9 Jestha, 2074 | 23 May, 2017 Tuesday
प्रज्ञा-प्रतिष्ठानका कलाकारलाई दूध पचेन,

म तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा नाट्य कलाकारको रुपमा जागिरे थिएँ । प्रतिष्ठानको वार्षिकोत्सवको कार्यक्रममा देखाउन हामीले नाटकको तयारी गर्दै थियौं । बाजाको तालमा अभिनय गर्ने ‘ब्याले’ को रिहर्सल चलिरहेको थियो ।
यो ०२७ सालको कुरा हो । राजा महेन्द्रले प्रतिष्ठानको कुलपति आफू हुने सिस्टम हटाएर प्राज्ञिक व्यक्तिलाई नै सुम्पिएको वर्ष थियो । प्रज्ञा-प्रतिष्ठानका कुलपति केदारमान व्यथित हुनुहुन्थ्यो ।
हामी रिहर्सल गरिरहँदा एकदिन कुलपति व्यथित, सदस्य-सचिव तथा नाट्य विभागका प्रमुख विजय मल्ल लगायत हेर्न आउनुभयो । ब्यालेका नृत्य निर्देशक कान्छाबुद्ध बज्राचार्य र सहायक निर्देशक वसन्त श्रेष्ठ हुनुहुन्थ्यो ।
आउनासाथै व्यथितजी कलाकारहरुको दयनीय हालत देखेर छक्क पर्नुभयो । रिहर्सलमा हामी ३०-३५ जना कलाकार थियौं । प्रायः सबै जना दुब्ला-पातला ।
उहाँले सोध्नुभयो, ‘तिमीहरु किन यस्तो लुरे र मरनच्याँसे ? खाना पनि खाँदैनौं कि क्या हो ?’
कलाकारहरुले भने, ‘यस्तै छ हामीलाई । रिहर्सल सकिएपछि बाहिर आलु-च्यूरा खान्छौं ।’
व्यथितजीलाई त्यो कुरा चित्त बुझेन । कडा खालको स्वभाव भएका उहााले तत्कालै सदस्य-सचिव विजय मल्ललाई निर्देशन दिनुभयो, ‘कलाकारहरुलाई अलि राम्रो ख्वाउनुपर्‍यो । शारीरिक तन्दुरुस्ती भए पो यिनीहरुबाट आउनुपर्ने कुरा आउँछ । सबैलाई प्रतिजन दिनको ३० रुपैयाँको हिसाबले खानेकुरा ख्वाउनू ।’
त्यसबेला त्यहाँका जागिरे कलाकारको तलब मासिक २२५ रुपैयाँ थियो, अर्थात् दिनको हिसाब गर्दा झन्डै साढे ७ रुपैयाँ । त्यति तलब थाप्ने कर्मचारीले अब दैनिक ३० रुपैयाँको खानेकुरा पाउने भए ।
त्यसपछि कलाकारलाई खाजा र ख्वाउने तयारी गर्दै एउटा व्यवस्थित सूची नै बनाइयो ।
त्यसपछिका दिनमा कलाकारहरुलाई बिहानै बोलाउन थालियो । बिहान दूध, बोर्न भिटा, कृष्ण पाउरोटी भण्डारबाट ल्याएका पाउरोटी, केक र फ्रुट्स दिन थालियो । डेरीबाट त्यसबेला बोतल-बोतलमै एक पाउण्ड दूध आउँथ्यो । त्यो खाएपछि हामी रिहर्सल सुरु गर्थ्यौं ।
दिनको ३० रुपैयाँको कोटा पूर्ति गर्ने गरी दिउँसो खाना पनि खुवाउन थालियो । न्युरोडको प्रमिला भोजनालयबाट गाडीमा खाना ल्याएर ख्वाइन्थ्यो ।
एक हप्ता जति कलाकारहरुमा फूर्तिफार्ति देखियो । तर, रिहर्सलमा आउनेहरुको संख्या बिस्तारै घट्दै जान थाल्यो । बुझ्दै जाँदा त दूध नपचेर कलाकारहरु बिरामी परेछन् । कसैलाई डायरिया भयो, कतिलाई अर्थोक नै भयो । सधैं खाइरहने भए पो पच्नु !
व्यथितजीले फेरि भन्नुभयो, ‘यसरी कहाँ हुन्छ ? खाएपछि त एक्सरसाइज पनि त गर्नुपर्‍यो नि । ज्यान फूर्तिलो पार्नुपर्‍यो ।’
उहाँले आर्मीलाई एउटा चिठी लेखी त्यहाँबाट एक जना जान्ने मान्छे झिकाएर कलाकार लाई व्यायाम गराउने व्यवस्था मिलाउनुभयो । कलाकारहरु बिहान एक्सरसाइज गर्थे, खाजा खान्थे र रिहर्सलमा छरितो अभिनय गर्न थाले । त्यसरी ब्यालेको रिहर्सल पूरा गर्‍यौं ।
त्यसबेला प्रज्ञा-प्रतिष्ठानको चहलपहल र रौनक नै बेग्लै थियो । कलाकारहरु पर्दावाल गाडीमा हिँड्नुपर्छ भनेर घरबाट ल्याउने र पुर्‍याउने सुविधा पनि थियो । कलाकारको इज्जत थियो । पछिको समयमा हरेक कुरा खस्किँदै गयो ।

कांग्रेसको ‘रुख’ ले जागिर धरापमा
मैले रेडियो नेपालमा जागिर खाएपछि रेडियो नाटक मात्र गरिनँ । विभिन्न कार्यक्रम चलाउँथेँ । युवा पुस्तामा एउटा निकै लोकप्रिय कार्यक्रम थियो, ‘गीतिकथा’ ।
एक समयमा किरण खरेलले सुरु गरेको त्यो कार्यक्रम त्यसपछि निरोजराज पाण्डेले चलाउनुभयो । उहाँपछि मैले चलाउन थालेा । त्यही कार्यक्रम सञ्चालन गर्दा निम्तिएको एउटा अप्ठेरो परिस्थिति सम्झिन्छु ।
नेपालमा प्रजातन्त्र पुनःस्थापना भइसकेपछि ०५० सालतिरको कुरा हो । एउटा लेखकले ‘गीतिकथा’ कार्यक्रमको लागि रुखको जीवनचक्रको बारेमा एउटा कथा लेखेर पठाएका थिए । रुखले आफ्नो बारेमा भनेको शैलीमा लेखिएको कथा मलाई ज्यादै राम्रो लाग्यो । मैले गीतिकथा तयार पारेँ । कथाको सार यस्तो थियो-
‘जब म धरतीको गर्भबाट अङकुराएँ, ज्यादै असह्य भयो । पात र मुनाहरु पलाए । मलाई त्रास भयो, मेरो मुनालाई मानवले कुल्चिदेला, बस्तुभाउले खाइदेला । त्यो त्रासका बीचमा म हुर्किएर वयस्क भएा । मेरो जिउमा चराचुरुंगीहरुले गुँड बनाए । बटुवाहरु मेरो छहारीमा सुस्ताए । समय क्रममा म बूढो भएँ । अहिले म एकदम उजाड र नाङ्गो छु । अब न कुनै चराचुरुंगी बास बस्न आउाछन्, न बटुवाहरु छहारीमा थकाइ मार्छन् । अहिले मेरो फेदमा एउटा स्याल मात्र बस्ने गर्छ । एउटा सानो हावाको झोंक्काले पनि म डगमगाउँछु ।’
कथामा आखिरमा त्यो रुख ढल्छ । बीच-बीचमा प्रसंग सुहाउँदो गीत पनि राखिएको त्यो कार्यक्रम रेडियोमा राति प्रसारण भयो । तर, भोलिपल्टै त्यो कार्यक्रमको असर देखायो ।
त्यसबेला रेडियो नेपालका महानिर्देशक घननाथ ओझा हुनुहुन्थ्यो । नेपाली कांग्रेसका महामन्त्री महेन्द्रनारायण निधिले उहाँलाई फोन गरेर ‘रुख ढल्यो भनेर रेडियोमा बज्यो रे, कुरा के हो’ भनेर सातो लिनुभएछ ।
त्यसबेला वानेश्वरमा संसदीय उप-निर्वाचन हुन लागेको रै’छ । चुनावको मुखमा कांग्रेसको चुनाव चिह्नबारे नराम्रो चित्रण भयो भनेर पार्टीका मान्छेलाई पर्नु पीर पर्‍यो ।
रेडियोमा त्यसबारे खोजीनिधी हुँदा मलाई महानिर्देशक ओझाले बोलाएर सोध्नुभयो- ‘हिजो बेलुका गीतिकथामा के बजाएको ?’
म त कुरा के हो भनेर बुझिरहेकै थिइनँ । सोझो पारामा सोधेँ, ‘के भयो र ?’
‘तपाईंले त रुख ढल्यो भन्नुभयो । रुख भनेको के हो, थाहा छ तपाईंलाई ?’
मैले जवाफ दिएँ, ‘रुख भन्ने किन थाहा नहुनु र !’
उहाँले सविस्तार भन्नुभयो, ‘अनि रुख ढल्यो भन्ने त ? अहिले चुनाव हुन लागिरहेको बेला कांग्रेसको चुनाव चिह्नको कुरा आएपछि वित्यास परेन ? यस्तो कुरा आएर तपाईंसँग स्पष्टीकरण लिनु र जागिरबाट निकाल्नूसम्म भन्ने कुरा आएको छ ।’
मैले त कथामा रुखको जीवनचक्रको कुरा आए अनुसार कलात्मक चिजलाई कलात्मक रुपमै प्रस्तुत गरेको थिएँ । त्यहाँ मेरो कुनै स्वार्थ छँदै थिएन ।
मैले भनेँ, ‘जागिरबाट निकाल्ने कुरा भए जे गर्नुपर्ने हो, त्यही गर्नुस् । मैले कुनै आग्रह/पूर्वाग्रह नराखी कलात्मक कुरा पस्किएको हुँ ।’
मलाई स्पष्टीकरण सोधियो ।
स्पष्टीकरणमा मैले आफूलाई लागेको कुरा खुलेर लेखेँ, ‘गीतिकथा साहित्यिक किसिमको सिर्जना हो । यसलाई कलात्मक रुपमा प्रस्तुत गरिन्छ । रेडियो नेपाल जस्तो स्वतन्त्र संस्थाले रुख फलानाको, मादल फलानाको, सूर्य फलानाको भनेर हेर्न थालियो भने त रेडियो नेपालका हरेकजसो कार्यक्रम पार्टीको कुराबाट अछुतो रहँदैन होला । ‘घिनघिन मादल’, ‘हो हो माले, हलो जोत्ने साथी’ जस्ता गीत बजाउनु भएन । रेडियो प्रसारण सुरु गर्दा बिहानै सूर्यको अर्चना गर्ने क्रम पनि बन्द गर्नुपर्‍यो । यसरी शब्द-शब्दको हिसाब गरेर सेन्सर गर्‍यो भने हामीले रेडियोका धेरै कार्यक्रम बन्द गर्नुपर्ने हुन्छ । यसबारे रेडियोको व्यवस्थापनले पार्टीका मान्छेलाई बुझाउन सक्नुपर्‍यो ।’
मलाई जागिरबाट हटाउने कुरा आए पनि पछि यत्तिकै टर्‍यो । प्रजातन्त्र आइसकेको अवस्थामा पनि त्यति सानो कुराले झन्डै जागिर गएको थियो ।
मरेको अभिनय गर्दा कसो मरिएन !
रंगकर्मीहरुले मञ्चमा धेरैको जीवन र भोगाइलाई प्रस्तुत गर्छन् । त्यस क्रममा कतिपय अवस्थामा वास्तविक जीवनमै समस्या आइपर्छ । त्यसलाई पचाएरै हामीले दर्शकलाई आफ्नो कला पस्किनुपर्ने हुन्छ ।
किनकि मञ्चमा हामीले दर्शकको अगाडि लाइभ अभिनय गरिरहेका हुन्छौं । केही भएमा टार्ने र उम्किने उपाय रहादैन । एउटा त्यस्तै घटना सम्झिन्छु ।
०२२/२३ सालमा होला, राष्ट्रिय नाचघरमा एउटा वियोगान्त नाटक मञ्चन गरिएको थियो, ‘धनबहादुरको मृत्युमा परिवारको आँसु’ । नाटकमा जम्मा दुई पात्र थियौं । नायक म थिएँ भने नायिकाको भूमिकामा शकुन्तला गुरुङ थिइन् ।
नाम मात्रैको धनबहादुर एकदम निम्न वर्गको हुन्छ । बिरामी र अशक्त भए पनि चरम गरिबीकै कारण उसले आफ्नो उपचार गर्न सकेको हुँदैन ।
एक सातासम्म चलेको नाटकको तेस्रो दिनको शो मेरो जीवनको अर्को अविष्मरणीय घटना हो ।
नाटकको क्लाइमेक्समा बिरामी भएर आँगनमा छटपटाएको धनबहादुर श्रीमतीसँग पानी माग्छ । श्रीमतीले भान्साबाट आम्खोरामा पानी लिएर आउँदा धनबहादुरको मृत्यु भइसकेको हुन्छ । श्रीमतीको हातबाट अनायास पानीसहितको आम्खोरा खस्ने र श्रीमानको लाशलाई अँगालो मारेर रुने दृश्य थियो ।
तेस्रो दिनको शो चलिरहँदा त्यही दृश्यमा शकुन्तलाको हातबाट आम्खोरा खस्दा मेरो टाउकोमा बज्रियो । दुःखेर असह्य भयो । म त मञ्चमा मरेको अभिनय गरिरहेको छु, उठेर दुःखाइ सुमसुम्याउने कुरा पनि भएन । उता ममाथि घोप्टो परेर श्रीमती एकदम इमोसनमा रोइरहेकी छे ।
मैले शकुन्तलालाई सानो स्वरमा भनेँ, ‘मेरो टाउको फुट्यो क्यार, रगत बगिरहेको छ, हेर न !’
क्लाइमेक्स सिन दर्शकले बडो भावुक भएर हेरिरहेका थिए । पर्दा बन्द नगरुन्जेल त उठ्ने कुरा भएन ।
त्यो बेला मलाई मन एउटा डर बढ्यो, टाउको फुटेर रगत बगिरहेको छ, यस्तै अवस्था अब दस मिनेटसम्म रहेमा मेरो प्राणपखेरु उड्छ !
पर्दा कहिले बन्द होला भन्ने मात्र लागिरह्यो । नाटक सकिनासाथै हत्तपत्त उठेर टाउको छामेँ । तर, टाउको फुटेको रहेनछ । आम्खोराको पानी टाउकोमा पोखिएर रगत बगेको जस्तो लागेको रहेछ । टुटुल्को चाहिँ उठेको रै’छ ।
( अनलाइन ख़बरले गरेको कुराकानीमा आधारित)