9 Ashwin, 2074 | 25 September, 2017 Monday
डर देखाउने तिमी को हौ ?
2017-02-21 | तीतोपाटी
-सुवास शर्मा,

आजभन्दा २९ महिनापहिले म दुबई आएको पहिलो दिन झापाली मित्रसँग भेट भएको थियो । जीवनमा पहिलोपटक विदेश आएको त्यसमाथि नेपाली भेट्दा यो मन कति खुसी हुन्छ, त्यो विदेश आएका नेपालीलाई मात्र थाहा हुन्छ ।
ती मित्रले मलाई घर कहाँ हो भनेर सोधे । मैले दाङ भनें । अनि उनले फेरि भने, ‘के खान आएको यस्तो पाजी कम्पनीमा । म त नेपाल फर्कन कोसिस गरिरहेको छु ।’ उनकोे कुराले मन खिन्न भयो । साँच्चिकै नराम्रो कम्पनी परेछ कि क्या हो भन्ने लाग्यो । केहीबेरपछि मैले उनलाई दाइ कति वर्ष भयो तपाईं यो कम्पनीमा काम गर्न लागेको भनेर सोधें । उनले आठ वर्ष भएको बताए । त्यसपछि मेरो पारो तात्यो । कम्पनी साँच्चिकै नराम्रो भएको भए आठ/आठ वर्षसम्म के खान बसेको ? के तिम्रो जागिर चन्द्रमामा छ र आठ÷आठ वर्ष लाग्ने नेपाल फर्कन ?
नेपालमा रहँदा साथीहरू भन्थे, ‘विदेशमा नेपालीलाई डिप्रेसनमा पार्ने, ठग्ने नेपाली नै हुन्छन् ।’ ती साथीहरूले भनेको कुरा आफैंले भोग्दै छु ।
हिजोआज मेरो फेसबुकको भित्तामा विभिन्न अनलाइन पत्रिकामा जापान, कोरिया, युरोप र अमेरिकामा बस्ने नेपालीले लेखेका आलेख पढ्छु । त्यसमध्ये केही दिन पहिले सेतोपाटी अनलाइनमा कोरियामा बस्ने एक नेपालीले एक लेख लेखेका थिए– कोरियामा जान चाहने नेपालीका लागि भनेर । सो लेखमा कोरियामा धेरै दुःख हुने र यता आउनुभन्दा नेपालमै बसेर देश विकासमा लाग्न अनुरोध गरेका थिए ।
म खाडी मुलुकमा बसेर जापान, कोरिया र अमेरिकामा बस्ने नेपालीलाई भन्न चाहन्छु– यदि त्यस्तो दुःख भए तिमी फर्केर देखाऊ न त जापान, कोरिया र अमेरिकाबाट । तिमीलाई नेपाल र नेपालीको माया लाग्छ भने किन बसेका छौ विदेशमा ? अनि परदेशमा साँच्चिकै दुःख भोगेका छौ भने किन फर्कंदैनौ आफ्नो देश ? देशमा रोजगारी पाइएन अनि व्यापार, व्यवसाय नचलेर घरपरिवार छाडी कमाउँला भन्ने सपना देखेका बिचरा दाजुभाइको मनमा किन तरंग पैदा गर्छौ ?
हामीलाई पनि थाहा छ, नेपाल र विदेशको दुःख । दुःख गरेर पारिश्रमिक पाउँछ भने जोसुकै जाओस् । मानिसलाई डर देखाउने तिमी को हौ ? तिमी नेपाल फर्केर देखाउन सक्छौ ? हो, परदेशमा दुःख हुन्छ तर के नेपालमा बसेर केही गर्न नसकेका बिचरा बेरोजगार दाजुभाइको मनमा पहिले नै डर पैदा गर्ने ? त्यस्तो दुःख छ भने तिमी के खान बसेका छौ त्यहाँ ?
हिजो कोरिया जान स्कुल तथा कलेजको पढाइभन्दा कोरियाली भाषा पढाइमा रात दिन लागिपर्यौ । हरियो डलरको सपना देखेर गैरकानुनी रूपमा नेपालबाट दुबई, मेक्सिको र ग्वाटेमालाको जंगलै–जंगल खाली खुट्टा हुँदै अमेरिकाको जेल परेर माओवादीपीडित अनि शरणार्थी भन्दै नेपाली नागरिकता त्यागी ग्रीनकार्ड समायौ अनि ठाउँमा पुगेपछि नेपालीको मन भड्काउँदै हिँड्छौ किन ? तिमी बसेको देशमा अन्य नेपाली आएपछि तिम्रो मासिक तलबमा कटौती हुन्छ र ?
जो केही काम नगरीकन बसेको छ, उसको धेरै आवश्यकता बुवाको कमाइले धानेको, अल्छी गरेर उमावि तह पास गरेको, बाबुको होटलमा एमडी भएको अनि कोरियाली भाषा पास गरी कोरिया, युरोप पुगेकाहरू एकैचोटि १२ घन्टा खट्नुपर्दा तिरिमिरीझ्याइँ हुन्छन् अनि नाटकबाजी कुरा लेख्छन् ।
अर्काे कुरा केहीले दुःख पनि पाएका होलान् । त्यो हुन सक्छ । तर, एक हजारमा २५ जनाले दुःख पाए भन्दैमा पूरै दुःख छ भन्न कत्तिको उचित हो ? त्यो २५ को समाधान खोज्नुपर्छ, पूरै नकारात्मक कुरा रोजगारलाई दिनुभन्दा पहिले ।
बिदेसिनु रहर न तपार्इंलाई थियो न त मलाई । अनि रात दिन मरिमेटी अर्काको भाषा सिकेर कोरिया जाउँला, पैसा कमाउँला भन्ने नेपालीलाई छ । सबैको आ–आफ्नो व्यथा छ ।
नेपालमै केही गर्छु भनेर चार वर्ष दुबईको एक होटेलमा कुक गरेर काठमाडौँको नयाँ बसपार्कनजिकै होटल खोलेर आफ्नो परिवार पाल्ने सपना बुनेर होटल चलाइबसेका थिए– रामहरि दाइ । जसोतसो जीवन थेगिरहेका थिए, त्यहीँ होटेलको कमाइले । तर, एकाबिहानै एक पार्टीका भरौटे कार्यकर्ताले बन्दमा होटल खोलेको बहानामा उनको होटेलको सामान केही बाँकी राखेनन् । सबै भताभुंग बनाइदिए । होटलका कुर्सी भाँचेर पिर्का बनाइदिए । रामहरि दाइ देशलाई धिक्कार्दै फेरि त्यही पुरानो राहदानीमा दुबईको भिसा पर्खिरहेका छन् ।
काठमाडौँमै पसिना बगाइरहेका कृष्ण दाइ, जसले विदेशमा वर्षाैं पसिना बगाएर जोगाएको पैसाले ट्याक्सी किने । तर, उनको ट्याक्सीमा बन्दकर्ताको ढुंगामात्रै हानेनन् क्षणभरमै धूवाँ बनाएर उडाइदिए । त्यसपछि कृष्ण दाइ के गरेर बसून् नेपालमा ? अब उनले के गरेर परिवार पाल्ने ? कृष्ण र रामहरि दाइ भन्दै छन्, ‘नेपालमा भन्दा सयौँ गुणा खुसी त म विदेशमै थिएँ । १५ घन्टा जोतिए पनि कमसेकम आफूले दुःखगरी कमाएको पैसा कसैले लुटेर लैजाला भन्ने डर थिएन ।’
हामी नेपालीमात्र होइन, संसारका धेरै गरिब देशका जनता वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् । गरिब देशमा जन्मियौँ, देशमा रोजगारी र व्यापारको सम्भावना कम छ । स्वदेशमा बसेका पनि दिनदिनैको बन्द–हडताल र राजनीतिक अस्तव्यस्तताले दिक्क छन् । अनि अन्तिम विकल्प दोस्रो मुलुकलाई बनाएका छन् । रहर कसलाई छैन र आफ्नो परिवारसँग हाँसीखुसी आफ्नै देशमा बस्ने ।
दुःख र सुख जीवनका दुई पाटा हुन् । मानिसलाई दुःख हुन्छ । हरेक दुःख सहन पर्छ । म स्वयम् विदेश आएको महिना दिनमै ‘होमसिक’ भएर तनावमा थिएँ । तनाव सहन नसकेर कोठाभित्रै झुन्डिएर प्राण त्याग्न कोसिस नगरेको पनि होइन । तर, बुझ्दै जाँदा हरेक समस्यासँग जुध्दै जानु अनि परदेशमा मासिक २० हजार रुपैयाँको तलबबाट सुखसँग आफू अनि आफ्नो परिवारका लागि पुग्ने तलब कमाउनेसम्म भएको छु । जिन्दगीको बयलगाडा सहज तरिकाले गुडेको छ । म परदेशमा पनि धेरै खुसी छु । खुसी छन् मेरा परिवार पनि । हिजो सुपरमार्केटमा १२/१३ घन्टा हलचल नगरी एकैठाउँमा उभिएर सुरक्षागार्डको भूमिका निर्वाह गर्ने म आज मिहिनेत र लगनशीलताले राम्रै भूमिकामा बसेर काम गरिरहेको छु ।
हुन त सबैले मैले पाएकोजस्तै अवसर पाउँछन् भन्न खोजेको होइन । छोटो समयमै विदेशमा ठूलै प्रगति गर्ने पनि छन् । वर्षाैं विदेश बसेर खालीहात फर्किनेहरू पनि छन् । अझ ठूलो सपनाको भारी बोकेर विदेश पलायन भएर पनि सोचेजस्तो काम र दाम नपाएपछि जीवन समाप्त गर्ने बहादुरी पनि नभएका होइनन् । सबैलाई भनेजस्तो हुने भए जापान पढ्न भनी गएको नेपाली विद्यार्थीले रेलको लिकमा हामफालेर किन मर्नुपथ्र्याे ? अनि अमेरिकाजस्तो देशमा गएर पनि आत्महत्याको बाटो रोज्नुपरेको समाचार किन सुन्नुपथ्र्याे र ?
हामी नेपालीमात्र होइन, संसारका धेरै गरिब देशका जनता वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् । गरिब देशमा जन्मियौँ, देशमा रोजगारी र व्यापारको सम्भावना कम छ । स्वदेशमा बसेका पनि दिनदिनैको बन्द–हडताल र राजनीतिक अस्तव्यस्तताले दिक्क छन् । अनि अन्तिम विकल्प दोस्रो मुलुकलाई बनाएका छन् । रहर कसलाई छैन र आफ्नो परिवारसँग हाँसीखुसी आफ्नै देशमा बस्ने ।
जे–जस्तो भए पनि जीवनलाई सहज तरिकाले लिनुपर्छ । खुसी र सुख भन्ने कुरा आफूले आफैंमा खोज्नुपर्छ । एकपटक आँखा चिम्लेर आफ्नै वरिपरिको दुनियाँ नियाल्नुस् त, तपाईंभन्दा कति दुःख पाएकाहरू छन् । जीवन त एक दिन ढलेर जानु छँदै छ तर बाँचुन्जेल दुःख सामना गर्न सिकेर अगाडि बढ्नुस् भोलि तपाईंलाई बोझ लागेको जीवन कति रंगीन लाग्छ । स्वदेश या विदेशमा भए पनि आफ्नो जीवनलाई माया गर्न सिक्नुस्, आफूले आफैँलाई विश्वास गर्न सिक्नुस् जीवन त्यसै सहज बन्छ ।
मानिस सफल बन्न उसले विगत र वर्तमान सम्झन आवश्यक छ । नेपालमा छँदा महिनाभरि काम गरेर पनि जीवन धान्न हम्मेहम्मे पथ्र्याे, त्यसैले बिदेसिनु हाम्रो बाध्यता बन्यो । आज विदेशमा मिहिनेत गरेर कमाएको पैसाले पहिलेभन्दा केही सहज बनेको छ । दुःख आफ्नो ठाउँमा छ । कमसेकम बिहान के खाउँ, बेलुका के खाउँ भन्ने समस्या हल हुनेछ ।
तपाईं हामीजस्ता धेरैले आफ्नो घरपरिवार अनि सन्तान छाडेर विदेश आएका छन् । अरू धेरै आउने सपना बुन्दै छन् । आज ती देशमा केही नभएर आफ्नो अन्तिम रोजाइ विदेश बनाएकालाई नानाथरीको कुरा सुनाई मनमा डर उत्पन्न गराउनुभन्दा के गर्दा राम्रो हुन्छ भन्ने सल्लाह दिनु उपयुक्त हुन्छ । आफ्नो देशमा त सुख हुँदैन भने अर्काको देशमा त्यति सजिलो कहाँ हुन्छ र ? त्यसैले सकिन्छ आफ्नै देशमा केही गर्ने कोसिस गर्नुस् । गर्न सक्ने हो भने नेपालमा पनि धेरै सम्भावना छन् । विदेश बसेर कमाएको पैसा नेपालमा लगानी गरेर ठूलै प्रगति गरेका उदाहरण पनि हाम्रैसामु छन् ।
यदि तपाईं विदेश जाने सोचमा हुनुहुन्छ भने धेरै बुझेर, सोचेर आउनुस् तर इन्द्रेणी सपना देखेर नआउनुस् । आफ्नो काममा मिहिनेत र लगनशील भएर काम गर्न सके, आफूसँग राम्रो सीप र सधैं सकारात्मक सोच भए तपाईं पक्कै हामीले सुनेजस्तो निराशै हुनुपर्ने र ठूलै दुःखको भारी बोक्नुपर्ने ठाउँ होइन विदेश ।-रातोपाटीबाट 
दाङ, हाल : दुबई