10 Ashad, 2074 | 24 June, 2017 Saturday
डा. सुमनराज ताम्राकार
विविध खानेकुरा तथा पेयपदार्थ बनाउने कलालाई वात्स्यायनको कामसूत्रमा उल्लेख ६४ कलामध्ये एक मानिएबाट भोजन र यौनबीचको सम्बन्ध स्पष्ट हुन्छ । कतिपय खानाले यौन क्षमता घटाउने वा बढाउने विश्वास गरिन्छ । विभिन्न समुदायमा यौनवद्र्धक एवं यौन उत्तेजक खानेकुराका सम्बन्धमा विविध धारणा पाइन्छ । यौन उत्तेजना बढाउने भोजनलाई लिएर धेरैका धेरै प्रकारका धारणा हुन्छन् । आयुर्वेद विज्ञानअनुसार सत्व, रज र तममध्ये राजसी वा तामसी भोजनले यौनेच्छा बढाउने विश्वास गरिन्छ । राजसी भोजनले शरीरमा चञ्चलता, अधैर्यताका साथै शारीरिक सक्रियता बढाउँछ ।

चिया कफी चकलेटजस्ता उत्तेजना बढाउने खानेकुरा तथा मसलायुक्त खानेकुरा राजसी भोजनमा पर्छन् । तामसी भोजनले शरीर भारी बनाउँछ । माछा–मासु, मद्यपान आदि तामसी भोजन हुन् । जब कि ब्रह्मचर्य पालन गर्ने व्यक्तिलाई सात्विक भोजनको सिफारिस गरिन्छ । टेस्टोस्टेरोन हार्मोन बन्न सघाउने जिंकयुक्त खानालाई यौन उत्तेजक मानिन्छ । त्यसैगरी भिटामिन ‘ई’ ले पनि हार्मोन उत्पादनमा सहयोग गर्छ । सिमी तथा कुरिलोका साथै चकलेट, फर्सीको बियाँ एवं खुर्सानीलाई पनि यौनवद्र्धक मानिन्छ । केरा, गाजर, गोलभेंडा तथा स्याउले यौनजीवनलाई सकारात्मक राख्छ ।

 सागपात, गेडागुडी एवं कतिपय खानाको सुगन्धले यौनाङ्गमा रक्तप्रवाह बढाउँछ । कतिपय खाद्यवस्तुको आकार यौनाङ्गसँग मिल्ने हुनाले यसलाई यौनसम्पर्क पूर्व अर्थात् पाकक्रीडाको एक माध्यमका रूपमा, ख्यालठट्टाका लागि उपयोगी मानिन्छ । खानाको स्वाद एवं सुगन्धले पनि यौनक्षमता वृद्धि गर्न मद्दत गर्छ । सजिलै उपलब्ध नहुने र तुलनात्मक रूपमा महँगा खाद्यवस्तु (काजु, पिस्ता, नरिवल) लाई यौनवद्र्धक मान्ने गरिएको छ । अधिक भोजनका कारण हुने मोटोपन तथा न्यून पोषणका कारण हुने दुब्लोपन दुवै स्थितिले महिनावारी गडबड गराई यौनसम्बन्धमा विचलन निम्त्याउँछ । भोजन अर्थात् पोषणका कारण हुने यी दुवै खाले अति अवस्थाका व्यक्तिमा यौनसम्बन्ध पूर्वको यौन आकर्षण, प्रेमालाप तथा अन्तरङ्ग सम्बन्धमै समस्या उत्पन्न गर्न सक्छ ।

माथि उल्लेखित खाद्यवस्तु यौनवद्र्धक मानिए पनि क्याफिनयुक्त पेयपदार्थ (अधिक मद्यपान, निकोटिनयुक्त धुम्रपान) ले समग्रमा यौन उत्तेजना, यौनेच्छा, यौनकार्य क्षमता घटाउने तथा यौनिक हिसाबले प्रतिकूल वातावरण (दुर्गन्धित श्वास–प्रश्वास, घरेलु हिंसा, अनावश्यक भनाभन) सिर्जना गर्छ । उच्च कोलेस्टेरोलको समस्याका कारण विशेषत: पुरुष लिङ्गको रक्तनशा साँगुरो भै लिङ्ग उत्तेजनामा कमी आउन सक्छ ।

त्यसो त यौन समस्या निराकरण गर्ने खासै विशेष भोजन छैन, तैपनि स्वस्थ यौनजीवनका लागि महिला–पुरुष स्वस्थ रहन जरुरी छ । शारीरिक तथा मानसिक स्वस्थतामा भोजनको महत्त्वपूर्ण भूमिका हुन्छ । कसैसँग सम्बन्ध बढाउने, कुराकानी थाल्ने, वशिभूत पार्ने, आत्मविश्वास जगाउने कार्यमा भोजनको आफ्नै भूमिका हुन्छ, तर अति मद्यपानजस्तै अधिक भोजनले काम बिगार्न बेर लाग्दैन । अधिक चिल्लो पिरो खानेकुरालाई यौनका हिसाबले राम्रो मानिँदैन । बरु स्वस्थ शरीर अनि स्वस्थ यौनजीवनका लागि प्रोटिन, चिल्लो, कार्बोहाइड्रेट, भिटामिन अनि खनिज पदार्थका साथै यथेष्ट पानी आवश्यक हुन्छ ।

 

आकर्षक शरीर, वलिष्ठ ज्यान, सुगठित वक्ष तथा नितम्बका लागि सन्तुलित भोजनको निकै महत्व छ । त्यसो त अधिक मोटोपन भएका व्यक्तिमा यौनचाहना, यौनिक कार्यक्षमतामा कमी आउन सक्छ । अधिक दुब्लोपन भएका व्यक्ति जीर्ण स्वास्थ्य समस्या ग्रसित हुन सक्छन् । यस्तो परिस्थितिमा यौन स्वास्थ्य पनि सुमधुर नहुन सक्छ । आफ्नो शरीरलाई जिरो फिगर बनाउने तथा स्लिम हुने उद्देश्यले अधिक डाइटिङ गर्नु यौन स्वास्थ्यका दृष्टिले उपयुक्त होइन । त्यसो त यौनेच्छा जगाउने हार्मोन टेस्टोस्टेरोन हो, तर कुनै विशेष खाद्यवस्तुले यो हार्मोनको उत्पादनमा सघाउ पुर्‍याउँछ भन्ने छैन । विशेषत: प्रोटिन, फलफूल तथा हरियो सागपातबाट यो हार्मोन उत्पादन हुन्छ ।
source - ekantipur