9 Jestha, 2074 | 23 May, 2017 Tuesday
मलाई पक्रिन ३ जना प्रहरी आएका थिए । दुईवटा कारमा आएका उनीहरुले मलाई पक्रेर हथकडी लगाए । एउटा आतंककारीलाई जस्तै व्यवहार पक्रनासाथ सुरु भयो । मलाई प्रतिव्यक्ति ३ हजार डलर लिएर घरेलु कामदार महिला भगाएको आरोप लगाइएको थियो । उनीहरुले तीनजना नेपाली महिलालाई मैले भगाएको आरोप लगाएका थिए । पटक पटक किन त्यसरी रकम लिएर भगाईस् भन्दै सोधिरहे । मैले त्यसरी रकम लिएर भगाएका युवती ल्याएर देखा भन्दा बोल्न दिंदैनथे । चुप लागेर बस् भनेर धम्क्याउँथे । केवल उनीहरु एउटै कुरा दोहोर्याइरहन्थे । उनीहरु अव तेरो खेल खत्तम भो भनेर धम्क्याउन थाले । 
उनीहरुले मैले फेनासोलमा के काम गर्थे भनेर सोधे । मैले त्यहाँ हप्तामा एकदिन छुट्टीको समय पारेर भाषा कक्षा लिने गरेको र त्यो स्वयंसेवी काम भएको बताएँ । उनीहरुले त्यसलाई मान्न नचाहेको प्रष्ट थियो । 
मलाई राखिएको बन्दीगृहमा १२ जना सिरियाली नागरिक थिए । म केवल एक्लो महिला थिएँ । हामीलाई बस्न समेत दिंदैनथे । उभ्याईरहने । ति पुरुषलाई त नराम्रोसँग कुटपीट पनि गरे । पानी खान माग्दा ५ मिनेट ५ मिनेट भन्दै दिंदैनथे । मैले एकदिन दिउँसो २ बजे पानी मागेको, पटक पटक मागेपछि बेलुकी ७ बजे सानो बोतलमा आधा बोतल पानी दिए । त्यो पनि एक घुट्को खाएपछि अरु बन्दीले पनि आश गरेर हेर्न थाले । उनीहरुलाई नदिइ खान सकिन । त्यति अत्याचार थियो त्यहाँ । 
खान एउटा उसिनेको आलु, नुन र एउटा अरवी रोटी दिन्थे । खानेपानी नदिएपछि केहि नलागेर धाराकै पानी समेत खान थाल्यौं त्यो पनि समयमा दिईंदैनथ्यो । अझ खाना खाने समयमा कोहि अनुसन्धानको केरकारमा परेको छ भनें भोकै बस्नु पथ्र्यो । 
उनीहरु एउटै प्रश्न दिनमा धेरैपटक र हरेक दिन सोधिरहन्थे । मैले केहि नलागेर कि त मलाई मार, कि त नेपाल फर्काइदे भनें । उनीहरु सुनेको नसुन्यै गर्दथे । 
तँ कतिपटक कसलाई भेट्न गइस्, कहाँ जनप्रदर्शनमा भाग लिइस् भनेर सोधिरहन्थे । उनीहरुले फेनासोलसँगको मेरो सम्वन्धका बारेमा पटक पटक सोधे । मलाई ४ सय ५० डलर महिनामा तलव खाएर समाजसेवी बन्न कसरी सक्छेस् भन्दै ३ हजार डलर लिएर घरेलु कामदार भगाएको आरोप पटक पटक लगाइरहे । मैले ईन्कार गरिरहें । यसरी नै झण्डै दुई महिना वितिसकेको थियो । 
एकदिन उनीहरुले मेरो रोजगारदातालाई बोलाए र म जनप्रदर्शनहरुमा सहभागि हुने गरेको थाहा छ भनेर सोधे । उसले आफूलाई कुनै जानकारी नभएको र आफूले केवल मेरो कागजात मात्र बनाइदिएको बतायो । त्यसपछि उसलाई तत्काल मेरो टिकट ल्याउन भनियो । उसले दुईतीन दिनमा ल्याउँछु भन्दा हप्काएर पठाए ।  
त्यसको केहि दिन पछि उनीहरुले मलाई भित्तामा उभ्याए र आतंककारीलाई जस्तै गरी मेरो तस्वीर लिए । अगाडी, दायाँ बायाँ सवैतिरबाट तस्वीर लिए । यो हदस्तरको ज्यादती थियो । मैले समस्यामा परेका नेपाली दिदिबहिनीलाई सहयोग गरेकोमा यति क्रुर यातना भोग्नु पर्यो । 
मलाई अकस्मात नेपाल फर्काइयो । मेरो कपडा पनि थिएन । त्यहाँ रहेका फिलिपिनोहरुले कसैले टिसर्ट, कसैले जुत्ता, कसैले जिन्स पाइन्ट दिए । उनीहरुले यस्तो काम गर्ने नेतालाई राम्रो बनाएर पठाउनुपर्छ भनेर माया देखाए । 
मलाई टिकट दिएर गाडीमा हालेर एयरपोर्ट ल्याएर छोडियो । तर त्यो टिकट मेरो रोजगारदाताले दिएको थिएन । खै कसले टिकट हाल्यो अहिलेसम्म थाहा छैन । यसरी हिरासतमा राखिएको झण्डै दुई महिना पछि म नेपाल आइपुगें । 
यो घटनाका पछाडी नेपालीकै हात छ । उनीहरुकै कारणले हामी (म र सुजना राना) लाई पक्राउ गरेर यति कठोर मानसिक यातना पश्चात नेपाल फिर्ता गरिएको हो । मलाई अन्तिममा कागजमा हस्ताक्षर गराउने लेवननी प्रहरीले पनि तत्लाई तेरै मान्छेहरुले फसाएका हुन् भन्यो । 
घटना हुनु भन्दा अगाडी एनआरएन, लेवननले हाम्रो बारेमा नराम्रो कुरा लेखेर फेसबुकमा पोष्ट गरेको थियो । एनआरएनए, लेवननको आधिकारिक फेसबुक पेजमा त्यस्तो कुरा अरु कसले लेख्छ ? हाम्रा विरुद्धमा उजुरी हाल्ने त केवल मोहरा बनाइएका व्यक्ति हुन् । 
५५ दिनसम्म घाम देख्न नपाई, दिउँसो हो की राती हो थाहा नहुने गरी झलमल्ल उज्यालोमा कति कष्टपूर्वक दिन गुजार्नुपर्यो त्यो हामीलाई थाहा छ । हामीलाई अन्यायमा पारिएको छ । त्यसैले हामीलार्ई न्याय चाहिन्छ । हामीलाई फसाउनेहरुलाई नेपाल फिर्ता बोलाएर कारवाही हुनपर्छ । हामी अव यहि आवाज उठाएर विभिन्न ठाउँमा पुग्छौं । यो केवल हामी दुईजनाको कमाइ खाने बाटो मात्र रोकिएको होइन, हाम्रा बारेमा गलत प्रचार गरिएको छ त्यसका विरुद्धमा लड्न पनि अव हामी तयार छौं । -देशप्रदेशवाट 

(लेवननबाट डिपोर्ट (जवर्जस्ती स्वदेश फिर्ता) गरिएकी रोजी लिम्बूसँगको कुराकानीमा आधारित)