7 Mangshir, 2074 | 23 November, 2017 Thursday
म त्यति पढन्तेमा पर्दिनँ । थोरै किताब पढेको छु । किताब भन्ने चिजसँग स्कूले बेलादेखि नै बानी परेन । कलेजमा शेक्सपियरको ‘ह्याम्लेट’ र चार्ल्स डिकेन्सको ‘ग्रेट एक्सपेक्टेसन्स’ चाहिँ पढेको थिएँ । त्यो पनि कोर्समा भएकोले पढ्नैपर्ने बाध्यता भएकोले पढियो ।
पछिल्लो समय भने पढ्ने बानी बसाउन खोज्दै छु । फिल्म निर्देशनमा लागेकोले यो काममा ऊर्जा बटुल्न पनि केही न केही पढ्नैपर्ने हुन्छ । यस क्रममा फाट्टफुट्ट रुपमा किताब पढ्दै आएको छु । तर, किताबभन्दा पनि अन्य माध्यमबाट आफूलाई चाहिने कुरा लिइरहेको हुन्छु ।

मोटा किताबदेखि थर्कमान
किताब पढ्नुपर्छ भन्नेमा म सजग छु । पढ्ने बानी बस्यो भने सोच्ने तरिकामा पनि फरकपन आउँछ । तर, मोटा किताब देख्ने बित्तिकै अत्यास लाग्छ । पूरै पढिसक्ने धैर्य नै हुँदैन । त्यही भएर उपन्यास पढ्दा पनि एकदम पातलो मात्र खोजेर हेर्ने गर्छु ।
मोटो भएकोले कति किताबहरु मैले पढ्दापढ्दै बीचमै छोडेको छु । पढ्न भनेर सुरु गरेका त्यस्ता किताब धेरै छन्, पूरै सकेको निकै थोरै छ ।
पछिल्लो समय नयनराज पाण्डेको ‘उलार’, बुद्धिसागरको ‘कर्नाली ब्लुज’, राजन मुकारुङको ‘दमिनी भीर’ उपन्यास पढेँ । तर, तीमध्ये मोटो भएकैले ‘उलार’ बाहेक पूरै पढ्न सकिनँ ।
बुद्धिसागर र राजन दाइहरुलाई भेट्दा भनिरहेको हुन्छु, ‘मैले किताब किन्ने गरेको छु । अलिअलि पढ्ने पनि गर्छु । तर, पूरै पढिसिध्याउन चाहिँ गाह्रो हुन्छ । मेरो लागि पनि सोचेर अलिक पातलो किताब निकाल्नू न ।’
बिस्तारै पढ्ने धैर्य बढाउनुपर्नेछ । त्यो बानी बसाउन अब सानो-सानो किताबदेखि सुरु गर्नुपर्नेछ ।
समाचार र लेखहरुको उपयोगिता
किताबको ठेली पढ्न त्यति जाँगर नचले पनि म अरु माध्यमबाट आफूलाई चाहिने कुरा लिने गर्छु । आफ्नो बुझाइका लागि जति चिज आवश्यक हुन्छन्, त्यही किसिमले पढिरहेको हुन्छु ।
बढीजसो पत्रिका र अनलाइन पोर्टलका लेखरचना पढ्छु । त्यसबाट पनि धेरै आइडिया आउँछन् ।
समाचारहरु पढ्ने क्रममा स-साना टुक्राटाक्री स्टोरीमा आँखा जान्छ । आफूले फिल्मको लागि कथा खोज्ने क्रममा देशभरिका सबै ठाउँ पुग्न सम्भव हुँदैन । लेख र समाचारको माध्यमबाट आफू नपुगेका ठाउँहरुको पनि कल्पना गर्न सकिने रै’छ । पछिल्लो समय मलाई ‘लुट’ र ‘लुट २’ फिल्म लेख्न तिनै कुराले सहयोग गर्‍यो ।
लेखहरु हेर्दा अहिले समाज वा कुनै विषयलाई कसले कसरी सोचिरहेको रै’छ भनेर थाहा हुन्छ । त्यस क्रममा फ्रस्टेशन आफूमा मात्र नभई अरुमा पनि छ भन्ने देखिन्छ ।
साधारण पात्रले छुन्छन्
पढ्दा म कुनै ठूलो कुरा खोज्दिनँ । साधारण पात्रको साधारण भोगाइले तान्छ । त्यस्ता पात्रहरुको भोगाइ म निर्देशकको आँखाबाट केलाउने गर्छु । यस हिसाबले मेरो पठनमा मेरो कामको उद्देश्य जोडिएको हुन्छ ।
समाचारभित्र आउने सामान्य मान्छेहरुको पनि आ-आफ्नै कथा हुन्छन् । गाउँघरमा खेती-किसानी गर्ने मान्छेको बारेमा पढ्दा उसको जीवनशैली कस्तो हो भनेर बुझ्न सकिन्छ । सरसर्ती हेर्दा एक जना पात्र देखिए पनि त्यहाँनेर उसको पृष्ठभूमि नै आउने गर्छ ।
त्यसरी भिन्दाभिन्दै कुराबाट म फिल्ममा कथा टिप्ने गर्छु । त्यसले क्यारेक्टर डेभलपमेन्ट गर्न र स्टोरीलाई सेप दिन एकदम ठूलो सहयोग गर्छ । उपेन्द्र सुब्बा लगायतका लेखकहरुसँग कुरा हुँदा पनि म ध्यान दिएर सुनिरहेको हुन्छु । सुनिरहँदा पूरै चिज रोचक नलागे पनि कतिपय कुरा दिमागमा राखिरहेको हुन्छु ।
पढ्दा भिजुअल आउँछ
पढ्ने क्रममा आफू निर्देशक भएको भाव आइहाल्दो रै’छ । कथा अनुसार दिमागमा चित्र बनेर बग्न थाल्छ ।
पछिल्लो समय उपेन्द्र दाइको ‘लाटो पहाड’ का धेरैजसो कथा पढेँ । लेखकहरुले फिक्सन लेख्दा यथार्थमा आधारित भएर लेख्छन् । तर, ती किताबहरु पढ्दा म चाहिँ आफ्नै काल्‍पनिक दुनियाँ रचेर सयर गर्छु । कुनै स्क्रिप्ट पढे जस्तै दिमागले भिजुअल खेलाइरहेको हुन्छ । जसरी म फिल्मलाई सोच्छु, त्यही किसिमको भिजुअल सोच्दै पढ्दो रै’छु ।

'उलार‘ लाई फिल्म बनाउने सोचेको थिएँ
नयन दाइको ‘उलार’ पढ्दा पनि त्यस्तै भिजुअल आएको थियो । पढ्दा छोटो र सामान्य पात्रहरु भए पनि निकै छोएको थियो । पढिसकेपछि दिमागमा झ्वाट्ट एउटा विचार सुझ्यो । यसलाई भिजुअल्ली बनाउने हो भने केही चिज चाहिँ निस्किन्छ है भन्ने लागेको थियो ।
तर, त्यो सोचाइ त्यत्तिकै रह्यो । अरु नै कसैले फिल्म बनाउनको लागि स्वीकृति लिइसकेको भनेर थाहा पाएँ ।
त्यस्तै, ‘लू’ उपन्यासको बारेमा कोही साथीले सरसर्ती कथा सुनाउँदै यसमा फिल्म बन्यो भने राम्रो हुन्छ भनेको थियो । उपन्यासले के-के कुरा छोएको छ भनेर बुझ्दा नेपालगञ्ज क्षेत्रको रहनसहन, त्यही परिवेशका पात्र लगायत अनेक चिज रै’छन् ।
यति धेरै चिज फिल्ममा राख्यो भने त गञ्जागोल हुन्छ । त्यतिखेर मलाई लाग्यो, फिल्ममा कति चिज देखाउने र कति चिज फाल्ने भन्ने कुरा महत्वपूर्ण हुने रै’छ ।
सिकेका कुरा फिल्ममा ल्याउँदा
उपेन्द्र दाइहरुले लेखनमा जनजातिको दृष्टिकोणबाट विभिन्न कुरा ल्याउनुहुन्छ । तर, ती सबै कुरा बुझ्न सक्दिनँ । अलिअलि बुझे जस्तो लाग्छ ।
दाइहरुको संगतले गर्दा संस्कृतिको बारेमा पहिलेभन्दा अलि थाहा हुन थालेको छ । मलाई संस्कृतिको बारेमा कति कुरा थाहै थिएन । बाहिरबाट मात्रै छिपछिपे बुझाइ थियो । तर, बुझ्दै गएपछि त्यहीँभित्र पनि कति धेरै विविधताहरु रै’छ भनेर थाहा हुँदै गएको छ ।
त्यसबाट कलाकारहरुबाट नयाँ कुरा ल्याउन सजिलो भएको छ । फिल्ममा आफ्नो भाषालाई मात्र हैन, आफ्नो रहनसहनलाई लिएर आउनू है भन्न थालेको छु । किनभने मैले त सुरुमा स्क्रिप्ट लेख्दा सामान्य पात्र मात्र लेखेको हुन्छु, त्यो पात्रलाई कतातिर ढाल्ने भनेर कलाकार आफैंले खेल्ने ठाउँ पाउँछन् ।
जनजाति कलाकारले आफ्नो रहनसहन लिएर आउनुपर्‍यो । मधेसी पात्र हो भने मधेसको प्रतिनिधि गर्ने कुरा देखाउनुपर्‍यो । त्यो कुरा उनीहरुले फिल्ममा ल्याउँदा त्यो चिज ल्याउनुको कारण के हो भनेर म बुझ्न खोज्छु । त्यसरी कथा प्रस्तुत गर्दा जीवन्त हुन्छ जस्तो लाग्छ ।-अनलाइनखबर 
(कुराकानीमा आधारित)