9 Jestha, 2074 | 23 May, 2017 Tuesday

पराई भूमिमा नेपाली दाजुभाइ मिल्नुपर्नेमा उल्टै रिस गर्छन् । अनि कसरी बन्छ हाम्रो भविष्य ? अहिले म जेल भन्दा कठिन मरुभूमिमा बसेर केही लेख्ने प्रयास गरिरहेको छु । नेपाली दाजुभाइ नै मानवरुपी खोल ओढेर राक्षस जस्तो व्यवहार गर्छन ।

यहाँ मानिसको भिड ठूलो छ । तर म सधैं एक्लै भएको अनुभूती गर्छु । परदेश निष्ठुरी हुँदो रहेछ । कति गर्दा पनि कसैलाई खुशी बनाउन नसकिने । कारण यहाँका मानिस मानिस हुन कि जनवार, मलाई छुट्याउनै गाह्रो भएको छ । दुई वर्षको सम्झौता गरेर आएको छु, । तर मलाई त्यो समय २० वर्ष लाग्न थालिसक्यो । चर्को घाम, चर्को वचन । बहादुरी मन भएपनि हार खाइसकें ।

कामका लागि विदेश हिँडेकाहरुको हालत यस्तै होला त परदेशमा । मैले पाएको दुःखको दोष दिने कोही छैनन् दुनियाँमा । अभागी पुर्पुरोलाई दोष दिनु बाहेक के रहयो र ? एकमुठी सास रहुञ्जेल जसोतसो ज्यान घिसार्नै पर्नेछ ।

नेपालमा म्यानपावरलाई ऋण काडेर पैसा तिर्नुपर्छ, उता एयरपोर्टमा चाहिँ पैसा तिरेको छैन भन्नुपर्छ । विदेशको सपनाले तिरेको पैसा पनि भुलिन्छ । तर त्यो सपना जब मरुभूमिको तुफानले उडाएर फिक्का बनाई दिन्छ, जीवन मरुभूमिमा परिणत हुन्छ ।

गरिबले देख्ने भनेको सपना मात्र रहेछ । दिनभर मेहनत गरेर आँशुबाहेक केही किन्न नसकिने रहेछ । नेपालमा चाडवाड लागिसक्दा यहाँ केही अनुभूति हुँदैन । उठ्न नपाउँदै नुनको सोझो गर्नु हिँड्नु छ । परदेशीको कहानी सुनाएर नसकिने छ ।

त्यसैले पैसाको निम्ति हाम्रो बहादुरी शरीर कहिल्यै नबेचौं दाजुभाइ । बरु नेपालमै बसौंला । जे छ त्यै खाउँला । त्यसो गर्दा कमसेकम परिवार त खुशी हुन्छन् । जे जस्तो भएपनि नेपालमा भएकाहरुले चाडवाड रमाइलो गरी मनाउनुहोला ।

मकै पाक्यो होला आमा घरमाथिको बारीमा
केरा पाके होला आमा दैला मुनी घारिमा ।

आउने मान्छे भेट्यौ भने छिटो पठाइदेउ
अलिकति सिन्की अनि पिठो पठाइदेउ ।

भन्नेले त भन्छन होला शहरमा छ छोरो
आमाले त बुझ्छ्यौ नि कति कहरमा छ छोरो ।

पानी पनि छैन आमा बत्ती पनि छैन
ऐंचोपैंचो आफ्नोपन त कत्ति पनि छैन

आउने मान्छे भेटे मूलको पानी पठाइदेउ
तिम्ले जस्तै दुख खेप्ने बानी पठाइदेउ ।

मोहन सुनुवार/
कटारी नगरपालिका ३, उदयपुर
 हाल : साउदी अरब ।

-उज्यालोअनलाइन