16 Baishak, 2074 | 29 April, 2017 Saturday

एसीसी इमर्जिङ नेशन्स कपको  पहिलो खेलमा नेपाल पाकिस्तान यू-२३ टोलीसँग ६ विकेटले पराजित भएको छ ।
बङ्गलादेशको शेखकमल स्टेडियममा  नेपालले दिएको १८१ रनको लक्ष्य पाकिस्तानी टोलीले ४६अाैं ओभरमा ४ विकेट क्षतिमा पुरा गर्दे जित हात पारे ।  पाकिस्तानी टोलीका लागि इमाम उलहकले १०४ रन बनाए । उनले १३५ बलमा ९ चाैका प्रहार गरे ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछानेले २-२ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले पहिले ब्याटिङ  गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८० रनको बनाएकाे थियाे ।
नेपालका सुरुवाती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि नेपालका लागि ओपनर सुनील धमला र अनुभवी ब्याट्सम्यान शरद भेषावकरले इनिङ संहालेका थिए ।
ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल ३, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी १४ रनमा पेविलियन फर्किएपछि आएका शरदले सुनीलसँग मिलेर पारी उकासेका थिए । सुनीलले १२६ बलमा ४३ र शरदले ५८ बलमा ३८ रनको योगदान गरे ।
त्यस्तै विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले नेपालको खातामा २२ रन जोडे । उनले ३१ बल खेलेर १ छक्का प्रहार गरे । आरिफ शेखले १६ रनको योगदान गरे
बलिङतर्फ पाकिस्तानका लागि गुलाम मुदासारले ५ र उसामा मिरले २ विकेट लिएका थिए ।
नेपालका कप्तान पारस खड्का स्वास्थ्यमा समस्या आएका कारण टोलीमा समावेश छैनन्। त्यसैगरी शक्ति गौचन, वसन्त रेग्मी र सोमपाल कामी प्रतियोगितामा सहभागी छैनन् भने फास्ट बलर करण केसी पनि स्वास्थ्य समस्याका कारण आराम गरिरहेका छन्।
समूह ‘बी’ मा  रहेकाे नेपालले भाेली आयोजक बङ्गलादेशसँग खेल्नेछ । नेपालकाे समुहमा बङ्गलादेश ,पाकिस्तान र हङकङ छन्।त्यस्तै समूह ‘ए’ मा भने भारत, श्रीलङ्का, अफगानिस्तान र मलेसिया छन्। उक्त प्रतियोगिता करिब चार वर्षपछि हुन लागेको हो। यसअघि सन् २०१३(विसं २०६९/ ७०) मा सिङ्गापुरमा भएको थियो।
पाकिस्तानविरुद्ध नेपालको एक रन
यसअघि नेपालले आफ्नो इनिङ्स सकाएपछि एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आफ्नो साइटमा १७९ रन बनाएको लेखेकाे थियाे । त्यसलार्इ अाधार बनाएर समाचार बनाइएकाे थियाे ।  त्यति नै बेला बंगलादेशमा रहेका नेपाली टिम म्यानेजर रमन शिवाकोटीले आफ्नो फेसबुक पेजमा नेपालले १८० रन बनाएको स्ट्याटस अपडेट गरे।
पछि एसीसीले पनि स्कोर सच्याउँदै १८० रन बनाएको लेख्यो। तर उसले ज्ञानेन्द्रको स्कोर सुधार गरेन। नेपालको अतिरिक्तमा १ रन बढाएर ३४ बनाउँदै कूल रन १८० भएको एसीसीले लेख्यो।
- नयापेजबाट