8 Bhadra, 2074 | 24 August, 2017 Thursday
बेरोजगार युवाले केटी नपाउने ?
2016-11-06 | तीतोपाटी डट कम

यमुना अर्याल - दशैंको जमघटमा छिमेकी बहिनीले आफ्नो बिलौना पोखिन्, ‘बा ले तीन वर्षदेखि बिहेको कुरा चलाएका छन्, माघमा त जसरी पनि बिहे गर्दिने रे । यतिका वर्षसम्म त ब्याचलर सकिएको छैन भन्दै टारेँ, अब त टार्ने बहाना पनि छैन । के गर्ने होला ?’
‘अब के गर्ने नि ! टार्ने बहाना नै नभएपछि घरजम गर्ने नि,’ बहिनीको सवालमा यस्तै कुरा राखेँ ।

बहिनीलाई सबैले हिरोनी भन्छन् । हुन पनि साह्रै राम्री छे । ‘ओहो, यो छोरी त कति राम्री छे, यसलाई पाउने केटा त कति भाग्यमानी होला है ? खोट लगाउने ठाउँ कतै छैन’, आफन्त सँगीसाथीले उसलाई सधैं यही भनेर फुक्र्याउँछन् ।

बा भने छोरी सुहाउँदो ज्वाइँ नभेटेर हैरान छन् । कति ठाउँबाट कुरा आयो, कहाँ के मिल्दैन-मल्दैन ।, लगन नजुरेरै होला । बालाई मास्टर्स डिग्री गरेको, अलि खानदानी, सम्पत्तिवाल र जागिरे केटो चाहिएको छ । त्यो सबै गुण मिलेको केटो पाइएको छैन । बाका भान्जाले फ्याट्टै भनिहाले, ‘आफ्नी छोरीसँग जागिर छैन, अहिलेको जमानामा ब्याचलर नपढ्ने कोही छैन । पहिले आत्मनिर्भर होस् अनि बिहे गर्दिन्छु भन्नु छैन, खालि छोरीको बिहे गर्ने भन्यो दुनियाँका छोरा तौलिँदै हिँडेर हुन्छ मामा ?’

भाञ्जाले अगाडि थपे, ‘अहिलेका जागिरे केटाले जागिरे केटी नै खोज्छन्, जागिर नभएकाले त्यस्तै खोज्छन् । जागिर खानेको मात्रै बिहे हुने भए बेरोजगार चाहिँ बिहे नगरी बस्ने त ? मैले जागिर खा’को छैन, मैले केटी नै पाउँदिनँ त ? जागिर नखाएसम्म बिहे नगरी बसूँ मामा म ? संघर्ष गर्दै आफ्नो खुट्टामा उभिन खोज्दै छु, ढिलोचाँडो सफल पक्कै हुन्छु होला । तर, तपाईँले जागिरे केटो छैन, कसरी स्वास्नी पाल्ने हो खै भन्ने कुरा गर्दा मैलाई पेच पर्ने गरी भन्या हो कि जस्तो पनि लाग्छ ।’

उनले केटाले मात्रै केटी पाल्नुपर्छ भन्ने छैन, जागिरे श्रीमतीले बेरोजगार श्रीमान् पालेर देखाउनुपर्ने तर्क पनि गरे । बहिनीलाई लोग्नेको कमाइमा बाँच्न सिकाउने कि आफूले श्रीमान् पाल्न सक्ने हैसियतको बनाएर बिहे गर्दिने त्यो तपाईँकै जिम्मा भन्दै उनले कुरा बिसाए ।

अर्को प्रसंगः

‘छोरीको मंसिरमा बिहे गर्ने सोच छ, कोही राम्रो केटा चिनजानमा छ नानी ?,’ सँगै पढेकी साथीका बुवाले केही दिनअघिको भेटमा कुरा निकाले ।

‘तपाईँलाई कस्तो केटा चाहिएको हो ? चिनजानमा साथीहरु त छन् नि, भने जस्तो पो हुन्छन् हुँदैनन्’, बुवाको प्रश्नको जवाफ दिएँ ।

देख्दा खाइलाग्दो, पढेलेखेको, जागिर खाएको, भोलि काठमाडौंमा आफ्नै घरघडेरी जोड्न सक्ने आँट भएको… छोरीलाई राम्रोसँग पाल्न सक्ने… यस्तै थुप्रै योग्यताका चाङ बुवाले सुनाए ।

‘छोरी चाहिँ अहिले के गर्छिन् त बुवा ?,’ अर्का एकजना साथीले कुरा कोट्याए ।

‘छोरी मास्टर्स पढ्दै छे, पोहोर साल खरिदारमा नाम निकालेकी छ । अब उमेर पनि भो बिहे गर्दिने बाबु अलि राम्रो केटा भेटिए’ उनले फेरि राम्रो केटाको कुरा निकाले ।

राम्रो केटा मात्र भनिरहेका बुवाले कस्तो केटालाई राम्रो मानेका हुन्, त्यो चाहिँ बुझ्न सकिएन । जागिर, धन-सम्पत्ति भएकोलाई मात्र राम्रो भन्ने हुन् कि इमान्दार बानी व्यहोरा भएकालाई राम्रो भन्ने हो, ती बुवाको मात्रै होइन अधिकांश अभिभावकको कुरा स्पष्ट बुझ्न सकिँदैन ।

‘मैले चिनेको एकजना साथी छ बुवा, ऊ सँग छोरीको बिहे गर्दा राम्रै होला जस्तो लाग्छ,’ मैले उनलाई त्यो साथीको बारेमा पूरै बताएँ । उनको घर नजिकै डेरामा बस्छ त्यो साथी ।

बुवाले ए… ल बुझौंला भने । अर्को दिन बिहानै फोन गरे उनले, ‘ए नानी, तिमीले हिजो भनेको केटा क्याम्पस पढ्ने होइन फलानो नाम गरेको ?’

‘हो बुवा, कुरा बुझ्नुभयो त ? कस्तो लाग्यो त तपाईँलाई ?

  मेरो कुरा भुइँमा खस्न नपाउँदै बा कराउन थाले, ‘म गर्छु आग्राको कुरा, तिमी गर्छौ गाग्राको कुरो । मैले चाहिँ जागिरे, पढेलेखेको केटा भए खोज नानी भन्ने, तिमी चाहिँ केही नभएको डुकुलन्ठु केटालाई हेर बा भन्ने ? त्यो केटोले दुई वटा डिग्री गरेको छ रे, तर जागिर छैन । बेरोजगार केटालाई मैले छोरी दिएँ भने समाजले के भन्ला ? जागिरे छोरी बेरोजगारलाई दियो भनेर कत्रो बदनाम होला ? त्यो केटा जति इमानदार भए पनि मेरी छोरीको लागि हुँदैन नानी ।’

‘मान्छे धेरै इमानदार हो बुवा । पढिराखेका छन्, नाम निकालिहाल्छन नि । अहिले पनि एउटा कलेजमा बिहान पढाइराखेका छन् …,’ उनको बारेमा थाहा पाएजति कुरा बताएँ । बाले ती साथीको बारेमा धेरै जनासँग बुझेछन् ।

‘केटो झुलुक्क हेर्दा भलाद्मी देखिन्छ, सबैले यतिको केटो भए तेरी छोरीलाई रुखमुनि लगेर पनि पाल्छ भन्छन् । कलेज पढाउने भन्छ, हो कि होइन । जागिर नभाको केटालाई छोरी दिएर के गर्नु ? छोरी सरकारी जागिरेे छ , ज्वाईँको पेसा के हो ? कहाँ काम गर्छन भन्दा के जवाफ दिने ? अधिकृत नपाए पनि सुब्बासम्मको केटा त छानीछानी पाउँछे छोरीले । भैगो, बेरोजगार केटालाई छोरी नदिने !’ बाले कुरो टुंग्याएँ ।

कताकताबाट बाले बेरोजगार भनेका ती केटाले त्यो कुराको सुइँको पाएछन् । हातमा पेशा नभएकै कारण ठाउँठाउँमा बेरोजगारको बिल्ला भिराएको कुरा पनि सुनेछन् । टंगालको भाटभटेनी नजिकैको सडकमा हिडिरहेको बेलामा अचानक दुवैको भेट भो । पहिलेदेखि चिनजानमा रहेका दुवैको भलाकुसारी भयो । बाले आफूलाई होच्याएको थाहा पाएपछि उनले पनि आफूलाई सानो ठान्ने कुरा भएन ।

उनले ती बुवासँग फ्याट्ट सोधेछन्, ‘छोरीको बिहे गर्ने खुब कुरा चलेको थियो पोहोरदेखि, यस पटक त भोज खान पाइन्छ होला हैन बुवा ?’

‘खै बाबु, बिहे गर्न त आँटियो तर भनेजस्तो केटा पाइएको छैन, भने जस्तो राम्रो केटा पाए त यही मंसिरमा बिहे गर्दिने सोच छ’, यति भन्दै बाले उनलाई सोधेछन्, ‘बाबुको चाहिँ बिहे गर्ने बेला भएन र ?’

जवाफमा उनले भनेछन्, ‘म पनि राम्रा केटी पाए गर्ने सोचमा छु । जस्तातस्ता केटी आफूलाई मन नपर्ने, लगन नजुरेर पनि होला, हेरौं !’

बा एकैछिन अवाक् भए । ‘आफू बेरोजगार छ, कसरी स्वास्नी पाल्ला ? अझँ भने जस्ता राम्रा केटी पाए बिहे गर्ने भन्छ ! जागिर नभएका यस्तालाई कस्ता केटीले पत्याउलान् ?’ त्यतिबेला भित्री मनमा भने यस्तै कुरा खेले होलान् ।

बा एकचित्त भएर सोचेकेा देखेर उनले झकझकाए, ‘बा छोरीको बिहेको लागि निकै चिन्तित हुनुहुन्छ जस्तो छ नि । म त सरकारी जागिर खाएका केटी बिहे गर्दिनँ बा । साइन्समा मास्टर्स गरेको छु, समाजशास्त्रमा पनि भर्खरै मास्टर्स सकाएँ, अलि पढ्नमा ट्यालेन्ट केटी खोजेर बिहे गर्ने अनि विदेश जाने सोचमा छु । सरकारी जागिर खाएका केटी बिहे गर्‍यो भने विदेश पनि जान नपाइने नियम बनायो रे सरकारले । विदेशको पिआर त्याग्नु भन्दा सरकारी जागिर खाएका केटी त्याग्ने सोचमा छु म त ।’

उनको यो कुराले बालाई निकै पेच परेछ । मनको तीतो पोखिहाले, ‘सरकारी जागिर खाएका केटीले पत्याउनु पनि पर्‍यो नि बाबु ? सरकारी जागिर खाएकाले त्यही लाइनको केटा खोज्छन्, अरु त जिल्लाराम !’

यी बाको कुरा सुन्दा बिहेको लागि भए पनि पेशा चाहिने रहेछ भन्ने भान पर्‍यो । त्यसो भए बेरोजगार युवाले जागिर नपाएसम्म बिहेको लागि केटी नै पाउँदैनन् त ?

समाजको सोचाइ हेर्दा यो प्रश्नको जवाफ अनुत्तरित नै देखिन्छ ।

-अनलाइनखबर