15 Chaitra, 2073 | 28 March, 2017 Tuesday
"जनताको निर्दलीय जनवाद"(कथा
2017-01-28 | तीतोपाटी डट कम

शैलेश भट्टरार्इ - कुरा पञ्चायतकालको हो  । हाम्रो घरमा मार्क्स, एङगेल्स्, लेनिन, माओ, शिव-पार्वती, लक्ष्मी, सरस्वती, राजा वीरेन्द्र, महेन्द्र, पृथ्वीनारायण इत्यादिका तस्वीर लहरै मिलाएर राखिएको थियो शायद मेरा हजुरबुवालाई यसरी समावेशी तस्वीर राख्ने सौख हुँदो हो  । म त्यस्तै पाँच छ क्लासमा पढ्दो हुँ । खास कारण पर्गेल्न सक्दिनथें । र, अहिलेसम्म पनि पर्गेल्न सकेको छैन ।

हजुरबुबा प्रधानपञ्च हुनुहुन्थ्यो । अलि अन्तर्मुखी स्वाभावको हुनुहुन्थ्यो । पञ्च भएर पनि त्यसरी कम्यूनिष्ट नेता/दार्शनिकको पनि तस्वीर किन राख्नुभाको थियो, त्यो मेरो घरका अरू सदस्यलाई पनि शायद थाहा थिएन । त्यतिखेर हाम्रा एकजना नातेदार कम्युनिष्ट पार्टीमा लागेका थिए । हजुरबुवा उनलाई मनपराउनु हुन्नथ्यो । तर, हजुरआमा भने निकै माया गर्नुहुन्थ्यो । पुलिस प्रशासनले उनलाई खोजिरहेको भएता पनि नाता सम्बन्धले बाँधेर होला, ती नातेदारको आगमनका बारेमा एकचोटि पनि सुइँको दिएको थाहा थिएन ।

उनी आफ्ना एकदुई जना साथीहरू लिएर हाम्रो घरमा कहिलेकाहीं राति भात खाने र बास बस्नेगरी आउँथे  । उनका साथीले उनलाई कमरेड शिखर भनेर बोलाएको अझै पनि सम्झन्छु । कमरेड शिखरले नजानेको र नबुझेको कुरो केही थिएन । उनको कुरा सुन्दा त्यस्तै लाग्थ्यो । उनी आएपछि मलाई पाठ्यपुस्तकका नजानेका कुराहरू पनि सिकाइदिन्थे । कति कौतुहल मेटिदिएर जान्थे । कति कौतुहल थपिदिएर जान्थे । कतिपय जिज्ञासाको उत्तर मैले नबुझ्दा नबुझ्दै पनि बुझें भन्नुपर्ने वाध्यता हुन्थ्यो किनभने उनले भनेका धेरै कुरा बुझ्ने मेरो हैसियत नै थिएन ।

‘राजा मास्नु पर्छ’, ‘गरीवको शासन आउनुपर्छ’, ‘अन्याय अत्याचार उन्मूलन हुनुपर्छ’,  ‘जसको जोत उसको पोत हुनुपर्छ’ भन्ने जस्ता कुराहरूको गाम्भीर्यता बुझ्न सक्दिनथें । कुरोको चुरो नबुझे पनि म उनको विचारमा सहमत थिएँ । किनभने दुनियाँमा सबैभन्दा जान्ने र असल मान्छे मलाई उनी नै हुन् भन्ने भइसकेको थियो ।

मार्क्स, लेनिन, माओका तस्वीर देखाउँदै उनी भन्थे-‘यी असल मान्छे हुन् । तिनले गरीवहरूलाई माया गर्छन् ।’

राजाहरूको तस्वीर देखाउँदै उनी भन्थे- ‘ती डाँका हुन् । यिनले गरीव गुर्वालाई लूट्छन् ।’ लक्ष्मी-सरस्वतीका फोटा देखाउँदै उनी भन्थे-‘यी पातकी हुन् ।’

हाम्रो घरमाथि भगवतीको मन्दिर छ । यो मन्दिरका भगवान् त साँच्चिकै भगवान् हुन् भन्ने मलाई लाग्दथ्यो । त्यसैले यिनलाई त केही भन्दैनन् होला भन्ने लागेर सोधें-‘हाम्रो भगवती थानका मन्दिरका भगवान् त साँच्चिकै भगवान् हुन् नि हगि ?’

उनले तुरुन्तै जवाफ दिए-‘ढुङ्गाबाहेक अरू केही नै होइन ।’

मैले अनायासै सोधेंछु-‘उसो भए त्यसलाई लात्तले हान्दा पनि केही हुँदैन ?’

उनले मखलेल हुँदै भने- ‘केही हुँदैन ।’

‘पाप लाग्दैन ?’ मैले फेरि सोधें

‘केको पाप लाग्नु नि, लाग्दैन ।’

मलाई उनको कुरा ढुङ्गाको अक्षर झैं गढ्यो । अर्थात् भगवती थानमा लात्तले हान्दा पनि केही हुँदैन रे । केटाकेटी बुद्धि न हो, केही नयाँ कुरो पायो कि परीक्षण गरिहाल्नुपर्ने ।

भोलिपल्टै मन्दिरमा अलि सुनसान भएको मौका छोपी त्यहाँ गएर भगवतीको मूर्तिलाई लात्तै लात्ताले हिर्काएँ । साँच्चै केही पनि भएन । मूर्तिको मुखाकृति नियाल्दै आफ्नो हर्कत जारी राखें अहँ केही परिवर्तन आउँदै आएन । न भगवान् रिसाए, न मलाई केही भो । म झन् हौसिएँ  । अनि मूर्तिमा थुकें । मानौं, मलाई त्यो मूर्तिसँग उहिल्यैदेखि रीस छ । अथवा त्यो मूर्तिले मलाई खूबै दु:ख दिएको छ । थुक्दा पनि केही नभएपछि अब मलाई पूरापूर विश्वास भो कि यो साँच्चिकै ढुङ्गै रहेछ । कमरेड शिखरले भनेको सोह्रै आना सही रहेछ । यसपछि शिखरप्रतिको विश्वास झन् गाढा भएर गयो भने भगवानप्रतिको विश्वास टाढा भएर गयो ।

नयाँ नयाँ कुरा सिक्न पाउने रहरले होला, उनी आउने बित्तिक्कै म बुलुक्क बुल्किन्थें । उनलाई भेट्ने बित्तिक्कै दरो मुड्की कसेर आकाश ताक्दै ‘लालसलाम कमरेड’ भन्थें । उनी र उनका साथी मक्ख पर्थे । मलाई धाप मार्थे । ठूलै पुरुषार्थ गरेझैं म मख्ख पर्थें । उनले आफूहरूलाई यसैगरी अविवादन गर्नुपर्छ भनेर सिकाएका थिए । मैले रिठ्ठो नबिराई सिकें ।

उनले दौरा-सुरुवाल-टोपीलाई “पञ्चेको पोशाक” भन्न पनि सिकाएका थिए । मैले त्यो पनि सिकें । एक दिन हजुरबुवा दौरासुरुवाल र टोपी लगाएर गाउँ पञ्चायतको बैठकमा भाग लिन बजारतिर निस्कन लाग्नुभा रैछ । मैले `पञ्चेको पोशाक लगाउनु भएछ हजुरबुवाले´ भनिहालें । हजुरबुवा रीसले आगो हुनु भो । शिखरबाट यस्ता धेरै कुरा सिक्ने मौका पाएको थिएँ । कति त अहिले स्मरणमा पनि छैनन् ।

अर्को एकदिन ऊनी फेरि बास बस्ने गरी आए । बेलुका खाना खाएर उनीहरू हाम्रो त्यही बैठक कोठामा गफिँदै थिए । म उनीहरूको गफ सुन्न छेउमै पुगें । कमरेड शिखरका साथी लेख्नमा व्यस्त थिए । उनी आफू चाहिँ एउटा पुस्तक पढिरहेका थिए । त्यो पुस्तक बाहिरको तस्वीर र हाम्रो घरको भित्तामा भएको एउटा तस्वीर हुबहु मिल्थ्यो । हो, त्यही तस्बीरलाई उनले असल मान्छेको तस्बीर भन्दै चिनाएका थिए ।

मैले सोधें- ‘उस्तै फोटो रहेछ हगि ?’

उनले भने- ‘हो नि ! एकै मान्छे हुन् ।’

‘किताब पढ्दा असल मान्छेले लेखेका किताब मात्र पढ्नुपर्छ । अनि फोटो पनि असल मान्छेको मात्रै राख्नुपर्छ’ मैले फोटा झुण्ड्याएको भित्तातिर देखाउँदै सोधें- `उसोभए ती असल मान्छेका बाहेक अरू फोटा फाल्दिए हुन्छ ?’

उनले अनुहार कान्तिमय बनाउँदै भने-‘मिल्काइदिए हुन्छ । काम छैन ।’

म उनको फाट्टफूट्ट अनौपचारिक प्रशिक्षणले नै पक्का भैसकेको थिएँ । मैले एक दिन घरमा कोही नभएको मौका छोपी त्यसै गरें । तर, हजुरबुबा आएपछि खानु खप्की खाएँ । थप्पड पनि खाएँ । हजूरआमाले पनि खूब गाली गर्नु भो । परिवारका अरू सदस्यहरूले पनि आ-आफ्नो गच्छेअनुसारको गाली गरे । त्यसपछि मलाई गल्ती नै गरिएछ कि जस्तो लाग्यो । म अपराधबोधले ग्रस्त भएँ ।

यत्तिकैमा ०४६ सालमा पञ्चायत फाल्ने आन्दोलन भयो । आन्दोलन हुँदा कमरेड शिखर कता थिए थाहा भएन, तर अन्तिम अन्तिममा आएर मेरा हजुरवालाई आन्दोलनलाई साथ दिन आग्रह गरे । राजालाई तथानाम गाली गरे । पञ्चायती व्यवस्था अब सकियो भनेर घोषणा गरे । पञ्चायत फालेपछि गणतन्त्र र धर्म निरपेक्षता ल्याउने योजना सुनाए । अनि अन्त्यमा साम्यवाद आउने भविष्यवाणी गरे । जिन्दगीभर पञ्चायत र राजाको छत्रछायाँमा राजनीति गर्नु भएको हजुरबालाई असह्य भयो शायद । साँझ पनि नभनी उनलाई लखेट्नुभो । बासै बस्न दिनुभएन । मलाई भने नरमाइलो लाग्यो ।

पछि आन्दोलन सफल भो । पञ्चायत गयो ।

पञ्चायत गएपछि हामी सपरिवार गाउँबाट अन्तै जाने स्थितिमा पुग्यौं । किनभने हामीलाई मण्डलेको बात लगाइयो । भौतिक आक्रमणको प्रयास भयो । पर्दा अगाडि कमरेड शिखरका लठैत र पर्दा पछि उनी आफैं रहेछन् । थाहा पाएर धेरैबेर पत्यारै लागेन ।

‘कमरेड शिखरबाट त्यस्तो काम हुनै सक्दैन’ बारबार मेरो मनले त्यसै भनिरह्यो  । तर, दुई दिनपछि हजुरबुवालाई मण्डले भन्दै कालोमोसो दल्ने, जुत्ताको माला लाउने र बजार घुमाउने काम उनैको नेतृत्वमा भयो । तबदेखि कमरेड शिखर बारेको मेरो आधाउधि भ्रम निवारण भयो । पछि सुनियो त्यो ‘कालोमोसो काण्ड’को उनको पार्टीले उच्च मूल्याङ्कन गर्यो रे । शायद त्यसैले ०४८ को संसदीय निर्वाचनमा उनले हाम्रो क्षेत्रबाट टिकट पाए । चुनाव जितेर सांसद भए । सांसद भएपछि उनी पनि राजधानी मै बसोवास गर्न थाले ।

संयोग पनि कस्तो ! हामी बसोबास गरेकै एरियामा उनले डेरा खोजेछन् । पञ्चायती व्यवस्था हुँदा हजुरबुवालाई कमरेड शिखरसँग त्यत्रो घृणा थिएन, जति प्रजातन्त्र आएपछि भयो । हजूरबुवाले घृणा गरे पनि परिवारका हामी अरू सदस्यहरूसँग बोलचाल भने ठीकठीकै हुन्थ्यो उनको । केवल औपचारिक सम्बन्ध मात्र कायम थियो । मर्दा पर्दा उपस्थिति जनाउन मात्र उनको डेरा गइन्थ्यो  ।

बिस्तारै बिस्तारै कमरेड शिखरको आर्थिक सामाजिक हैसियत बढ्न थाल्यो । र, बढ्न थाल्यो राजनितिक हैसियत पनि ।

वि.सं.०५१ सालको मध्यावधि चुनावमा पनि हाम्रो क्षेत्रबाट उनैले चुनाव जिते । उनको दल सत्तासीन भयो । कमरेड शिखर मन्त्री नै नभए पनि मन्त्रीलाई हल्लाउन सक्ने हैसियतका थिए । त्यसपछि लगातरजसो नै उनको दल सत्तासीन हुँदो छ । कमरेड शिखरको हैसियत पनि बढ्दो छ । यसको संकेत उनले भर्खरै किनेको नयाँ बङ्गलाले दिन्थ्यो ।दरबार झैं शानदार बङ्गला पनि आफू डेरा बसेकै एरियामा किनेछन् ।

एक दिन उनको बङ्गला जाने मौका मिल्यो ।

बैठक कोठामा लगेर राखे कमरेड शिखरले । उनको घरको भव्यताले जो कोहीलाई पनि जिब्रो टोकाउन वाध्य पार्थ्यो । म पनि जिब्रो टोकीवरि उकुसमुकुसका साथ बसिरहेको थिएँ । एकजना मान्छे उनलाई भेटन आए । भेट्नासाथ उनले-‘लालसलाम कमरेड’ के भनेका थिए, कमरेड शिखरको अनुहार निचोरेको कागती जस्तो भो । उनले ठाडै हप्काए-‘अब यो लालसलाम सालसलाम गर्ने होइन बुझ्नु भो के ।’

‘दश औंला ट्याप्प जोडेर नमस्कार गर्ने ।’

‘अनि मुख्य कुरो यो कमरेड भन्ने बानी पनि छाड्नुपर्यो ।’

उनी अझै हप्काउँदैछन्-‘उहिल्यै दु:ख र क्रान्तिमा सिकाइएका कुरा अहिले सुख र शान्तिमा हुबहु लागु हुँदैन ।’

‘क्रान्ति सकियो अब ।’

`तपाइँहरूलाई प्रशिक्षण पुगेकै रहेनछ ।´

यति भनेपछि ती आगन्तुक ‘हुन्छ हजूर’ भन्दै चुप लागे ।

त्यसपछि कमरेड शिखरले सोधे- ‘के कति कामले पाल्नु भो छिटो छिटो भन्नुस् ।’

‘दक्षिणकाली मन्दिरमा मेरो भाकल बुझाउन जानुछ ।’ केही सम्झे झैं गरेर फेरि उनले भने-`ओहो, भरे पार्टीको प्रशिक्षण कार्यक्रममा पनि जानुछ´

`किरने ! ए किरने !´

ठूलो आवाजले उनी बोले-`मेरो त्यो पहेंलो दौरा सुरुवालमा आइरन गरेर राखिदिनू  । भरे कार्यक्रममा जानू छ ।´

किरण भनेको उनले सांसद भएपछि गाउँबाट `पढाउन´ ल्याएका एक गरीव मनुवाका छोराको नाम हो । उसलाई म पनि चिन्दथें ।

ती अर्का आगन्तुकले के के भने, मैले केही बुझिनँ  । किनभने मेरो कानमा एकोहोरो `दक्षिणकाली र भाकल´ मात्रै गुन्जिइरह्यो ।

उनको यो `लघु प्रशिक्षण´ पछि मेरो नजर उनको बैठक कोठाको दक्षिणतिरको भित्ताको माथि पुगेछन् ।

मेरा हजुरबुवाको ‘तस्वीर संस्कृति’ शायद उनलाई पनि मन परेर होला, त्यहाँ थुप्रै तस्वीरहरू राखेका रहेछन् । एक एक गर्दै तस्वीर हेर्दै गएँ । म फेरि चित खाएँ । म उनलाई हेरेको हेर्यै भएँ । के तीनै कमरेड शिखर हुन् त यी? आफैंले आफैंलाइ प्रश्न गरें । उत्तर उही थियो । मेरो मनमा भात छड्किए झैं प्रश्नहरू छड्किन थाले अर्थात् अनेकौं प्रश्नहरूले एकैसाथ उत्तर माग्न थाले  । आफूले आफूलाई सम्हालें र संयमित भएँ ।

उता कमरेड शिखर भने सहज र सामान्य थिए । एकछिनपछि चिया आयो । चिया पियौं । चिया पिउन्जेल पनि मन शान्त भएन । त्यसै त्यसै विचलित जस्तो भएको थियो । जिन्दगीमा पहिलो पटक यति ठूलो विरोधाभासको सामना गर्ने ताकत थिएन शायद ममा ।

उहिल्यै कमरेड शिखरले मलाई फाल्न उक्साएका तस्बिरहरू त्यहाँ सजाएको देख्दा यस्तो लाग्थ्यो, ती तस्वीरहरू उहिले मैले फाल्ने वित्तिकै उनले टपक्कै टिपेर जतनका साथ राखेका थिए ।

अझ तीन छक्क पर्ने कुरो त उनले असल भनेका मान्छेका तस्वीर भने चरोमुसो एउटै थिएनन्  । के तीनै कमरेड शिखर हुन् त यी ? फेरि आफैंले आफैंलार्इ प्रश्न गरें । उत्तर हो नै थियो । एउटा प्रश्न चाहिँ सोध्नै पर्यो भन्ने लागेर सोधें- ‘तपाईं देवीदेवता मान्न थाल्नु भो?’ प्रश्न भुइँमा खस्न नपाउँदै  उनले भने-`देवी देवता मान्ने नमान्ने सवाल होइन यो, …. ।´

कमरेड शिखरलाई दक्षिणकाली जान हतार भएको जनाउ अघि नै दिइसकेको हुनाले थप सवाल जवाफ गर्नु उचित थिएन । फेरि जति सवाल जवाफ गरेर पनि निष्कर्ष एउटै थियो । अर्थात् ‘उहिल्यै दु:ख-क्रान्तिमा सिकाइएका कुरा अहिले सुख-शान्तिमा लागु हुँदैन ।’

मलाई लाग्यो- ‘उहिले देशमा निर्दलीय व्यवस्था थियो, त्यसैले कमरेड शिखरहरूको मार्गदर्शक सिद्दान्त पनि शायद `जनताको निर्दलीय जनवाद´ हुँदो हो । बहुदल आएपछि मार्गदर्शक सिद्दान्त पनि जनताको बहुदलीय जनवाद भयो । अथाह परिवर्तनको राज यो नै हो कि !’
-अनलाइनखबर