16 Baishak, 2074 | 29 April, 2017 Saturday


प्रणय दिवस 

मैलेपनी 
बाले जस्तै प्रेम गरेर 
एकाबिहानै 
पोखरिमा ढुङ्गा हान्न सिकेको छु!

सुम्पेर काखमा दूधे चिचिलो
सिंगो खुसी, सिन्दूर निधारभरी पोथरेर
थोत्रो,रातो साडीमा पहेँलो बर्को ओडेर
आँशुको आहाल छोडेर गएको साँझदेखि 
घर मुन्तिरको बाँसघारीमा
डाङ्ग्रेचरा बास  बस्न छाडेका छन्!  

मेरा बा
हरेक साँझ 
भट्टीपसलमा मनाउछन् प्रणय दिवस!
प्यालाभरी देखिने अनुहार 
मेरी आमाको प्रतिबिम्ब हुन सक्छ।
अनि
प्लेट नजिकैको खुर्सानि,राता गुलाबसंग
जलेको ठुटो चुरोटको अन्तिम सर्को
मेरी आमाको याद हुन सक्छ!
जसरी
चट्याङ्ग पर्दा बाँसघारीमा 
चराहरुको कोलाहल शान्त हुन्छ
तर शान्त हुन सक्दैनन्
छेलोको बलले पँखेटा भाँचिएका मनहरु!
त्यसरी नै
मन भाँचिएपछि मेरा बा
हरेक साँझ मेरी आमाको सम्झनामा 
प्रणय दिवस मनाउछन् भट्टीपसलमा !

हरेक प्रणय दिवसमा 
बाले बाँसघारीमा बोतल हान्न जानेका छन्
मैले पनी 
एक अञ्जुली पहेँलो फूल टिपेर 
पोखरीमा ढुङ्गा हान्न सिकेको छु ।
-स्पन्दन