10 Ashad, 2074 | 24 June, 2017 Saturday

सम्झनामा सीमित ‘तिरिरी मुरली’ देखि ‘वारि जमुना’ सम्म

बि.सं. २०७३ सालले बिट मार्ने बेलामा नेपाली फिल्मका साथै गीत–संगीत र साहित्य क्षेत्रको समीक्षा गर्ने क्रम सुरु भएको छ । यो वर्ष नेपाली चलचित्र उद्योगमा केही चलचित्रले राम्रो व्यापार गरे भनेर निकै उत्साहको अवस्था देखियो ।

तर, अर्कातिर केही कलाकार तथा संगीतकर्मी गुमाउनुपरेको घटनाले चलचित्र तथा संगीतक्षेत्रका साथै आम दर्शक–श्रोतालाई दुःखी बनायो ।
खेमराज गुरुङ

चर्चित गायक खेमराज गुरुङको गत भदौ ९ गते अल्पायु (४२ वर्ष) मै निधन भएको थियो । जण्डिस भएपछि चाबहिलस्थित मेडिकेयर अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा निधन भयो । गुरुङको कलेजो लगायत अन्य अंगमा संक्रमण भएको चिकित्सकको भनाइ थियो ।

ठेट पूर्वेली भाका गाउन खप्पिस खेमराजले ०५८ सालमा निकालेको एल्बम ‘जीवन भाग २’ भने उनको सांगीतिक करिअरमा ठूलो वरदान भइदियो । एल्बमको ‘वारि जमुना पारि जमुना’ बोलको गीतले अत्यधिक चर्चा पायो । उनको स्वरमा ‘जीवन’, ‘जीवन भाग–२’, ‘अनमोल’, ‘धरान–पोखरा’, ‘सोल्टी’, ‘आलुतामा’, ‘ढाक्रे’ लगायत एल्बम बजारमा आएको छ ।
सुनील बर्देवा

एउटा गायकको निधनको शोक आलो रहिरहँदा अर्का गायकले पनि श्रोतालाई दुःखी बनाए । गायक, एरेन्जर एवं गिटारिष्ट सुनील बर्देवाको भदौ २९ गते ४४ वर्षको उमेरमा निधन भयो ।

गायक गुरुङ जस्तै उनको पनि जण्डिसकै कारण निधन भएको थियो । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा उनको निधन भएको थियो ।

बानेश्वरमा रहेको ब्ल्याक पेपर स्टुडियोमा एरेन्जरको रुपमा कार्यरत सुनीलको ‘गोरेटो अनि उस्तै छ गल्ली’ बोलको गीत निकै चर्चित भएको थियो । गायकहरु निमा रुम्बा, नविन के भट्टराई, राजु लामा लगायत गायकका गीतहरु पनि उनले एरेन्ज गरेका थिए ।
आरपी भट्टराई

‘लाजालाम’ उपनामले दर्शकको मनमा बसेका हास्य कलाकार आरपी भट्टराइको मंसिर २४ गते प्राण त्यागे । आफू अभिनीत पछिल्लो चलचित्र ‘छक्का पञ्जा’ सिनेमाहलमा चलिरहेको बेला उनी बिदा भए ।

विराटनगरका बासिन्दा भट्टराई प्रेसर र सुगरका बिरामी थिए । बेलुका खाना खाएर सुतेका भट्टराई बिहान मृत भेटिएका थिए ।

‘वडा नम्बर छ’ लगायतका चलचित्रमा काम गरेका भट्टराई हास्य टेलिश्रृङ्खला ‘तीतो सत्य’ मा काम गरेपछि ‘लाजालाम’ को उपनामले चर्चित थिए । उनी अभिनयका साथै गायनमा समेत सक्रिय थिए ।
विष्णुभक्त फुयाँल

वरिष्ठ रंगकर्मी विष्णुभक्त फुयाँलको पुस १८ गते निधन भयो । काम गर्दागर्दै मर्न पाइयोस् भन्ने इच्छा राख्ने उनको नाटकमा अभिनय गर्दागर्दै ७९ वर्षको उमेरमा प्राण त्यागे ।

संस्कृतविद् सत्यमोहन जोशीको नाटक ‘याज्ञवल्क्य’ मा जनक राजाको भूमिकामा अभिनय गर्ने क्रममा राष्ट्रिय नाचघरको स्टेजमा ढलेका फुयाँललाई वीर अस्पताल पुर्‍याए लगत्तै मृत घोषणा गरिएको थियो । सुगर, प्रेसर, बाथ, हर्निया लगायत स्वास्थ्य समस्याबाट पीडित थिए ।

६ दर्जनभन्दा बढी नाटकमा अभिनय गरेका फुयाँल ‘अविरल बग्दछ इन्द्रावती’ टेलिशृंखलामा गम्भीरे माझीको भूमिकामा देखिएपछि चर्चामा आएका थिए ।

पछिल्लो समय ‘तीतो सत्य’ मा आधुनिक गेटअपसहित प्रस्तुत भएका फुयाँल तन्नेरीदेखि वृद्ध कलाकारको समेत प्रिय बनेका थिए । उनी नाटक लेखक समेत हुन् ।
यमबुद्ध (अनिल अधिकारी)

युवा पुस्ताको ढुकढुकी बनेका र्‍यापर यमबुद्ध गत माघ १ गते बेलायतस्थित आफ्नो निवासको बाथरुममा मृत भेटिए । बेलायतमा श्रीमतीसँगै बस्दै आएका अधिकारीको २९ वर्षको उमेरमा निधन भएको थियो ।

एक दशकअघि नेपाली र्‍याप संगीतमा प्रवेश गरेका अधिकारीको ‘मेरो जुत्तामा’, ‘साथी’, ‘आउँदै छु म’, ‘फुटपाथ मेरो घर’लगायत एल्बम निस्किएको छ । उनलाई ‘साथी’ एल्बमले चर्चामा ल्याएको थियो ।
पन्नाकाजी

गायक एवं संगीतकार पन्नाकाजी शाक्यको गत माघ १२ गते ताहाचलस्थित निवासमा निधन भयो । उनी ८५ वर्षका थिए ।

२००७ सालमा रेडियो नेपाल प्रवेश गरेका पन्नाकाजीको ‘तिरिरी मुरली बज्यौ वनैमा’ गीत चर्चित छ । ‘किन किन तिम्रो तस्बिर’, ‘लोलाएका ती तिम्रा आँखा’, ‘नौ लाखे तारा’ लगायत गीत गाएका उनको आधुनिक, भजन, स्वदेशगान गरी चार सयभन्दा बढी गीतहरु रेकर्ड भएका छन् ।
महेश पाल्पाली

एक समय रेडियोबाट निकै बज्ने ‘हे आमा नेपाल तिमीलाई, संसारकै राम्री बनाउँला’ गीतका गायक महेश पाल्पालीको कात्तिक १८ गते निधन भयो । बुटवल दीपनगरस्थित आफ्नै घरमा उनको निधन भएको थियो । वास्तविक नाम दौलतविक्रम शाह रहेका पाल्पालीले रेडियो नेपालमा एक सय ५० भन्दा बढी गीत गाए पनि ‘हे आमा‘ सहित तीन वटा मात्र रेकर्ड भएका छन् ।

‘हे आमा‘ बोलको गीत पाल्पालीले ०२२ सालमा भारतको कलकत्तामा रेकर्ड गराएका थिए । शब्द र संगीत समेत आफ्नै रहेको यही गीतबाटै  उनको चर्चा चुलिएको थियो ।

पाल्पाको तानसेनमा जन्मिएका उनी काठमाडौंमा चर्चा कमाएर जीवनको उत्तरार्द्ध बुटवलमा बिताउँदै आएका थिए । पाल्पाबाट उनी ०३० सालतिर बुटवल पसेका थिए । काठमाडौं आएपछि भने विभिन्न संगीतकर्मी व्यक्तिहरुसँगको सरसंगतिबाट उनको संगीतयात्रा अघि बढेको थियो ।

- अनलाइनखबर