3 Poush, 2074 | 18 December, 2017 Monday

 अनिल यादव-‘परिवार महत्त्वपुर्ण  कुरामात्र होइन, यो त सबथोक हो ।’ हलिउड अभिनेता माइकल जे. फक्सले परिवारबारे गरेको टिप्पणी हो यो । संसारभर सुखको सबैभन्दा ठूलो स्रोत परिवारलाई मानिन्छ ।  तर, मान्छेको जीवनमा हुने निराशा र हारको सबैभन्दा ठूलो स्रोत पनि परिवारिक समस्यासँगै जोडिएको हुन्छ । भनिन्छ– फ्रेन्च सम्राट नेपोलियनको पतनमा उनको पारिवारिक विखण्डन र विचलनको पनि हात थियो ।  

    परिवार पनि लोकतान्त्रिक संस्था हो । एक जनाको मात्र हैकम चल्नु राम्रो होइन । परिवारभित्र सबैको सम्मान हुनुपर्छ । सबैको कुरा सुनिनुपर्छ ।– केदारभक्त माथेमा, शिक्षाविद्

परिवार टुक्रने कारण
बाउछोराबीच वैमनस्य, दाजुभाइबीच पानी बराबरका घटना हाम्रो समाजमा नौलो होइन । विविध कारणले हाम्रो समाजमा पारिवारिक एकता कमजोर हुँदै गइरहेका छन् । जोडिनुको सट्टा भत्किरहेका छन् परिवारहरू । समाजशास्त्री डा. मीना उप्रेती भन्छिन्, ‘पछिल्लो समय धेरैजसो परिवारमा निराशावादी चिन्तन बढेको छ, एकताभन्दा बढी विचलन छ ।’ केही महिनाअघि एउटा अनुसन्धानका क्रममा डा. उप्रेती थुप्रै परिवारकहाँ पुगेकी थिइन् । त्यतिबेला थुप्रै महिलाले परिवारलाई बलियो बनाउन समय र प्रेम महत्वपूर्ण रहेको बताएका थिए । ‘धेरै महिलाले मलाई ‘पैसामात्र होइन, समय पनि चाहियो, प्रेम पनि गर्नुपर्याे भन्दै गुनासो पोखेका थिए,’ उनले सुनाइन् ।

त्यसो त पछिल्लो समय आर्थिक कारणले परिवारहरू टुक्रिरहेका छन् । अंशबण्डा गरेर छुट्टिरहेका छन् । अन्तरजातीय बिहेलाई स्विकार्न नसक्दा पनि परिवारभित्र विग्रह निम्तिइरहेको छ । समाजशास्त्री उप्रेती भन्छिन्, ‘स–सानो कारणले परिवार टुक्रिरहेको छ । जस्तैः रक्सी खाएको कारण, अर्कोसँग बोलेको कारण, तरकारीमा नुन नहालेको, जागिर छोडेका आदि–इत्यादी ।’

वास्तवमा किन भत्किरहेको छ त परिवार ? टुक्रिएका मनहरूलाई सोधे पुग्छ । काठमाडौँ, बौद्धकी मनु लिम्बू (नाम परिवर्तन) चार वर्ष लामो वैवाहिक सम्बन्धलाई तोडेर दुईवर्षे छोरासँगै बस्दै आइरहेकी छिन् । ‘सबैभन्दा ठूलो कुरा प्रेम रहेछ,’ उनले आफ्नो परिवार भत्किनुको कारण खुलाइन्,  ‘हाम्रो तीनजनाको सानो परिवार अहिले छैन । श्रीमान कता छन्, मलाई थाहा छैन । स–साना कुरामा निहुँ खोज्थे । परपुरुषसँग कुरा गर्नासाथ शंका गर्थे । हामी आमा–छोरालाई समय फिटिक्कै दिँदैनथे । बिहान घरबाट निस्केको मान्छे राति १२ बजे फर्किन्थे । अत्याचार सहनुभन्दा त छुट्टिनै नै जाती भनेर यस्तो निर्णय गरेँ ।’

विश्वासः सबैभन्दा ठूलो कुरा
वास्तवमा जग, पिलर र चार भित्ताले मात्रै घर बलियो बन्दैन । यसलाई बलियो बनाउन त सबैभन्दा पहिले परिवार बलियो हुनुपर्छ । र, परिवार बलियो बनाउनलाई एउटै छतमुनि बस्ने सदस्यबीच प्रेम र विश्वास हुनु आवश्यक छ । अभिनेत्री करिश्मा मानन्धरको धारणा पनि यस्तै छ । उनले व्यवसायी विनोद मानन्धरसँग बिहे गरेको २५ वर्ष पूरा भइसकेको छ । उनकी छोरी २२ वर्षकी भइसकिन्, जो अमेरिकामा छिन् । ‘परिवार बलियो बनाउने सबैभन्दा ठूलो औजार विश्वास हो,’ उनी भन्छिन्, ‘हामी एकअर्काप्रति कुनै अनावश्यक शंका गर्दैनौँ । यही कारण हाम्रो परिवार बलियो छ । मलाई जसरी मेरो काम गर्ने स्वतन्त्रता छ, त्यसै गरी श्रीमान् र छोरीलाई पनि छ । हामी सबै एकअर्कालाई प्रेम, सम्मान र विश्वास गर्छाैं । मेरो त घरमा विनोदजीले नुनदेखि सुनसम्मका सबै काम गर्नुहुन्छ । त्यसैले होला, हाम्रो परिवार अहिलेसम्म ‘इन्ट्याक्ट’ छ ।’

पैसा र परिवार
भनिन्छ, घर कति ठूलो र भव्य छ भन्दा पनि कति खुशी छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । र, घर त्यतिबेला खुशी हुन्छ, जतिबेला परिवारका हरेक सदस्य खुशी हुन्छन् । मान्छेका यति धेरै आवश्यकता हुने आजको युगमा आर्थिक अभावमा परिवार सुखी र खुशी हुन सक्दैन । पैसाका कारण परिवारहरू टुक्रिरहेका उदाहरण हामी गाउँशहरमा प्रशस्तै देख्न सक्छौँ । ‘परिवारका सबै सदस्य आत्मनिर्भर हुँदा परिवार बलियो बन्छ,’ गायक रामचन्द्र काफ्लेको तर्क छ, ‘विश्वास र प्रेम त छँदैछ, हाम्रो परिवार बलियो हुनुको अर्को कारण यो पनि हो । म र मेरी श्रीमती दुवै बराबर कमाउँछौँ । त्यसो भएपछि भान्छादेखि छोरीको हेरचाहसम्मको काम उनले मात्र गर्नुपर्ने किन ? त्यसैले हामी दुवै घरको काम पनि बराबर गर्छौं । उनी खाना पकाउँछिन्, म भाँडा माझिदिन्छु ।’ रामचन्द्रले गायिका जुनु काफ्लेसँग बिहे गरेको १० वर्ष भइसक्यो । काठमाडौँस्थित सिफलमा उनीहरूको सुखी परिवार बस्दै आइरहेको छ ।

    परिवारभित्र संवाद भएन भने आफ्नो मनको कुरा प्रष्टसँग राखिएन भने, ठूलाबडाले जे भन्दा पनि सहेर बस्यो भने समस्या उत्पन्न हुन्छ ।– माल्भिका सुब्बा, पूर्व मिस नेपाल


यता अभिनेता मदनकृष्ण श्रेष्ठ पनि परिवार बलियो बनाउनका लागि आर्थिक पक्षलाई विशेष ध्यान दिनुपर्ने बताउँछन् । ‘जथाभावी खर्च गर्दा परिवारलाई फाइदा पुर्याउँदैन,’ उनी भन्छन्, ‘क्षमताअनुसार पैसा खर्च गर्नुपर्छ । आर्थिक व्यवस्थापनमा ध्यान दिँदा आफू पनि उक्सिइन्छ, परिवार पनि उक्सिन्छ ।’
त्यसो त परिवार मजबुत बन्न परिवारका सबै सदस्य जागिरे हुनुपर्छ भन्ने होइन । जागिर नगरेर घरको काम गर्नेहरूको योगदान पनि जागिरेहरूको भन्दा कम हुँदैन । शिक्षाविद् केदारभक्त माथेमा भन्छन्, ‘परिवारमा बाहिरको काम गर्ने चाहिँ ठूलो, घरको काम गर्ने चाहिँ सानो भन्ने हुँदैन । बाहिरको भन्दा घरको काम गर्नेको योगदान परिवारका लागि ठूलो हुन सक्छ । त्यसैले दुवैलाई बराबर सम्मान हुनुपर्याे।’

समझदारी अनिवार्य
विचार सबैको एउटै कहाँ हुन्छ र ? सामान्य झैभगडा त परिवारभित्र भइहाल्छ ! तर, त्यसैलाई ठूलो विषय बनाउनु चाहिँ राम्रो होइन । परिवारलाई मजबुत बनाउने एउटा कडी समझदारी पनि हो । पूर्व मिस नेपाल तथा मिडिया पर्सनालिटी माल्भिका सुब्बाले रियाज श्रेष्ठसँग बिहे गरेको वैशाखमा पाँच वर्ष पुग्दैछ । उनीहरूको एक जना छोरा छ । छोरा तीन महिनाको हुनासाथ उनी आफ्नो कामकाजमा फर्किन् । ‘परिवारमा एकअर्काबीच समझदारी नभएको भए यो सब कहाँ सम्भव हुन्थ्यो र ?’ माल्भिका भन्छिन्, ‘म लिम्बू, मेरो श्रीमान् नेवार । नेवार संस्कारमा भोजभतेर धेरै हुन्छ । सबै भोजमा म सहभागी हुन पाउँदिनँ । किनकि, म कामकाजी महिला हुँ । मेरो यो बाध्यतालाई श्रीमान् र उहाँका आमा, बुबा, हजुरआमा सबैले बुझ्नुभएको छ ।’ उनको अहिले छ जनाको परिवार छ । त्यसो त उनको माइती पक्ष अन्तरजातीय परिवार हो । उनकी आमा पाण्डे, बुबा लिम्बू, सानी भाउजू क्षत्री हुन् । उनको परिवारसँग राणा, गुरुङ, तामाङ, राई, अमेरिकन, सिंगापुरियन सबै जोडिएका छन् ।
यता, अभिनेता मदनकृष्ण पनि परिवारलाई बलियो बनाउन समझदारी र अनुशासन आवश्यक ठान्छन् । ‘घरका सदस्यबीच समझदारी हुनुपर्छ,’ उनी भन्छन्, ‘सबै अनुशासित हुनुपर्छ । सानोले ठूलोलाई र ठूलोले सानोलाई माया र सम्मान दुवै गर्नुपर्छ ।’

जतिसक्दो धेरै संवाद
माल्भिका भन्छिन्, ‘परिवारभित्र संवाद भएन भने आफ्नो मनको कुरा प्रष्टसँग राखिएन भने, ठूलाबडाले जे भन्दा पनि सहेर बस्यो भने परिवारभित्र समस्या उत्पन्न हुन्छ ।’

समाजशास्त्री डा. मीना उप्रेती परिवारलाई बलियो बनाउन परिवारभित्र पर्याप्त संवाद हुनुपर्ने बताउँछिन् । ‘अहिले त परिवारका मान्छेले नातागोता चिन्नै छोडिसके, सदस्यबीच अन्तरक्रिया नै हुन छाडिसक्यो,’ उनी भन्छिन्, ‘एकलाई अर्कोसँग बोल्ने फुर्सद नै छैन । यसले परिवार बलियो बनाउन सक्दैन । परिवारभित्र संवाद एकदमै आवश्यक छ ।’

परिवारभित्रको अर्काे समस्या जेनेरेसन ग्याप (पुस्तान्तर) हो । एउटा पुस्ताले अर्को पुस्ताका चालचलन, व्यवहार शैली र विचार तथा धारणालाई स्विकार्न सकिरहेको छैन । हजुरबुबाको कुरा बुबाले र बुबाको कुरा छोराले नसुन्दा परिवारभित्र समस्या उत्पन्न भइरहेको छ । अभिनेता मदनकृष्ण श्रेष्ठ यसमा सहमत छन् । तर, आफ्नो परिवारमा भने यो समस्या नभएको उनी बताउँछन् । अमेरिकामा जन्मिएकी १२ वर्षकी नातिनीसँग उनको पर्याप्त संवाद हुन्छ । बाआमाको सहारा बन्ने भनेर १३ वर्षदेखि अमेरिकामा बस्दै आएका उनका छोरा, बुहारी र नातिनी तीन वर्षअघि स्वदेश फर्किएका हुन् । ‘अरू अमेरिका पुगेपछि त्यतै बस्छन्, मेरा छोरा–बुहारी बुढेसकालमा आमाबाको रेखदेख गर्ने भनेर यतै आएका छन्,’ मदनकृष्णले भने, ‘युवावस्थामा उसको अमेरिका जाने रहर थियो, त्यसकारण परिवार छरिएर बस्नुपरेको थियो । फेरि एक भएका छौँ । त्यसैले जतिसक्दो धेरै सुखदुःखका कुरा गर्छौं ।’ सानी नातिनीसँग उनको सम्बन्ध सुमधुर छ । उनी नातिनीको रुचि÷अभिरुचिको ख्याल गर्छन् । कहिले नातिनीसँग ब्याडमिन्टन त कहिले फुटबल पनि खेलिदिन्छन् । उनको आत्मकथा चाँडै सार्वजनिक हुँदैछ । भर्खरै उनकी नातिनीले ‘तपाईंको आत्मकथामा मेरो नाम छ कि छैन ?’ भनेर प्रश्न गरिन् । ‘किन लेख्ने तिम्रो नाम ? भनेर सोध्दा उनको जवाफ रोचक लाग्यो,’ मदनकृष्णले सुनाए, ‘‘मैले तपार्इंका लागि अमेरिका छोडेर आएँ, त्यही भएर ।’ र, आत्मकथामा यो संवाद पनि राख्दैछु ।’ मदनकृष्णले ४३ वर्षअघि यशोदा सुवेदीसँग बिहे गरेका थिए ।
 
महŒवाकांक्षाले फाइदा पुर्याउँदैन
फिल्म निर्देशक ऋषि लामिछाने र सरीता लामिछानेको १९ वर्षअघि बिहे भएको हो । बिहेपछि नै सरीता हिरोइन भएकी हुन् । नेपाली फिल्म जगत्मा आज पनि उनीहरूलाई उदाहरणीय जोडी मानिन्छ । उनीहरूको आठ वर्षकी छोरी छिन् ।
‘परिवारभित्र कोही पनि महŒवाकांक्षी हुनुभएन,’ परिवार बलियो बनाउने टिप्स दिन्छिन् सरीता, ‘हाम्रो परिवारमा पनि ऋषिजी र मैले देख्ने सपना कहिल्यै ठूलो र उडन्ते भएन । हामी स–साना खुशीमै रमाउँछौँ । त्यसैले हाम्रो परिवार खुशी र सुखी छ । लामो समयदेखि टिकिरहेको छ ।’
शिक्षाविद् केदारभक्त माथेमा महत्वकांक्षाले परिवारलाई फाइदा नपुराउने बताउँछन् । ‘परिवारभित्र हाम्रो उद्देश्य भनेको बिल गेट्स हुने अर्थात् धनाढ्य हुने भन्ने हुनुभएन,’ उनी भन्छन्, ‘यस्ता महत्वकांक्षा र पैसाको प्यासले परिवारको खुशीमा हानि पुर्याउँछ ।’

शिक्षा महत्त्वपूर्ण
शिक्षाविद् माथेमा परिवारभित्र शिक्षालाई अत्यावश्यक ठान्छन् । ‘परिवारका हरेक सदस्य शिक्षित हुनुपर्छ,’ उनी भन्छन्, ‘त्यसो भयो भने सचेतनाको स्तर राम्रो हुन्छ । परिवारभित्र राम्रो संवाद हुन सक्छ । राम्रो संवादले सम्बन्धलाई घनिष्ठ र बलियो बनाउँछ । र, समझदारी पनि बढाउँछ ।’ ४३ वर्षअघि बिहे गरेका उनी  आफ्नो परिवारमा सबैजना शिक्षित भएकाले पनि परिवार बलियो बन्न मद्दत पुगेको बताउँछन् । ‘परिवार पनि लोकतान्त्रिक संस्था हो,’ उनी भन्छन्, ‘एकजनाको मात्र हैकम चल्नु राम्रो होइन । परिवारभित्र सबैको सम्मान हुनुपर्छ । सबैको कुरा सुनिनुपर्छ ।’

    परिवारका सदस्यबीच समझदारी हुनुपर्छ । सबै अनुशासित हुनुपर्छ । सानोले ठूलोलाई र ठूलोले सानोलाई माया र सम्मान दुवै गर्नुपर्छ । –मदनकृष्ण श्रेष्ठ, अभिनेता

शंका खतरनाक हुन्छ
नागरिक परिवारले केही व्यक्तिलाई सोधेको थियो– ‘परिवारलाई बलियो कसरी बनाउने ?’ अधिकांशका भनाइको निष्कर्ष थियो– प्रेम, सम्मान, समझदारी, विश्वास र आत्मनिर्भरताले परिवार बलियो हुन्छ ।
काठमाडौँ, कोटेश्वरकी प्रमिला गौतम भन्छिन्, ‘परिवारमा प्रष्टसँग कुरा राख्न सक्नुप¥यो । सासूले बुहारीलाई छोरीसरह ठान्नुपर्छ र बुहारीले पनि सासूलाई आमाको दर्जामा राख्न सक्नुपर्छ ।’
त्यस्तै, काठमाडौँ, बूढानिलकण्ठका याम बस्नेत शंका परिवारलाई कमजोर बनाउने तŒव भएको बताउँछन् । ‘शंकाले लंका जलाउँछ,’ उनी भन्छन्, ‘यसले परिवारलाई तहसनहस बनाउँछ ।’
नयाँ बानेश्वर बस्ने काभ्रेका केपी भण्डारी रिसले परिवारलाई हानि पुर्याउने तर्क गर्छन् । भन्छन्, ‘रिसले परिवारको सुख खोस्छ । कुनै पनि सदस्यले रिसमाथि नियन्त्रण गर्न सक्नुपर्छ ।’ काठमाडौँ, कीर्तिपुरका अन्जान महर्जन परिवारका सदस्यबीच घमण्ड र अहम्को टक्कर भएन भने परिवार यत्तिकै बलियो हुने बताउँछन् ।
-नागरिकन्युजबाट