9 Jestha, 2074 | 23 May, 2017 Tuesday

तीतोपाटी 'उहाँ र मैले दक्षिणकालीमा सँगै मर्ने सँगै बाँच्ने कसम खाएका छौँ त्यसैले अब म पनि मर्छु’ श्रीमानको कतारमै ज्यान गएपछि उदयपुरको त्रियुगा नगरपालिका-१३ की सरिता सदा यस्तै भनेर बर्बराउन थाल्नुभयो ।
केही दिन त आफन्त र छरछिमेकले श्रीमानको मृत्युको खबरले हो भन्ने सोचे तर उहाँले पटक पटक त्यही कुरा दोहो¥याउन थालेपछि आफन्त पनि चनाखो भए ।
‘एक्लै हुन दिएका थिएनौं, के गर्छिन भनेर नियाल्थ्यौं तर बचाउन सकेनौं’ संगीताकी आमाजु इश्वरवती सदाले भन्नुभयो । उहाँले हरि सदासँग प्रेम विवाह गर्नुभएको थियो । त्यो पनि काठमाडौंको दक्षिणकाली पुगेर ।
संगिताका श्रीमान् हरि सदा वैदेशिक रोजगारीका लागि काठमाडौंको फोकस नेपाल म्यानपावरबाट वैदेशिक रोजगारीका लागि २०६९ सालमा कतार जानु भएको थियो ।
कतार पुगेपछि उहाँले श्रीमतीलाई अलमाना एण्ड बोयर बिल्डिङ डब्लुएलएल कम्पनीमा चौकीको काम पर्यो भनेर फोन गर्नुभएको थियो । श्रीमानले पैसा पनि पठाउन थालेपछि उहाँले छोरी उषालाई बोर्डिङ स्कूलमा भर्ना गर्नुभएको थियो । उहाँको समय उषा र उत्तमकै हेरचाह र घर धन्दामै बित्यो । श्रीमान् विदेश गएको १७ महिनासम्म राम्रो रहेको संगीताको परिवारमा त्यसपछि विपत्तिको बाढी नै आयो ।
केहीसम्म अघिसम्मै फोन गरिरहेका श्रीमानको मृत्युको खबर सरिताले सुन्नुपर्यो । ‘त्यसपछि त उनको परिवारको खुशीमा आँखा लागे जस्तै भयो’ इश्वरवती सदाले भन्नुुहुन्छ । हरिको मृत्यु भएको २७ दिनपछि उहाँको शव काठमाडौं आयो । श्रीमानको शव लिन संगीता पनि देवर र ज्वाईंसँगै काठमाडौं आउनुभयो । श्रीमानको मृत्युपछि संगीताको व्यावहारले झस्किएका परिवारका सदस्यले उहाँको निगरानी गरिरहे । ‘हामी सबैलाई अप्रिय घटना हुन्छ कि भन्ने शंका थियो त्यसैले उहाँको झोला समेत जाँच गरेका थियौं’ ज्वाई कुमार सदाले भन्नुभयो ।

काठमाडौंबाट त उनीहरुले सरितालाई श्रीमानको शवसँगै घरमा पुर्याए । बाटोमा जस्तै घर पुगेपछि पनि बेला बेला होसमा आउने अनि बेला बेलामा बेहोस हुन थाल्नुभयो । हरिको शव हेर्न जम्मा भएका गाउँलेसँगै सबै आफन्तको ध्यान त्यतै गयो । सरिता कहाँ छिन् ? के गर्दैछिन् भन्ने ख्याल गर्न पाएनन् ।
त्यही बेला सरिताले विष खानुभयो । उहाँकी जेठाजुकी छोरीले कोठाको ढोका बन्द गरेको देखेपछि हल्ला त गरिन् तर सरितालाई बचाउन भने सकेनन् । कोठाको ढोका फोरेर हेर्दा विष खाएको देखेपछि आफन्तले गाइघाटको जिल्ला अस्पतालमा पु¥याए । तर अस्पतालले नसक्ने भनेपछि आफन्तले विराटनगर लान हिँडाए तर बाटैमा ज्यान गयो ।
सरिताले श्रीमानसँग वाचा पूरा गर्ने सोचले छोराछोरीको बिचल्ली भएको छ । उषा अहिले २ कक्षामा पढ्दैछिन् । भाइ उत्तम भने विद्यालय जाने उमेर नै पुगेको छैन । हरिको मृत्युपछि प्रवद्र्धन बोर्ड र बीमा कम्पनीबाट झण्डै ८ लाख रुपैयाँ पाएका थिए उहाँको परिवारले । त्यो पैसामा काजकिरिया र ऋण तिरेर बेचेको ६ लाख ८० हजार रुपैयाँ बच्चाहरुको नाममा छ । विदेशबाट पनि पैसा आउँछ भनेर म्यानपावरको मान्छेले भनेका छन् तर अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन भनेर इश्वरवतीले भन्नुभयो । म्यानपावरका मान्छेले यस्तो खबर सुनाएको पनि दुई वर्ष बित्यो तर त्यो पैसा अझै पाएका छैनन उषा र उत्तमले ।
उषा र उनका भाइ उत्तम अहिले फुपूसँगै बस्छन् । फुपू इश्वरवतीका छोराछोरी छैनन् । त्यसैले भविष्यमा उनीहरु नै आफ्नो सन्तान हुने आशामा छन इश्वरवतीका दम्पती । उषा र उत्तमको साहारा बनेकी फुपू इश्वरवतीसँग जम्मा एक कठ्ठा मात्रै जमिन छ । त्यसैले अरुकै जमिन भाडामा लिएर खेती गर्नुहुन्छ । वर्षको २० हजार रुपैयाँ तिरेर आउने उब्जनीले खान पनि धौ धौ छ उहाँको परिवारलाई ।
उषाको पढाइका लागि वैदेशिक रोजगारमा मृत्यु भएकाका परिवारका सदस्यलाई पढाइ खर्चको लागी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले दिने छात्रवृत्तिका लागि जिल्ला शिक्षा कार्यालयमा निवदेन दिएको जिल्ला विकास समिति अन्तर्गत सञ्चालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रले जनाएको छ । केन्द्रका अनुसार प्रथमिक तहका विद्यार्थीलाई ६ हजार रुपैयाँ दिने प्रावधान छ । तर यो खर्चले उषालाई बोडिङ्ग स्कूल पढ्न पुग्दैन । ‘त्यसैले मैले त सरकारी स्कूलमा पढाउन खोजेकी थिए तर उसले मानिन्’ इश्वरवतीले भन्नुभयो । इश्वरवतीका दम्पति उषा र उत्तमको पढाइका लागि कहीँबाट सहयोग पाए उनीहरुको भविष्य विग्रिने थिएन भन्ने आशामा छन् ।रासस