15 Chaitra, 2073 | 28 March, 2017 Tuesday


"मण्डलेले कथा लेखे, खगेन्द्र संग्रौलाले मसला बनाए"

माघ १९ नेपाली राजनीतिमा एउटा कालो दिन हो । तर त्यो भन्दा बढी मेरो व्यक्तिगत र राजनीतिक जीवनमाचाहिँ एउटा भयंकर आँधीहुरी हो । यदि म आफ्नै बुँतामा दह्रिलो गरी उभिन नसकेको भए एउटै माघले मेरो राजनीतिक जीवन समाप्त पार्ने रहेछ ।
विसं ०६१ माघ १९ गते ज्ञानेन्द्रले शाही कु गरेर लोकतन्त्र अपरहण गरेका थिए । त्यही शाही ‘कु’को अचानोमा मलाई सिध्याउन खोजिएको थियो । राजा ज्ञानेन्द्र र उनका आदेश पालकहरुको त के कुरा, मेरा आफ्ना भनिएका र आफूले धेरै संकटहरुमा काँध थापेका सहयोद्धाहरुले समेत मलाई त्यही काण्डमा बलि दिन खोजेका थिए ।

आज आफैंलाई पत्याउन गाह्रो हुन्छ-म निराश भएर हिँडेको भए वा मेरा लाखौं कार्यकर्ताको साथ नभएको भए मलाई त राजाले होइन, मेरै सहयोद्धाले सडाउने रहेछन् ।
प्रतिगमन ठहरावः इतिहासकै ठूलो भूल
प्रतिगमन ठहरावमा पुगेको ठहर गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारमा एमाले सहभागी हुनु नै इतिहासको गम्भीर भूल थियो । त्यो भूल हामीले गरिसकेका थियौं । तर, सरकारमा सहभागी भएदेखि नै हामीले कहिल्यै सहज महशुस गर्न सकेनौं । त्यो सरकारमा एमालेबाट सरकारको नेतृत्व भरतमोहन अधिकारीले गर्नुभएको थियो । मलाई उद्योग वाणिज्य आपूर्ति मन्त्रीको जिम्मेवारी दिइएको थियो ।
क्याबिनेट बैठकमा कतिपय एजेण्डा यस्ता आउँथे कि ती एजेण्डामा बहस नै हुन पाउँदैनथ्यो । राजाकी फूपू हेलेन शाहलाई उपचार खर्च दिने निर्णय होस् वा राजदरवारको बजेट बढाउने कुरा होस्, यी प्रस्ताव प्रधानमन्त्री देउवाले अचानक ल्याउँथे र पास भयो भन्दै उठेर हिँड्थे ।
राजाकी फुपूलाई गुपचुप पैसा
आखिर सरकारको तर्फबाट हेलेन शाहलाई १ करोड २० लाख दिने निर्णय कसरी भयो ? आश्चर्य लाग्न सक्छ । यो विषय मन्त्रिपरिषदको बैठकमा कहिल्यै औपचारिक वा अनौपचारिक कार्यसूची बनेन । बाहिर गाइँगुइँ हल्ला चलेपछि हामी एमालेका मन्त्रीले प्रधानमन्त्रीलाई सोध्दा उनले हल्का ढंगले जवाफ दिएर पन्छिएपछि हामीले लख काट्यौं उनले बिताएछन् ।
त्यस्तै ०६१ भदौको कुनै गते मन्त्रिपरिषदको बैठकको निर्णयमा भने उक्त कुरा उल्लेख गरिएको पछि हामीले थाहा पायौं । देउवाले मुख्यसचिव विमल कोइरालालाई निर्णय लेख्न लगाएका रहेछन्,मन्त्रिपरिषद बैठकमा त्यो छलफल नै भएको थिएन ।
यस्ता असंख्य उदाहरण छन्, देउवालाई कसरी दरबारले प्रयोग गर्नुसम्म गरेर माघ १९ मा दोस्रो पटक असफल घोषणा गरेर अपदस्थ गर्‍यो । मन्त्रिपरिषदको प्रवक्तामा डा.मोहम्मद मोहसिनलाई घोषणा गर्ने निर्णय पनि देउवाले हुलमुलमा गरेका थिए । त्यो राजा ज्ञानेन्द्रको योजना रहेछ । हामीले आपत्ति जनायौं तर उनले हल्का रुपमै लिए ।
माधव नेपालले धोखा दिए
हामीले पटक पटक देउवाको शैलीबारे तत्कालीन पार्टी महासचिव माधवकुमार नेपाललाई भन्यौं । तर, अन्तिममा महासचिव नेपालले झण्डै मलाई नै बलिबेदीमा होम्नुभयो । म उद्योग वाणिज्य आपूर्ति मन्त्री भएको बेला अन्तर्राष्ट्रिय बजार मूल्य अत्यधिक बृद्धिका कारण पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने अवस्था थियो । तर मैले त्यो अलोकपि्रय निर्णय गर्ने अवस्था थिएन ।
त्यसका लागि सरकारको तर्फबाट कार्यदल बन्यो । योजना आयोगका उपाध्यक्ष शंकर शर्माको संयोजकत्वमा गठित समितिमा एमालेबाट राजेन्द्र पाण्डे सदस्य हुनुहुन्थ्यो । त्यो समितिले दिएको ६ पेज लामो प्रतिवेदनका आधारमा सरकारले मूल्य बढायो । तर, त्यहीँनेर मलाई सिध्याउने खेल शुरु भयो ।
भित्र र बाहिर सबैतिरबाट प्रहार हुँदा मूल्यवृद्धिको निर्णय गराउने पार्टी नेतृत्वले समेत मेरो प्रतिरक्षा गरेन् । उल्टै महासचिव माधव नेपालले-दोष जति मतिर फर्काए । जबकि तेलको मूल्य बढाउनुपर्छ भन्ने उनै थिए, मैले नगरौं यो बेला भनेको थिएँ । त्यतिबेला मलाई आफू एउटा संस्थाको सदस्य हुँ कि एक्लो यात्री हुँ भन्ने दुबिधा भयो ।
देउवा भन्थे-काँ हुन्छ यार ?
राजाले केही गडबडी गर्दैछन् भन्ने संकेत हामीले पाइसकेका थियौं । यो कुरा प्रधानमन्त्री देउवालाई भन्दा उनले कहिल्यै गम्भिरतापूर्वक लिएनन् । ‘काँ हुन्छ यार १ राजाले केही गर्दैनन् । उनले मागेको दिएकै छ’ भन्दै हल्का जवाफ दिन्थे । तर, एकपछि अर्का गतिविधिहरुले राजाले कुनै न कुनै कदम चाल्छन् भन्ने हामीले बुझेर पार्टी नेतृत्वलाई पनि जानकारी गराइरहेकै थियौं ।
झलनाथ खनालले त मेरी पत्नी उपत्यका समन्वय कमिटीकी तत्कालीन सदस्य मिरा ध्वजुलाई भेटेर ‘उहाँलाई पार्टीबाट राजिनामा गर्न भन्नुस’ सम्म भनेछन् । त्यसपछि मलाई लाग्यो यो पार्टीमा एक्लै उभिने र लड्ने हिम्मत छ भने मात्र लाग्नुसर, नत्र परेका बेला सिध्याउँछन् ।
माघ १९ गते म राजविराजमा थिएँ । विहान राजाको विशेष सम्बोधन हुने कुरा आएपछि अब कु गर्छन् भन्ने लागिसकेको थियो । राजविराजमा पार्टीका नेता दिवाकर देवकोटाको घरमा राजाको सम्बोधन लगत्तै मैले साथीहरुलाई भनेँ-राजाले आफ्नो योजनाअनुसार काम गरेका छन्, अब हामी आफूले गर्नुपर्ने काम गर्नुपर्छ ।
गेष्टहाउसमा जान म गाडीमा बसेँ । काठमाडौंदेखि मसित गएको टोली त छँदैथियो । गाडीमा बसेपछि डीएसपीलाई मैले ‘अब झण्डा किन फहराउने, हटाए भैहाल्यो नि’ भनेँ । उनले हाँस्दै हो त नि भन्दै अर्को पुलिसलाई झण्डा छोप्न आदेश दिए । वास्तवमा त्यहीबेला मलाई बन्दी बनाइसकिएको थियो ।
ट्यांकीको कथाः मण्डलेले बुने, खगेन्द्र संग्रौलाले बेचे
त्यो बेलाका मन्त्रीहरुमध्ये लामो समय हिरासत र जेल मैले भोगेँ । मेरा लागि जेल र हिरासत ठूलो कुरा थिएन । तर यसबीचमा मलाई सिध्याउन, मेरो चरित्रहत्या गर्न दरबारिया मण्डले र कथित क्रान्तिकारीहरु मिलेर जे जस्ता कथाहरु रचना गरे, त्यसको हिसाब किताब अझै पनि मैले बुझ्न सकेको छैन । मण्डले पत्रकार निरोधराज पाण्डे र निमकान्त पाण्डेले कथा लेख्ने र ती कथाका आधारमा खगेन्द्र संग्रौलाले एउटा दैनिक पत्रिकामा मेरा बिरुद्ध लेख लेख्ने सिलसिला नै चलाइयो ।
ईश्वर पोखरेलको घरको ट्यांकीमा पैसा भेटियो भनेर निमकान्त पाण्डे भन्नेले आफ्नो पत्रिकामा कथा लेखेछन् । कसैले नकिन्ने र नपढ्ने पत्रिका भए पनि दरवारियाहरुले नियोजित रुपमा त्यसको प्रचार गरे । राजविराज जेलमै मलाई त्यो पत्रिका पठाइयो । वास्तवमा नेताहरु बिरुद्ध यस्ता नियोजित कुरा लेखेर चरित्रहत्या गर्ने र रेडियो टिभी मार्फत त्यसलाई प्रचार गर्ने दरवारको योजना अनुसार यस्ता कथा बनाइएका रहेछन् ।
यो चरित्र हत्याको कथाले मलाई साह्रै पीडा दिएपछि मैले तत्कालीन पार्टी नेतृत्वसँग यसबारे संस्थागत रुपमा खण्डन गर्न आग्रह गरेँ । तर मलाई आश्चर्य लाग्यो, पार्टी नेतृत्वले यो व्यक्तिगत विषय भएकाले व्यक्तिगत रुपमै खण्डन गर्नुस भन्यो । त्योबेला पार्टीको कार्यवाहक महासचिव झलनाथ खनाल थिए ।
माधव नेपाल र झलनाथ मेरालागि मरेतुल्य
माधव नेपालले तेलको मूल्य बढाउन सिफारिस गरेर अन्तमा जसरी जिम्मेवारीबाट पन्छिएका थिए, झलनाथको भूमिका त्योभन्दा फरक मैले देखिनँ । अझ झलनाथ खनालले त मेरी पत्नी उपत्यका समन्वय कमिटीकी तत्कालीन सदस्य मिरा ध्वजुलाई भेटेर ‘उहाँलाई पार्टीबाट राजिनामा गर्न भन्नुस’ सम्म भनेछन् । त्यसपछि मलाई लाग्यो यो पार्टीमा एक्लै उभिने र लड्ने हिम्मत छ भने मात्र लाग्नुसर, नत्र परेका बेला सिध्याउँछन् ।
माघ १९ को सेरोफेरोका घटनाक्रम र धोखाधडीबाट मेरा लागि माधव नेपाल र झलनाथ खनाल मरेतूल्य भए । बरु त्यो बेला आन्तरिक राजनीतिमा गुट नमिले पनि केपी ओलीले दहि्रलो साथ दिए । तर, मैले विश्वास गरेका र साथ दिएकाले यही मौका हो भनेर सिध्याउन खोजेपछि मैले आफूलाई नयाँ ढंगबाट अघि बढाउने मौका पाएँ ।
ट्यांकीमा पैसा भेटेको भए दरवारले छाड्थ्यो ?
बरु कांग्रेस प्रजातान्त्रिकका नेताहरुले ठाउँ ठाउँमा म विरुद्धको दरवारिया षड्यन्त्रको खण्डन गरेछन् । प्रजातान्त्रिकका एक नेताले भनेका रहेछन्- यदि ईश्वर पोखरेलको घरमा पैसा भेटिएको समाचार सत्य हुन्थ्यो भने नेपाल टेलिभिजनले ती करोडौं रुपैयाँलाई ओल्टाई पल्टाई देखाएको देखायै गर्ने थियो । यो बदनाम गर्ने भ्रमपूर्ण समाचार हो । म एक्लो भएको बेला मलाई अप्ठेरो पारिएको बेला आफूसित पार्टी छैन कि भन्ने अनुभूति भयो ।
मनमनै सोचेँ- ममाथि अपराधिक योजनाका साथ आरोप लगाइँदा मैले सिंगो जीवन सुम्पिएको पार्टीले किन चार हरफ वक्तव्य दिएर खण्डन गर्न तयार भएन ? के हामी पार्टीमा लागेर पनि एक्ला एक्लै छौं ? माधव नेपाललाई त मैले तेलको मूल्य बढाउनेदेखिका घटनाक्रममा राम्रोसँग चिन्ने मौका पाइसकेको थिएँ । वक्तव्य र राजिनामाको सुझाव प्रकरणपछि झलनाथलाई पनि बुझ्न पाएँ ।
केपी, बामदेवदेखि योगेशसम्मको साथ
वास्तवमा मलाई त्यो संकटको घडीमा योगेश भट्टराईले साथ दिएको कहिल्यै बिर्सन्न । जेलबाट छुटेर कार्य बिभाजनका क्रममा मैले उपत्यकाको इन्चार्ज बन्ने कुरा आयो । केही साथीले तपाईमाथि यस्तो आरोप छ भनेर हतोत्साहित गर्न खोजे । तर, मैले म फेस गर्छु, म विरुद्धको अपराधिक योजनाको प्रतिवाद गर्छु भनेँ । उपत्यकाको सचिव योगेश थिए । मैले उनलाई सोधेँ, उनले तपाई आउनुस हामी मिलेर काम गरौं, हामी सघाउँछौं भने ।
मलाई कयौं मान्छेले मुखमा थुके माघ १९ पछि । आफ्नै साथीभाइहरुले समेत के हो भनेर शंका गरे । नियोजित रुपमा मलाई त सिध्याउन मण्डलेहरुले कथा रचेका थिए । ती कथा खगेन्द्र संग्रौलाले मसला बनाएर बिकाए । माधव र झलनाथहरु मेरा लागि मरिसकेका थिए । त्यो संकटको बेला केपी ओली, बामदेव गौतम र विद्या भण्डारीहरुले बरु साथ दिए ।
त्यसअघि कतिपय साथीहरुले त आन्तरिक रुपमा सर्कुलर गरेर भरतमोहन र मलाई पार्टीबाट निश्कासन गर्नुपर्छ समेत भनेका थिए । मलाई अपराधी जस्तो चर्चा गरेर साधारण सदस्यबाट हटाउने अभियान चलाइयो । एकातिर शाही शासनले दुःख दिने, अर्कोतिर आफ्नैभित्रबाट मानसिक यातना दिने क्रम चल्यो । अझै पनि त्यो अपराधिक कथालाई कतिपय खराब नियतका मान्छेले आफ्नो अनुकुलतामा उचाल्ने गरेका छन् । तर मेरो राजनीतिक जीवनमा मान्छे चिन्ने मौका भने मिल्यो ।
वास्तवमा माघ १९ को पृष्ठभूमि असोज १८ हो । असोज १८ मा जननिर्वाचति प्रधानमन्त्री शेरवहादुर देउवालाई अपदस्थ गराउन राजालाई उकास्नेमा नेताहरुनै थिए । घोषणा भइसकेको चुनाव स्थगन गराएर लोकतान्त्रिक प्रक्रिया अवरुद्ध गराएको त दलहरुलेनै हो । हामीले चुनाव स्थगन नगरौं भन्यौ । तर माओवादीले उका -उम्मेदवार काट्ने) र कका -कर्मचारी काट्ने) अभियान चलायो,आखिर दरवारसँग मिलेर गरेको रहेछ । -अनलाइनखबरबाट

(माघ १९ को बेला देउवा सरकारका उद्योगमन्त्री रहेका एमाले महासचिव पोखरेलसँग कुराकानीमा आधारित)