7 Mangshir, 2074 | 23 November, 2017 Thursday


टाउको विनाको मान्छे !

सुन,टाउको विनाका मान्छे हो
हात ,खुट्टा ,आँखा विनाका मान्छे हो
तिम्रो बोलीमा झुटको कालो बादल देख्छु ।
तिम्रो मस्तिष्क भरिएको टाउकोलाई म 
हाडै हाडको अस्थिपन्जर मात्र देख्छु ।
तिम्रा प्रत्येक हात खुट्टाका चालमा 
जालै जालको खेल देख्छु ।
तिम्रो छड्के दृष्टिमा क्रूर हेराइ देख्छु ।
मान्छे के भन्छौ आफुलाई 
तिमी स्वाभिमान विनाको मान्छे 
आफ्नै पहिचान विनाको मान्छे 
तिमीसङ सास फेर्ने नाक छैन 
आवाज निस्कने मुख छैन 
तिमी त कस्तो रङ रुप 
स्वरुप विनाको मान्छे 
तिमी त कस्तो आकृती विनाको मान्छे 
सुन ओ!मान्छे 
तिमी त कस्तो
हात खुट्टा टाउको विनाको मान्छे ।
तिमी बोल्छौ तर आवाज दिनु पर्छ कसैले
सापटी लिएका शब्दहरुमा 
रुमलिरहन्छौ तिमी 
तिमी हास्छौ तर मुस्काइ दिनु पर्छ कसैले
तिमी हिड्छौ तर चलिदिनु पर्छ कसैले
तिम्रा आँखा छन् तर हेरि दिनु पर्छ कसैले 
इसार गरेर डुलाइ दिनु पर्छ नजर
हात समाइ डोर्याइ दिनु पर्छ पाउ ।
सुन ओ!
आत्मा र शरीर विनाको मान्छे 
कानुन अदालत नजिर विनाको मान्छे 
तिमी त कस्तो कार्यालय मा घुस खाने 
कर्मचारी जस्तो
गरिबहरुको अत्याचारी जस्तो
सदन सरकार र अड्डामा भेटिने 
भ्रष्टाचारी जस्तो
सानी बालिकाको बलात्कारी जस्तो 
सरकारी अफिसको ढिला सुस्ती जस्तो
कसैले नजित्ने दाजु भाइ को कुस्ती जस्तो
बाटै भरी फैलिएको दुर्गन्ध जस्तो
सधै भै रहने नेपाल बन्द जस्तो
जनता नलेख्ने अखबार जस्तो
साचो नबोल्ने पत्रकार जस्तो
सुन तिमी त कस्तो भेडा बाख्रा उल्लु जस्तो 
सुन!तिमी त कस्तो टाउको विनाको मान्छे 
हात खुट्टा आँखा विनाको मान्छे 
सुन!तिमी त कस्तो टाउको विनाको मान्छे ।

दधिराम ढकाल
दमक