7 Mangshir, 2074 | 23 November, 2017 Thursday

तितोपाटी डटकम-काठमाडौ – रङहरुको पर्व होली देशका पहाडी जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाइएको छ ।


खास गरी पहाडी जिल्लाका सहरबजार क्षेत्रमा सर्वसाधारणहरुले आपसमा थरीथरीका रंग र अबिर दलेर खुसी साटासाट गर्दै उल्लासमय ढंगमा होली मनाएका हुन् ।
आइतबार राजधानी काठमाडौं उपत्यकामा पनि सर्वसाधारणहरुले विभिन्न कार्यक्रम गरेर होली मनाएका छन् । देशका विभिन्न भूभागबाट राजधानी आएर बसेका सर्वसाधारणले एकै ठाउँमा भेला भएर आपसमा खुसी साट्दै रंग छ्यापाछ्याप गरेर होली पर्व मनाएका छन् । होलीका अवसरमा राजधानीका विभिन्न स्थानमा साँगीतिक कार्यक्रमहरुको समेत आयोजना गरिएको थियो ।
सञ्चारमाध्यमहरुले पनि होली विशेष सांगीतिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । सहभागीहरुले नाच्दै÷गाउँदै होलीको मजा लिएका छन् । आपसी, सद्भाव, भातृत्व, हार्दिकता र आत्मीयता बाँड्ने होली विशेष कार्यक्रममा केटाकेटीदेखि बृद्धवृद्धा समेत सहभागी भएका थिए । होलीका कारण राजधानीका सडक, चोक र गल्लीहरु नै रंगीन बनेको थियो । काठमाडौंको वसन्तपुरमा होलीका आवसरमा विशेष कार्यक्रम भएको छ । सयौं सर्वसाधारण सहभागी कार्यक्रममा मौलिक साँस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरिएको छ ।

वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साताअघि काठमाडौको वसन्तपुरमा चीर ठड्याएपछि सुरु भएको थियो । रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर ठड्याएपछि सुरु भएको होली फागु पूर्णिमामा चीर ढालेपछि समाप्त हुन्छ । होलीलाई फागु पूर्णिमा पनि भन्ने गरिन्छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ ।

होली सबै उमेर  समुहले मनाउने भएपनि युवापुस्तामा बेग्दै  क्रेज छ ।

साभार-रातोपाटी