7 Mangshir, 2074 | 23 November, 2017 Thursday

तीतोपाटी - ‘लगेजको ताल्चा काटेछ, ठूलो कुरा हात पार्ने सुर गरेथ्यो होला, हामी सुनवाला तस्कर परेनौं अनि चकलेटको पोको फुटाएर खाएछ ।’


यो कहानी, त्यही त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभित्रको हो । यस्तो कहानी त्यहाँ दिनहुँजसो सुन्न पाइन्छ ।


युएईबाट घर फर्किंदा काठमान्डौकी नुर अर्याल ढुंगेल दिज्यूको लगेज एरपोर्टवालाहरुले खोलेर चकलेटसमेत खाइदिएछन् । चकलेटको पोको पनि नछोडेर फुटाएर खानु भिखारीपन नै हो । सुन्दा नै लाज लागेर आउँछ ।


चकलेटसमेत नछाड्ने भन्सारवालाहरु देख्दा यस्तो लाग्छ, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कर्मचारीहरु नभई भिखारीहरू बस्छन् ।


नैतिकताको तराजुमा इमान र बेइमानलाई नापेर हेर्ने हो भने इमान नै ठूलो हो, जुन इमानको भारीभर्कम त्यही परदेशीको सानो चकलेटको पोकोभित्र भेटिन्छ । एउटा परदेशीको सामान्य चकलेटको पोकोसमेत बाँकी नराखेर खाइहाल्ने एयरपोर्टका भन्सारवालाहरु साँच्चिकै भिखारी हुन् भन्छु म।


घरपरिवार छोडेर सीमापारि वर्षौं कटाएर, मुहारमा अलिकति उज्यालो बोकेर जब परदेशी घर फर्कने सुर कस्छ, तब त्रिभुवन विमानस्थललाई सम्झिन्छ, अनि उसको मुहारको धिपधिप उज्यालो निभ्छ र फर्कने सुर कस्नुभन्दा पहिले आफ्नो सुडकेस डोरीले बेस्सरी कस्छ ।


दुई पैसा कमाएर आफ्ना लालाबालाहरुको मन बुझाउन एउटा चकलेटको पोको भएको लगेजमा भोटेताल्चा ठोक्छ, त्यति मात्रैले उसको मन थाम्दैन र एयरपोर्टका भिखारीबाट जोगाउने अरु विकल्प खोज्दै अझै डोरीको जालो बनाई गुन्टा कस्छ, अनि डोरी लाहुरेको उपमा भिरेर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुग्छ ।


तपाई मान्नुहोस् वा नमान्नुहोस् परदेशीलाई डोरीलाउरे बनाउने यिनै भिखारीहरू हुन्, यिनकै कारण ऊ डोरीलाउरे बनेको हो । जसलाई खिल्लीको उपहास बनाइएको छ ।


झिटीगुन्टामा भोटेताल्चा ठोकेर बाहिरबाट डोरीले बेस्सरी कस्नु पर्ने व्यथा हरेक परदेशी नेपालीको विवशता बन्यो । शायद कालान्तरमा यो रीत बनेर संस्कृति जगेर्नाको जाग्राम बन्ने छ । खासमा डोरीलाउरे भनेर आफूलाई अर्थ्याउनु वा कसैले उपहास गर्नुमा पनि खास यही अर्थ लाग्छ ।


आफ्नो श्रमबाट आर्जित सामान रक्षार्थ भगवानसँग भिख माग्दै आफ्नो देशको एयरपोर्टमा भित्रिनुपर्ने स्थिति यिनैले बनाएका हुन् । झिटीगुन्टा सग्लो भेट्यो भने परदेशीको मुहारको धिपधिप बत्ती जीवित रहनेछ, भिखारीहरुको कब्जामा पर्‍यो भने मुहारको बत्ती निभाएर रित्तो हात सिधा घर फर्किनेछ ऊ ।


जनताको संविधान नामको एकथान संविधान सिंहदरबारमा मरुँ कि बाँचु झैँ गर्छ, न्यायालय जाने ठाउँ खुलस्त छ । तर, त्यहाँ न्याय छैन । जब न्याय नै भेटिँदैन भने कानुनलाई हारगुहार गर्न समय खर्चनुको कुनै तूक पनि छैन । उल्टै जाबो चकलेटको झोला हरायो भन्नेहरु बेइज्यतीको पात्र हुने डर पनि छ गणतन्त्र नेपालमा ।


त्यसैले हरेक परदेशी नेपालीहरु भन्छन्- नेपाली एयरपोर्ट भन्सारमा ढुंगाका मनमुटु भएका मानिसहरु बस्छन, जसले परदेशीलाई रुवाउन मात्रै जानेका छन् ।


एयरपोर्टवाला कर्मचारीहरुको हृदयमा दिलरहित काँडाहरु उमारिएको छ, जो हृदयहीन मानव भई भन्सारमा ठिङ्ग उभिएको छ ।


त्यही एयरपोर्टबाट दैनिक रुँदै परदेश पस्दा देख्ने तिनै चिसा आँखाहरु, त्यही परदेशी फर्किँदा लुट्ने हृदयहीन फुस्रा आँखा बनेर ढुकेर बसिरहेका हुन्छन् । र, नुनदेखि सुनसम्म चोर्न कुनै कसुर बाँकी राख्दैनन् ।


सोच्दा पनि अजीव लाग्छ, मानवताको पहिचान के होला ? सभ्यताको अर्थ कस्तो हुन्छ होला ? नैतिकता भन्ने चिज कहाँ भेटिन्छ होला ? यस्तै यस्तै ।


आदिम युगको चपेटामा आफु उभिएको भान हुन्छ, जब त्यो एयरपोर्टमा पाइलो टेकेपछि।


खैर, एयरपोर्ट भन्सारका भिखारीहरुको कर्तुतबारे बयान गरी साध्य छैन । त्रिभुवन विमानस्थलको जति वयान गर्‍यो, त्यति आफू नाङ्गो भैरहेको अनुभूति हुन्छ । योभन्दा धेरै वयान अब गर्न चाहान्न । बरु परदेशी हुनुको नाताले मुटुमाथि ढुङ्गा राखी यति भन्छु- त्रिभुवन एयरपोर्टमा काम गर्ने कुनै कर्मचारीलाई भेट्नुभयो भने, सम्झनु, त्यो भिखारी नै हो । अनि त्योदेखि अलग्गिएर अलि टाढै बस्नु, जसले घर फर्किने परदेशीको मुहारको बत्ती एरपोर्टमा धेरैपटक निभाएको छ ।


यस्तो कठोर सुझावप्रति म क्षमाप्रार्थी छु । हामी परदेशीसँग योभन्दा अर्काे विकल्प पनि छैन । बषर्ाैं परदेशमा बिताएर अलिकति सँगालेको खुसी पनि खोसेर भताभुङ्ग पार्दाको पीडा त्यही परदेशीलाई मात्रै थाहा हुन्छ ।


सुन तस्करीमा खादावालदेखि झण्डावालसम्म छानविन होस्


अब सुन तस्करी प्रसंगतिर जाउँ । भूपि शेरचनले भनेझैँ नेपाल हल्लैहल्लाको देशको पछिलाग्ने हामी धेरै हौंला । तर, नेपाल हल्लैहल्लाको देश मात्र पनि होइन । सत्य खबरमाथि धेरै हल्ला हुने देश पनि हो, जो आवश्यक पनि छ । विडम्बना भन्नुपर्छ, सत्य खबरमाथि धेरै हल्लाखल्ला हुँदा कानुन मौन भएर बस्ने देश पनि यही हो ।


अहिले ३३ किलो सुन प्रकरणले देशलाई बेस्सरी हल्लाएको छ । शायद केही दिनमा यी हल्लाहरुमा परिणत हुनेछन् । तर, यो केवल हल्लामात्र होइन, साँचो हल्लाहरु हुन् सबैले बुझ्न जरुरी छ । पैसामा शक्ति वा पावर खरिद गर्नेहरुले यी साँचा हल्लाहरु आफ्ना खल्तीमा बन्द गर्ने चेस्टा गर्नेछन् र फुस्रा हल्लाहरुको देश बनाउने चेष्टा गर्ने छन् ।


यिनै साँचा हल्लाहरुको फैसला हुन्थ्यो भने तस्करी प्रकरणहरुले बारम्बार देश हलाउँदैनथ्यो । मजदुरले ५ तोला सुन बोकेर ल्याउँदा तस्कर देख्ने राज्यले भर्खरै ३३ किलो सुन बोकेर ल्याउने तस्करीले मात्र ११ पटक सुन तस्कर गरी ३ सय किलो भन्दा धेरै अवैध सुन भित्र्याउँदा समेत देखेन, बरु अहिले पनि राज्य निरीह बनेर टुलुटुलु टोलाइरहेको छ, शायद यो पनि उसलाई हल्ला लाग्यो होला ।


उक्त सुन प्रकरणमा केही मिडियाहरुले पूर्वगृहमन्त्रीदेखि वर्तमान अर्थमन्त्रीहरुसम्म मुछिएको चर्चा गरेका छन्, यसलाई पनि धेरैले हल्लैहल्ला भन्लान् । तर यसमा छानविन हुनुपर्छ । ठूलो सुन तस्करमा मन्त्रीहरुको हात हुन पनि सक्छ ।


त्यस्तै युएईमा कतिपयले सामाजिक संस्थाको खोल ओढेर सुन तस्करको धन्दा चलाइरहेको कुरालाई पनि धेरैले हल्ला ठान्नेछन् । तर, यो पनि हल्ला हुन सक्दैन । संस्थाको खोल ओढेर सुरक्षित तस्करी ब्यापार गरिरहेको कुरा साँचो हो ।


यी सबैको मिलेमतोमा अवैध सुन भित्र्याइएको हुन सक्ने कुरामा सत्यता छ । एयरपोर्टका भिखारीहरू राज्य वा मन्त्रीद्वारा संरक्षित छन् । जसले तस्करको बाटो खुलस्त गरेका छन्, तिनै खुलस्त बाटोहरु खादावालाहरुले प्रयोग गरेका छन् ।


युएईबाट फर्किने मजदुरहरुलाई ५ तोला सुन बोकाएर नेपाल भित्र्याउने खुलस्त धन्दा बन्द गराएर एरपोर्ट भन्सारमा आफ्नै तस्करी राखेर धन्दा चलाउने मन्त्रीवाला र खादावालाहरुको बनिबनाऊ सुनियोजित प्रस्ताव पारित गरिएको हो ।


पार्टीका आफ्ना झोलेहरुलाई कर्मचारीको मुखुण्डो भिराएर अवैध तस्करी गर्न एयरपोर्टमा खटाएर चोर्न मात्रै माहिर बनाएका छन् र त्रिभुवन विमानस्थलको बदनाम गराएका छन् ।


आजको युगमा प्रविधिले विश्वलाई मुठ्ठीभित्र कैद गरेको छ, त्यो प्रविधिबाट नेपाल पनि छुत छैन । एउटै सुन तस्करीले एयरपोर्ट भन्सारको प्रविधिलाई झुक्याएर ११ पटक अवैध सुन भित्र्याएको छ (अरु तस्करहरुको हिसाव छैन) ।


यो पालिको ३३ किलो सुन पनि भन्सारभित्र पकडेको होइन भन्सारबाट भित्र सकेपछि प्रहरीले प्रकाउ गरेको छ । यसको परिणाम स्वदेशी मन्त्री र विदेशीखादावाहरुको संलग्नताबिना कसरी सम्भव हुन्छ ?


सुन प्रकरणले राज्यको नारी राम्रोसँग छामेको छ । यस्तो उदाङ्गो गतिविधिलाई नियाल्दा राज्य नै तस्करीमा संलग्न रहेको प्रस्ट हुन्छ, तसर्थ तस्करीको पुरानो जालोलाई पहिचान गरी कडाभन्दा कडा कारवाही गरिनुपर्छ, जसको पहिलो सजायँको भागिदार एयरपोर्ट भन्सारवालाहरु नै हुनुपर्छ ।


म फेरि पनि दोहोर्‍याएर लेख्छु-यति ठूलो तस्करी मन्त्रीहरुको संरक्षणबिना र युएईका सामाजिक संस्थाको कभरबिना सम्भव छँदै छैन । यस्तो कुरा पटमूर्खले पनि बुझ्छ । यसलाई पनि कसैले हल्लाहरु भन्छन् भने आफ्नो नैतिकता रद्दीको टोकरीमा हाले हुन्छ ।


बरु यसमा संलग्न अभियुक्तहरुलाई पहिचान गर्न सचेतकहरु लाग्नुपर्छ र पहिचान गरी सम्बन्धित पक्षले कडाभन्दा कडा सजायँ दिलाउनुपर्छ, यो तस्करीको नालीबेली निमोठ्ने राम्रो अवसरलाई राज्यले उपयोग गर्न सक्नुपर्छ, देशको भलाइ यसैमा हुनेछ ।

-अनलाइनखबर