नहुँदा छोरीप्रतिको व्यवहार अझै उस्तै छ', अधिकारकर्मी केशकुमारी कार्कीले बताउनुभयो, ‘एकै परिवारको भएपछि छोराछोरी दुवै समान हो । विवाह, काजकिरिया गर्ने समान अधिकार हुन्छ, यो कुरा समाजले बुझ्न आवश्यक छ', उहाँले भन्नुभयो । तीन दाजुभाइमध्ये साइँला र जेठाका छोरा छन् भने रमादेवी कान्छा भाइ दातारामकी छोरी हुन् । दातारामका दाजुभाइ खलकका कोही पनि रमादेवी बसेको कोरामा आएनन् । रमादेवीले बुबाको शवको अन्तिम संस्कार गर्नुभयो, चितामा दागबत्ती दिनुभयो, कपाल खौरेर जनै र सेतो कपडा लगाएर कोरामा बस्नुभएको छ । उहाँले वर्षदिनसम्म बर्खान्त बार्ने बताउनुभयो ।
-अन्नपूर्णपोष्ट