9 Jestha, 2074 | 23 May, 2017 Tuesday
 एमालेको मेची–महाकाली अभियानका क्रममा सोमबार सप्तरीमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा चार जनाको मृत्यु भएपछि पहिलो पटक प्रमुख तीन दलको बैठक बसेको छ।  शान्तिपूर्ण रुपमा आफ्ना कुरा राख्न नपाउने, अहिले पनि सप्तरीमा हाम्रो पार्टी कार्यालयमा तोडफोड गरिएको छ भने कार्यकर्ताको घरलाई समेत निसाना बनाइएको छ। यस्तो बेला सरकार कहाँ छ भनेर खोज्नुपर्ने बेला आएको छ
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष एमालेले मुलुकमा सरकार नभएको अनुभूति आफूहरुले गर्न नपाएको गुनासो गरेका थिए। एमालेले आफूहरुले शानितपूर्ण रुपमा आफ्ना कुरा राख्न नपाउने स्थिति उत्पन्न भएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए। 

‘तीन दलको बैठकमा हामीले मुलुकमा सरकार भएको अनुभूति गर्न नपाएको कुरा राख्यौं,’ बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष बामदेव गौतमले भने, ‘शान्तिपूर्ण रुपमा आफ्ना कुरा राख्न नपाउने, अहिले पनि सप्तरीमा हाम्रो पार्टी कार्यालयमा तोडफोड गरिएको छ भने कार्यकर्ताको घरलाई समेत निसाना बनाइएको छ। यस्तो बेला सरकार कहाँ छ भनेर खोज्नुपर्ने बेला आएको छ।’ बैठकमा एमाले नेताहरुलेले आफ्नो मुलुकमा कार्यक्रम गर्न पनि कसैको अनुमति लिनुपर्ने भन्दै आक्रोश  पोखेका थिए।

बैठकमा एमालेले सुरक्षाका विषयमा धेरै कुरा उठाएपनि गृहमन्त्री विमलेन्द्र निधि भने मौन रहेको नेताहरुले बताएका छन्। ‘हामीले शान्ति सुरक्षाको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदासमेत गृहमन्त्री मौन बस्नु भयो,’ गौतमले भने। बैठकमा एमलोले कुनै पनि बहानामा निर्वाचन रोक्न नहुने बताएका थिए। मधेसी जनता निर्वाचनको पक्षमा रहेको भन्दै केही नेताहरुले भन्दैमा निर्वाचन नरोकिने बताए।

सप्तरी घटनापछि सरकारलाई बाहिरै बसेर समर्थन गरेको मधेसी मोर्चाले निर्वाचनको मिति घोषणा स्थगित गर्न, संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न भन्दै पाँच बुँदे माग राखेर सरकारलाई सात दिने अल्टिमेटम दिएको छ। 

मधेसी मोर्चाले निर्वाचनको मिति घोषणा फिर्ता लिनु पर्ने माग राखेपछि एमालेले कुनै पनि वहानामा निर्वाचनको मिति फिर्ता लिन नहुने अडान राखेको थियो।

बैठकमा  प्रधानमन्त्रीले  भने सप्तरी घटनापछि परिस्थिति केही असहज भएको भन्दै आफ्नो अभियानका विषयमा पुर्नविचार गर्न एमाले नेताहरुसँग आग्रह गरेका थिए। उनले एमालेको अभियानालाई सुरक्षा दिन सरकार तयार रहेको भन्दै प्रधानमन्त्रीले तर परिस्थितिको मूल्याकंन गर्न एमाले नेताहरुलाई सुझाव दिएका थिए।

तर एमालेले भने आफ्नो अभियना नरोकिने बताएको छ। प्रधानमन्त्रीले मधेसी मोर्चाले विभिन्न पाँच बुँदे माग राखेर सात दिनभित्र माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको बैठकमा जानकारी गराएका थिए। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाले शीर्ष नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम लगायतका शीर्ष नेताहरु सहभागी थिए।। त्यस्तै गृहमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठपनि सहभागी थिए