तराई भेगमा पहिलोपटक गल्फ प्रतियोगिता हुने भएको छ। चौधरी ग्रुपले गोकर्ण गल्फ क्लबसँग मिलेर नवलपरासीको दुम्कौलीमा फागुन २० मा सिजी प्रेसिडेन्ट कप गल्फ गर्न लागेको छ। तराईमा हुने यो पहिलो गल्फ स्पर्धा हो। गंगादेवी चौधरी उद्योग ग्रामभित्र हुने प्रतियोगिता स्टेबलफोर्ड पद्धतिमा ३/४ ह्यान्डीक्यापका साथ १८ होलमा खेलिनेछ। 'सबै तयारी पूरा गरेपछि नवलपरासीमा प्रतियोगिता गर्न लागेका हौं। काठमाडौं बाहिर गल्फ खेललाई विस्तार गर्न अहिले हामीले सानो प्रयास थालेका हौं,' चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, 'चौधरी ग्रुपले युवा संग्लग्न खेलकुदमा पहिलेदेखि प्रायोजन गर्दै आएको र यो त्यसैमध्येको एक हो।' आयोजकले कम्तीमा ३० खेलाडीले भाग लिने आशा लिएको छ।
विजेता, उपविजेता, महिला र जुनियर विजेताबाहेक उत्कृष्ट ग्रस, लङ्गेस्ट ड्राइभ, मोस्ट बर्डिज, क्लोजेस्ट टु दी पिनलाई पुरस्कृत गरिने छ। गोकर्ण रिसोर्टका गल्फ निर्देशक दीपक आचार्यले चौधरी ग्रुपसँग वर्षमा तीन प्रतियोगिता गर्ने सम्झौताअनुरुप यो स्पर्धा भएको बताए। चौधरी ग्रुपले २०११ को सेप्टेम्बरमा एलजी गल्फ सम्पन्न गरेको थियो भने अप्रिलमा सिजी खुला गल्फ गर्ने जनाएको छ।
आचार्यले मोफसलमा हुने सबैभन्दा ठूलो प्रतियोगितामा स्थानीय खेलाडीले पनि खेल्ने आशा राखेको जनाए। चौधरी ग्रुपका प्रबन्धक बसन्त मिश्रले चितवन पर्यटकीय गन्तव्य भएकाले अब त्यसलाई नवलपरासीको गल्फसँग जोड्ने प्रतियोगिताको उद्देश्य रहेको बताए।